नेपाल र साउदीबीच हवाई सम्झौता, प्रत्यक्ष उडान विस्तारको बाटो खुल्यो

नेपाल र साउदीबीच हवाई सम्झौता, प्रत्यक्ष उडान विस्तारको बाटो खुल्यो

रियाद : नेपाल र साउदी अरबबीच नियमित हवाई सेवा विस्तारका लागि महत्वपूर्ण द्विपक्षीय हवाई सेवा सम्झौता सम्पन्न भएको छ। 

३१ अगस्ट २०२६ (सोमबार) मा सम्पन्न भएको यस दुई देशबीच भएको यो सम्झौताले नेपाल र साउदी अरबबीच प्रत्यक्ष हवाई सम्पर्क विस्तारसँगै पर्यटन, व्यापार, लगानी तथा नेपाली श्रमिकको आवागमनलाई थप सहज बनाउने अपेक्षा गरिएको छ।
दुवै देशका प्रतिनिधिमण्डलबीच भएको द्विपक्षीय वार्तापछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र साउदी अरबका सम्बन्धित उड्डयन अधिकारीबीच सम्झौतामा हस्ताक्षर भएको हो।

सम्झौतामा नेपालको तर्फबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव एवं प्रवक्ता जयनारायण आचार्य र साउदी प्रतिनिधिमण्डलका प्रमुख तथा एयर ट्रान्सपोर्ट एण्ड इन्टरनेशनलको अपरेसनका डेपुटी एक्जिक्युटिभ प्रेसिडेन्ट अली मोहम्मद रजाबले हस्ताक्षर गरेका छन्। यो सम्झौताले दुवै मुलुकले तोकेका वायुसेवा कम्पनीलाई अन्तर्राष्ट्रिय नागरिक उड्डयनसम्बन्धी मापदण्डअनुसार नियमित यात्रु तथा कार्गो उडान सञ्चालन गर्न कानुनी तथा संस्थागत आधार तयार गरेको छ।

साउदी अरब नेपालका लागि प्रमुख वैदेशिक रोजगार गन्तव्यमध्ये एक हो। ठूलो संख्यामा नेपाली श्रमिक कार्यरत रहेको साउदी अरबमा प्रत्यक्ष तथा नियमित हवाई सेवा विस्तार हुँदा नेपाल आउने–जाने यात्रुलाई सहज हुने अपेक्षा गरिएको छ।

साथै उडानका विकल्प र प्रतिस्पर्धा बढेसँगै हवाई टिकटको मूल्यमा प्रतिस्पर्धा, उडानको उपलब्धता तथा यात्रुको सेवामा समेत सुधार आउन सक्ने अपेक्षा गरिएको छ। यसबाट वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिक तथा उनीहरूका परिवारलाई प्रत्यक्ष लाभ पुग्ने देखिएको छ भने सम्झौताले नेपालमा साउदी पर्यटक भित्र्याउन तथा नेपाली पर्यटनलाई साउदी बजारमा प्रवर्द्धन गर्नसमेत सहयोग पुग्ने विश्वास गरिएको छ।

प्रत्यक्ष हवाई सम्पर्क विस्तार भएपछि दुई देशका व्यवसायी तथा लगानीकर्ताबीच आवागमन सहज हुने र व्यापारिक सम्बन्ध विस्तारमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ। कार्गो उडानको सम्भावना विस्तार हुँदा नेपालबाट साउदी अरब तथा साउदीबाट नेपालतर्फ हुने व्यापारिक गतिविधिलाई समेत थप सहज बनाउन सकिनेछ।

साउदी अरबका लागि नेपाली दूतावासकी कार्यवाहक राजदूत सिर्जना अधिकारीले नेपाल–साउदी हवाई सेवा सम्झौतालाई दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउने महत्वपूर्ण उपलब्धिका रूपमा लिएकी छन्।उनका अनुसार हवाई सम्पर्क विस्तारले साउदी अरबमा रहेका नेपाली श्रमिक तथा नेपाल आउने साउदी नागरिकलाई सहजता प्रदान गर्नुका साथै पर्यटन, व्यापार, लगानी र जनस्तरको सम्बन्ध विस्तारमा समेत योगदान पुर्‍याउनेछ।अधिकारीले दुई देशबीच बढ्दै गएको आर्थिक तथा जनस्तरीय सम्बन्धलाई अझ प्रभावकारी बनाउन नियमित, सहज र व्यवस्थित हवाई सम्पर्क आवश्यक रहेको बताउँदै सम्झौताबाट आगामी दिनमा थप अवसर सिर्जना हुने विश्वास व्यक्त गरेकी छन्।

यस सम्झौता पश्चात नेपाल–साउदीबीच नियमित हवाई सेवा विस्तारको आधार तयार हुने, नेपाली श्रमिक तथा यात्रुको आवागमन थप सहज हुने,हवाई सेवामा प्रतिस्पर्धा बढ्ने सम्भावना,पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने बिदुई देशबीच व्यापार तथा लगानी विस्तारमा सहजता हुने,यात्रु तथा कार्गो उडान विस्तारका लागि कानुनी आधार बन्ने, नेपाल र साउदीबीचको जनस्तरीय तथा आर्थिक सम्बन्ध थप मजबुत हुनेछ ।नेपाल र साउदी अरबबीच पछिल्लो समय श्रम, व्यापार, पर्यटन तथा जनस्तरमा बढिरहेको सम्बन्धका बीच भएको हवाई सेवा सम्झौतालाई दुई देशबीचको आर्थिक तथा कूटनीतिक सम्बन्धलाई थप गतिशील बनाउने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.