सुनसान लाङटाङमा भोक र रोगको त्रास

सुनसान लाङटाङमा भोक र रोगको त्रास

नुवाकोट : लाङटाङका बासिन्दाले जिल्ला सदरमुकाम पुग्नुभन्दा काठमाडौं पुग्नु सहज मान्छन्। स्याफ्रुबेँसीबाट दुई–तीन दिनको पैदल यात्रा गरेर पुगिने यो बस्तीका बासिन्दाको एकमात्र यातायात भनेकै हेलिकप्टर हो।

गोसाइँकुण्ड गाउँपालिका–४ मा अवस्थित लाङटाङमा १ सय १६ घरधुरी छन् भने जम्मा ५ सय जनसंख्या रहेको छ। नेपालको एक प्रमुख पर्यटकीय गन्तव्यका रूपमा चिनिएको लाङटाङमा यतिबेला पर्यटकका लागि बस्ने होटल नपाएर हैरान हुनुपथ्र्यो भने पर्यटन र होटल व्यवसायलाई मुख्य पेसा बनाएका यहाँका बासिन्दालाई यो समय पाहुनाको स्वागत गर्न भ्याइनभ्याइ हुनुपर्ने हो। तर, अहिले लाङटाङ सुनसान छ, शोकमा डुबेको छ।

गत भदौ १० गते भोटेकोशीमा आएको महाविनाशकारी बाढीले स्याफ्रुबेँसीदेखि लाङटाङ पुग्ने पदमार्गमा रहेका अधिकांश होटल, लजलगायत बस्ती सखाप पारिदियो। पैदलमार्गको नामोनिसान राखेन। ती बस्तीहरूमा लाङटाङवासीका नाता–सम्बन्धका मानिसहरू ठूलो संख्यामा थिए। बाढीमा को पर्‍यो र को जीवित छ, थाहा पाउनका लागि उनीहरूले अहिले काठमाडौंमा रहेका आफन्तलाई फोन गर्नुपर्ने बाध्यता छ।

स्थानीय देजेन डोल्मा भन्छिन्, ‘लाङटाङदेखि स्याफ्रुबेँसीसम्म पैदलमार्गमा पर्ने बस्तीमा यहाँका मानिसको केही न केही नाता–सम्बन्ध छ। बाढीले सबै होटल, लज बगायो भन्छन्। हामीले गएर बुझ्नका लागि बाटो छैन। को के भयो भनेर बुझ्न यहाँबाट भन्दा काठमाडौंबाट सजिलो छ। काठमाडौंमा रहेका आफन्तहरू अहिले विदुर, नुवाकोटमा आइरहनुभएको छ र बुझिरहनुभएको छ। हामीले धेरै आफन्त गुमायौं जस्तो छ।’ डोल्मा थप्छिन्, ‘हिँडेर जान बाटो छैन। अहिले हामीले हेलीको कल्पना गर्न सक्दैनौं। बाढीबाट निधन भएका आफन्तको अन्तिम घेवा (किरिया) गर्न पनि पाएनौं।’

वडा अध्यक्ष डिन्डु लामा जाङवा तामाङका अनुसार सरकारले लाङटाङमा फसेका देशी–विदेशी पर्यटकको लगभग उद्धार गरिसकेको छ।  बाढीको प्रत्यक्ष प्रभाव नपरे पनि यो क्षेत्रका समस्या र पीडा बाढीपीडितका बस्तीको भन्दा कम छैन। यहाँ खाद्यान्न र औषधिको अभाव सुरु हुन थालेको छ। अध्यक्ष तामाङले भने, ‘स्थानीयमा रुघाखोकी, जोरो देखिन थालेको छ। प्राथमिक उपचारको औषधि पनि हामीसँग एक सातालाई पुग्ने छैन। खाद्यान्न अब एक सातालाई मात्र पुग्छ। यो ठाउँमा सामान किन्छुभन्दा पाइँदैन।’

दैनिक उपभोग्य वस्तु ल्याउने समयमा वर्षा भएका कारण लाङटाङमा यसपटक खाद्यान्नलगायत सामग्री पुर्‍याउन सकिएको थिएन। अहिले त्यहाँ रहेको प्रहरी चौकीमा एक सातापछि खाद्यान्न अभाव हुने देखिएको उनले बताए। यसै कुरालाई ध्यान दिँदै अध्यक्ष लामाले गोसाइँकुण्ड गाउँपालिकालाई खाद्यान्नको मागपत्र पनि बुझाएका छन्। उनले ४ सय बोरा चामल, १ सय २० बोरा चिनी र सय बोरा दाललगायत खाद्य सामग्रीको माग गरेका छन्।

‘लाङटाङ अहिले बन्दीको अवस्थामा छ। यातायातका रूपमा रहेको हेली सेवा छैन। पैदल हिँड्ने परिस्थिति पनि छैन। सरकारले समयमै लाङटाङको यो अवस्थाका बारेमा गम्भीर भएर सोचेन भने यहाँ ठूलो समस्या निम्तिन सक्छ,’ अध्यक्ष लामाले भने।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.