नेपाल क्यान ग्रुपको बाढी पिडितलाई १० लाख रुपैयाँ सहयोग, राहत सामाग्री पनि वितरण गर्ने
काठमाडौं : रसुवा, नुवाकोटलगायतका क्षेत्रमा हालै आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा पुनर्स्थापनाका लागि नेपाल क्यान ग्रुपले १० लाख रुपैयाँ सहयोग गरेको छ।
नेपाल क्यान ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख योगदान गरेको हो। बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको हो।
नगद सहयोगसँगै नेपाल क्यान ग्रुपले तत्काल आवश्यकतामा रहेका प्रभावित परिवारलाई खाद्यान्न, कपडा, औषधिलगायत अत्यावश्यक सामग्री उपलब्ध गराउने तयारीसमेत गरेको छ। आवश्यकता पहिचान गरिएका परिवारलाई ती सामग्री यसै साताको अन्त्यसम्म प्रत्यक्ष रूपमा वितरण गर्ने तयारी रहेको ग्रुपले जनाएको छ।
विपद्को समयमा समुदायको साथमा उभिनु संस्थागत सामाजिक उत्तरदायित्व (CSR) को महत्वपूर्ण हिस्सा रहेको उल्लेख गर्दै ग्रुपले राहतको आवश्यकता भएका परिवारसम्म प्रभावकारी रूपमा सहयोग पुर्याउनु आफ्नो प्राथमिकता रहेको बताएको छ।
बाढी प्रभावित क्षेत्रको अवस्था र आवश्यकताको निरन्तर मूल्याङ्कन गर्दै आगामी दिनमा समेत राहत तथा पुनर्स्थापनाका लागि थप सहयोगका सम्भावनाबारे निर्णय गरिने नेपाल क्यान ग्रुपले जनाएको छ।
ग्रुपले विपद्को यस कठिन समयमा सरकारी निकाय, संघ-संस्था, निजी क्षेत्र तथा नागरिकलाई आफ्नो क्षमता र सम्भावनाअनुसार बाढी प्रभावित परिवारको सहयोगमा जुट्न आग्रहसमेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस !