भोटेकोशी जलप्रलय पछिको पीडा : न खबर आउँछ, न त शव नै भेटिन्छ
काठमाडौं : एक सातादेखि माधव लामिछानेको हातबाट मोबाइल छुटेको छैन। रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र हराएका भाइ वासु र छोरा समिरको खबर आउने आसमा हुन्छन्। कहिले प्रहरी त कहिले प्रशासनमा फोन गर्छन्। कुनै अत्तोपत्तो नपाउँदा बेचैन हुन्छन्।
रसुवा जिल्लाको उत्तरगया–४ का लामिछानेको हरेक दिन भाइ र छोराको सोधिखोजी गर्दैमा बित्छ। भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीपछि उनका भाइ र जेठो छोरा समिर बेपत्ता छन्। आयोजनामा वासु मेसमा र समिर अपरेसनमा कार्यरत थिए। सोमबार नेपाली सेनाको टोली सुरुङभित्र प्रवेश गर्यो। ड्रोनसमेत उडाएर खोजी गरियो। तर, सुरुङभित्र मानिस भेटिएनन्।
सुरुङको ठूलो हिस्सा लेदोले पुरिएको उद्धार टोलीको भनाइ छ। लामिछाने भक्कानिन्छन्, ‘सुरुङभित्र फसेको यत्रो दिन भइसक्यो। अझै उद्धार हुन सकेन।’ बाढी आएको एक साता बितिसक्दा पनि पीडित परिवारले न त जीवितै उद्धारको खबर पाएका छन् न शव नै फेला परेको छ। रसुवागढी आयोजनाका सुरुङमा हराएका ९३ जनाका परिवार अहिले विक्षिप्त अवस्थामा छन्। पीडित परिवारका अनुसार, प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीले पछिल्लो समय फोन पनि उठाउन छोडेका छन्।
प्रधानमन्त्री कार्यालयले रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र खोजी गरेको सोमबार जानकारी गराएको छ। सुरुङभित्र कुनै पनि मानिस फेला नपरेपछि नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार टोली फर्किएको जानकारी सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको छ। ‘सुरुङको अन्तिम भागमा मानिसहरू फसेको आशंका गरिएपछि सेनाको टोली इन्जिनियर र ड्रोन टोलीसहित खोजीमा जुटेको थियो। उक्त सुरुङको भित्री भाग अर्थात् अन्तिम बिन्दुसम्मै पुगेर ड्रोनसमेत उडाइ खोजी गर्दा पनि मानवीय उपस्थिति भेटिएन,’ प्रधानमन्त्री कार्यालयले सोमबार भनेको छ, ‘सुरुङभित्र कोही पनि मानिस नरहेको पुष्टि भएसँगै खोजी कार्य सम्पन्न गरी नेपाली सेनाको टोली त्यहाँबाट रसुवाको धुन्चे फर्किएको छ।’
उद्धार टोलीमा रहेका एक सदस्यका अनुसार लेदोले सुरुङ पूरै पुरिएको पाइएको हो। कुल २५० मिटर लम्बाइको उक्त सुरुङको थप ५० मिटर पार गरेपछि मात्र विद्युत् गृहमा पुग्न सकिन्छ। बाढीपछि सुरुङभित्र रहेका ९३ जनाको अवस्था अज्ञात छ।
सरकारी उद्धार टोली रसुवाका नदी र भग्नावशेषमा बेपत्ता व्यक्तिहरू खोज्दै छ। पीडित परिवार अस्पतालका भित्तामा बेपत्ता आफन्तका फोटो टाँसेर उद्धारको अपिल गरिरहेका छन्। त्यस्तै अस्पतालको भित्तामा बेपत्ता आफन्तको फोटो टाँसेका मिलन नेपाली उद्धारको झिनो आसमा छन्। उनका काका विशाल नेपाली पनि रसुवाकै टिमुरे भन्सार क्षेत्रबाट बेपत्ता भएका छन्। सिन्धुपाल्चोक बलेफी–२ का विशालको उद्धार हुने आसमा उनका भतिजाले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जको भित्तामा खोजी तथा उद्धारका लागि भन्दै अपिल गरिएको फोटो टाँसेका छन्। ‘भोटेकोशीमा बाढी आएदेखि अहिलेसम्म कुनै सम्पर्क हुन सकेको छैन,’ नेपालीले अन्नपूर्णसँग भने, ‘टिमुरे, स्याफ्रुबेँसी वा आसपासको क्षेत्रमा खटिएका उद्धारकर्मी, प्रहरी वा स्थानीयले देखेमा खबर गर्नुहुन्छ कि भनेर अपिल गरेको हुँ।’
भोटेकोशी बाढीको उद्गम जिल्ला रसुवा अहिले शोकमा छ। भदौ १० गतेको बाढीमा सरकारले रसुवा जिल्लामा मात्रै १३ जनाको शव फेला परेको जनाएको छ। बाढीमा परेर घाइते भएका ७१९ जनाको उद्धार गरेको नेपाल प्रहरीको तथ्यांकमा उल्लेख छ।
चीनको स्वशासित क्षेत्र तिब्बतबाट नेपाल प्रवेश गर्ने भोटेकोशीको विनाशकारी बाढीले टिमुरे, गोल्जुङ, स्याफ्रु, धुन्चे, हाकु, गत्लाङ, राम्चे, डाँडागाउँ, ठूलोगाउँ, लहरेपौवा हुँदै बेत्रावतीमा जनधनको बढी क्षति गरेको छ। बाढीले यी क्षेत्रका घर मात्रै लगेको छैन, उनीहरूको ओत लाग्ने ठाउँ पनि बगाएको छ। अहिले विस्थापितहरू विद्यालयमा बनाइएको होल्डिङ सेन्टरमा आ श्रय लिइरहेका छन्।
जिल्ला जनस्वास्थ्य कार्यालय रसुवाका प्रमुख निरध्वज घर्ती मगरका अनुसार, बाढीबाट प्रभावित भएकाहरूलाई होल्डिङ सेन्टरमा राखिएको छ। ८७ जना महिला र ८२ जना पुरुषसहित १ सय ५९ जना विस्थापितलाई होल्डिङ सेन्टरमा राखिएको छ। विस्थापितहरूलाई उत्तरगया–५ स्थित शिवालय आधारभूत विद्यालय, सिम्ली आधारभूत विद्यालय र भीमसेनस्थान प्राथमिक विद्यालयमा बनाइएका होल्डिङ सेन्टरमा राखिएको छ। त्यस्तै कालिका–२ स्थित कालिका हिमालय माध्यमिक विद्यालयमा राखिएको छ।
१२ जना स्वास्थ्यकर्मी सम्पर्कविहीन
भोटेकोशी नदीमा आएको विनाशकारी जलप्रलयपछि रसुवामा कार्यरत १२ जना स्वास्थ्यकर्मी सम्पर्कमा आउन सकेका छैनन्। जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख निरध्वज घर्ती मगरका अनुसार रसुवामा भदौ १० गतेदेखि स्वास्थ्यकर्मीहरू परिवारको सम्पर्कमा पनि आएका छैनन्। बाढीका कारण जिल्लाका विभिन्न क्षेत्रमा सञ्चार सम्पर्कसमेत प्रभावित भएकाले स्वास्थ्यकर्मीको अवस्थाबारे यकिन जानकारी प्राप्त हुन नसकेको मगरले बताए।
सम्पर्कविहीन हुनेमा उत्तरगया गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक बलराम न्यौपाने र जनस्वास्थ्य अधिकृत प्रदीप न्यौपाने, रसुवागढी हेल्थ डेस्कका हेल्थ असिस्टेन्ट गोविन्द यादव र स्टाफ नर्स ललिता देवी कुमाई छन्। उत्तरगयास्थित नीलकण्ठ माध्यमिक विद्यालयकी विद्यालय नर्स ममता श्रेष्ठ र मैलुङ सामुदायिक स्वास्थ्य एकाइकी अहेव दिनिशा शाहीसमेत सम्पर्कमा नआएको जनस्वास्थ्य कार्यालयले जनाएको छ।
त्यस्तै स्याफ्रुबेँसी स्वास्थ्य चौकीका हेल्थ असिस्टेन्ट खम्बु बोहोरा, गोसाइँकुण्ड गाउँपालिकाकी मनोसामाजिक परामर्शकर्ता कोपिला केसी, दाहालफेदी सामुदायिक स्वास्थ्य एकाइका विजयकुमार घले, टिमुरे स्वास्थ्यचौकीका सुस्मिता पाण्डे, कर्मा हिसि घले र सरिता मल्ल पनि सम्पर्कविहीन छन्। सम्पर्कविहीनमध्ये केही स्वास्थ्यकर्मी परिवार र बालबालिकासहित छन्। कार्यालयका अनुसार मनोसामाजिक परामर्शकर्ता कोपिला केसी ७ महिनाको बच्चासहित सम्पर्कविहीन छिन्।
सुस्मिता पाण्डे दुई वर्षको बच्चासहित, सरिता मल्ल तीन वर्षको बच्चासहित र ललिता देवी कुमाई ८ महिनाको बच्चासहित सम्पर्कविहीन छन्। सम्पर्कविहीन स्वास्थ्यकर्मीहरूको खोजी तथा उद्धारका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको जनस्वास्थ्य कार्यालय प्रमुख मगरले बताए।
प्रतिक्रिया दिनुहोस !