आफन्तको सास र लास कुरेर भौंतारिँदै बाढीपीडित
ढुंगेबजार (नुवाकोट) : नेपालको भूगोललाई छिन्नभिन्न पार्ने गरी भदौ १० गते आएको विनाशकारी बाढीले हजारौंको खुसी मात्र बगाएको छैन, कैयौं परिवारलाई लास र सासको दोसाँधमा ल्याएर पछारिदिएको छ। बाढीले सडक सञ्जाल क्षतविक्षत पारेपछि उद्धार र राहतका ठूला सरकारी दाबीहरू केवल आश्वासनमा सीमित बनेका छन्।
सम्पर्कविहीन भएका आफ्ना प्रियजन जिउँदै होलान् कि ढलेका होलान् ? यही एउटा प्रश्नको उत्तर खोज्न ६ दिनदेखि नुवाकोटको मैथली ब्यारेकको ढोकामा उभिएका पीडितका आँखा टोलाइरहेका छन्। आकाशमा हेलिकप्टरको आवाज सुन्नासाथ झस्किएर दौडिने ती अश्रुपुरित आँखाहरू, आफ्ना आफन्त नदेख्दा फेरि निराशाको भुइँमा थुचुक्क खस्छन्।
आफन्त गुमाउनुको असिम पीडा, भोक र रोगको त्रास, अनि अगाडि जाने बाटो नहुँदाको बेबसी– यतिबेला नुवाकोट र रसुवाका बाढीपीडितहरू आफ्नै माटोमा अनाथ झैं बनेर विक्षिप्त रूपमा भौंतारिन बाध्य छन्।
सरकार पीडितको उद्धार र राहतमा व्यस्त छ, तर पीडितहरूले न आफन्त पाएका छन्, न राज्यले उनीहरूको विषयमा कुनै खबर नै दिन सकेको छ। नुवाकोटको सैन्य तालिम केन्द्र मैथली ब्यारेकको ढोकामा आफन्तको लास वा सास कुरेर बस्नेहरूको आफ्नै व्यथा छ।
‘६ दिन भयो यहाँ आएको। १० गते बिहान घटना भयो, हामी बेलुका नै यहाँ आएका हौं। तर, अहिलेसम्म कुनै खबर छैन। कति यहाँ बस्ने ? आफैं बिरामी पर्न थालिसक्यौं,’ भाइ चित्रबहादुर बुढाथोकीको खोजीमा आएका कुमार बुढाथोकी गुनासो गर्दै भन्छन्, ‘खोज्न अगाडि जान पनि सकिँदैन।’
काठमाडौंबाट छोरा खोज्दै सुरेन्द्र बेलबासे नुवाकोट आएका छन्। उनका छोरा त्रिशूली ३ ‘बी’ हबमा कार्यरत २५ वर्षीय सिभिल इन्जिनियर सुवास बेलबासे बेपत्ता छन्। छोरो खोज्दै बाबु सुरेन्द्र बेपत्ता भएको ठाउँमा जान चाहन्छन्, तर भदौ १० गते भोटेकोशीमा आएको बाढीले बाटो ध्वस्त बनाइदिएकाले त्यहाँ पुग्न सक्ने अवस्था छैन।
६–६ दिनसम्म कुनै खबर नआएपछि छोरो पाइने आस उनले मारिसकेका छन्। उनी भन्छन्, ‘जिउँदो त अब के होला र, लाससम्म पाए पनि हुन्थ्यो भन्ने हो। बरु छिटो बाटो बनाइदिए हुन्थ्यो, लास भए पनि त परिवारले पाउँथे। ५–५ दिनसम्म पनि ५० मिटर बाटो बनाइएको छैन।’
दोलखाका ७४ वर्षीय वृद्ध डिल्लीबहादुर तामाङ नाति खोज्दै ढुंगेबजार आइपुगेका छन्। उनका नाति जगतबहादुर पाख्रिन भोटेकोशीको बाढीमा हराएका छन्। जगतले मानसरोवरका लागि ६ वटा गाडीमा ९० जना आन्तरिक तथा बाह्य पर्यटक लिएर गएका थिए। रसुवाको टिमुरेभन्दा माथि पुगेपछि आएको बाढीमा उनीहरू परेका हुन्। ‘सरकारले कोसिस त गरिरहेछु भन्छ, तर खै के हुँदै छ, हामीले केही थाहा पाउन सकेका छैनौं,’ डिल्लीबहादुर भन्छन्, ‘खोज्न हिँडेका हामी त यहीं अलपत्र परेका छौं। बाटो भए त अहिले घटना भएको स्थानसम्म पुग्थ्यौं नि !’ जगतसँगै गएका दोलखाका ५ जनामध्ये एक जना मात्रै हामफालेर बाँचेको खबर आएको उनले बताए।
डिल्लीबहादुरसँगै आएका जगतका काका निसान तामाङ भन्छन्, ‘भतिजो अब भेटिएला जस्तो त छैन, तर मनको शान्तिका लागि भए पनि घटना भएको ठाउँमा पुग्न पाए हुन्थ्यो भन्ने हो।’ सीजी कम्पनीमा काम गर्ने युवा ६ दिनदेखि अत्तोपत्तो नरहेको आफन्तहरू बताउँछन्। उनीहरूको एउटै बिलौना छ– जीवित छन् कि छैनन्, जानकारी पाउनुपर्यो।
दिदी खोज्दै आएका महेन्द्र तामाङ भौंतारिइरहेका छन्। टिकटकमा जंगलमा भागेको भिडियो देखिएको बताउँदै उनी भन्छन्, ‘दिदीको भाग्दै गरेको टिकटक त पाइयो, तर त्यसपछि उहाँ कहाँ हुनुहुन्छ भन्ने कतै थाहा भएन।’ ८० वर्षका भोजराज सिलवाल पनि नाति हरि सिलवाल खोज्न ढुंगेबजार आइपुगेका छन्। बाढीप्रभावितका परिवारहरू भौंतारिइरहेका छन्। आफन्त खोज्न आएका धेरै जना बोल्न पनि चाहँदैनन्।
आफन्त खोज्न आएकाको पाइला ढुंगेबजारसम्म मात्रै
नुवाकोटको ढुंगेबजारभन्दा माथिल्लो क्षेत्रको सम्पर्क विच्छेद नै छ। त्यहाँबाट अगाडि जान सक्ने अवस्था छैन। ढुंगेबजार नै क्षतविक्षत छ। नुवाकोटको विदुर नगरपालिका–१ मा रहेको यो बजार त्रिशूलीको तटीय क्षेत्रमा छ, जुन गल्छी–रसुवागढी सडक खण्डमा पर्छ। यो बजारबाट अगाडि उत्तर सीमा चीन जाने बाटो हो।
ढुंगेबजारबाट अगाडि तुइनबाट जोड्ने प्रयास भइरहेको स्थानीय प्रशासनले जनाएको छ। ढुंगेबजारबाट त्रिशूली बजार आउँछ, ती दुवै विदुरको १ नम्बर वडामा नै पर्छन्। त्यो बजारको अवस्था दर्दनाक छ। अझ त्योभन्दा नुवाकोट र रसुवाको सिमानामा रहेको बेत्रावती बजार भयावह छ। ढुंगेबजारसम्म राज्य र दाताहरूको पहुँच छ, त्यहाँभन्दा उता हेलिकप्टरको विकल्प छैन। सरकारले ढुंगेबजारभन्दा उताको क्षेत्रमा हेलिकप्टरबाट उद्धार र राहतको काम गरिरहेको छ। अहिले नुवाकोटको ढुंगेबजारसम्म भने बाढी हेर्नेहरूको भीड नै छ।
तहसनहस ढुंगेबजार
त्रिदेशी मार्गका रूपमा चिनिने ढुंगेबजार तहसनहस छ। झन्डै २ सय घर रहेको यो बजार अहिले खण्डहर बनेको छ। यो बजारबाट ९ जना हराइरहेका छन्।
एकै घरमा श्रीमान्– श्रीमती तथा आमा–छोरा बेपत्ता छन्। पीडित नवराज उप्रेती तीनतले घर नै बगाएको बताउँछन्। उनी आफूसहित परिवारका सदस्य दुई सेकेन्डले मात्र बचेको बताउँछन्। ‘दुई सेकेन्डले ३ बच्चासहित हामी ६ जनाको परिवार त बाँच्यौं, तर घर कुचाले बढारेर लगेजस्तै गरी लग्यो।’
अर्की पीडित शान्ता डंगोलको घर पनि बगेको छ। अस्थिपञ्जरबाट केही सामान झिक्दा पनि उनको मन शीतल भएको महसुस भएको छ। ‘घर त लगिहाल्यो, घरको अस्तिपञ्जरबाट भए पनि सामान निकाल्दा मन शीतल भएको छ,’ उनले पीडा पोखिन्।
ढुंगेबजारकै व्यवसायी अशोककुमार कलवार बाढीले सर्वनाश गरेको बताउँछन्। वडा सदस्य रामगोपाल श्रेष्ठ बाढीका कारण घरबारविहीन भएका छन्। ढुंगेबजारका सरकारी कार्यालयहरू ध्वस्त नै छन्। कृषि विकास कार्यालय, कृषि विकास बैंक, राष्ट्रिय कृषि आधुनिक परियोजना, पुरानो जिल्ला विकास समितिको कार्यालय, पशु सेवा कार्यालय, बागवानी विकास कार्यालयका साथै विदुर–१ को वडा कार्यालय क्षतिग्रस्त भएका छन्।
करिब आधा होटल रहेको यो बजार अहिले खण्डहर छ। होटलमा बास बस्न आएका आन्तरिक तथा बाह्य पर्यटकहरू पनि प्रभावित भएका छन्। मानसरोवर जाने बाटो यही भएका कारणले पनि यो बजार चहलपहल भइरहने बजार भएको स्थानीयहरू बताउँछन्।
ढुंगेबजारका साथै विदुर–१ को अर्को बजार त्रिशूली बजार पनि बाढीले तहसनहस बनाएको नेपाल रेडक्रस सोसाइटी नुवाकोटका मन्त्री उद्धव शर्मा रिजाल बताउँछन्। उनका अनुसार विदुर–७ को टुप्चेमा ६५ जनाभन्दा बढी हराइरहेका छन्। उनी टुप्चे बजार अत्यन्तै प्रभावित भएको बताउँछन्। ढुंगेबजारबाट १५–१६ मिनेटमा पुगिने त्यो बजारमा अहिले गाडीमा ८ घण्टा लाग्ने स्थिति छ, जसका कारण त्यहाँ उद्धार र राहतको काम हुन सकिरहेको छैन।
त्यस्तै, विदुर–९ को आँगापुटारको माछापोखरी पूरै बाढीले बगाएको छ। विदुरकै ८ नम्बर वडामा पर्ने माझीगाउँ र वडा नम्बर १२ को गौरीबेँसी सामान्य प्रभावित छ। वडा नम्बर ६ मान्द्रेढुंगा, किरानापार्टी र बुनीबेँसीमा तहसनहस नै छ। त्यस्तै, वडा नम्बर ५ देवीघाट, वडा नम्बर ३ सिरखाली, मेडिटार, खुमलटारदेखि बुद्धसिंह घाटसम्म नै बाढीले क्षति पुर्याएको छ। वडा नम्बर ४ को सिमचौरका ६० घर प्रभावित भएका छन्।
- भदौ १० को विनाशकारी बाढीपछि आफन्तको ‘लास वा सास’को खबर पाउने आशामा ६ दिनदेखि नुवाकोटको मैथली ब्यारेक र ढुंगेबजारमा विक्षिप्त बनी भौंतारिँदै बाढीपीडित परिवार।
- गल्छी–रसुवागढी सडकखण्ड क्षतविक्षत भई ढुंगेबजारभन्दा माथिल्लो क्षेत्रको सम्पर्क विच्छेद, सडक पहुँच नहुँदा उद्धार र राहत सामग्री प्रभावित क्षेत्रसम्म पुर्याउन कठिन।
- २ सय घर रहेको ढुंगेबजार र आसपासका सरकारी कार्यालय तथा त्रिशूली–टुप्चे क्षेत्र बाढीले ध्वस्त; कैयौं स्थानीय तथा मानसरोवर जाने पर्यटकहरू बेपत्ता।
त्यस्तै, नुवाकोटको तारकेश्वर वडा नम्बर २ र ४ पनि प्रभावित छन्। बेलकोटगढीका वडा नम्बर ५, ७ र ८ लाई पनि बाढीले प्रभावित गरेको छ। विदुर नगरपालिका–१० को बेत्रावती, भैंसे र आंगिटार क्षतविक्षत नै रहेको रेडक्रसका मन्त्री रिजाल बताउँछन्। उनले सडकको पहुँच भएका स्थानमा राहतका काम तीव्र रूपमा भइरहेको जानकारी दिए। रेडक्रस घटनालगत्तैदेखि खटिरहेको र राहत सामग्रीको कुनै अभाव नरहेको पनि उनले बताए। ‘राहत त प्रशस्तै छ, तर सडक नहुँदा कसरी सामान पुर्याउने भन्ने विषयमा सबै गम्भीर छन्। मंगलवारसम्म तुइन सञ्चालनमा आए राहत पुर्याउन केही सजिलो होला,’ उनले भने।
धेरै बालबालिका बेसहारा
धेरै बालबालिका बाबुआमा गुमाएर बेसहारा भएका छन्। क्रियापुत्री होल्डिङ सेन्टर व्यवस्थापन गरिरहेका सुनील श्रेष्ठका अनुसार त्यो होल्डिङ सेन्टरमा मात्रै ९ जना बालबालिकाका बाबुआमा दुवै हराएका छन्। रसुवाको उत्तरगया र खाल्टेका अनाथ भेटिएका बालबालिका पनि त्यहाँ छन्। यो होल्डिङ सेन्टरमा ४५ जना बालबालिका मात्रै छन्।
७ देखि १४ वर्षसम्मका ती बालबालिका बाबुआमा नै हराएपछि विक्षिप्तजस्तै छन्। ७, ९, १२, १३ र १४ वर्षका बाबुआमा हराएका परिवारका बालबालिका उद्धार गरेर यहाँ राखिएको उनले बताए। श्रेष्ठका अनुसार विदुर–१० का सन्तोष डंगोल, जसले परिवारका ४ सदस्य गुमाए, उनी पनि त्यही होल्डिङ सेन्टरमा छन्।
नुवाकोटमा १६ वटा होल्डिङ सेन्टर छन्। प्रत्येकमा २ सयदेखि ६ सयसम्म पीडितहरू छन्। जिल्ला खेलकुद विकास समितिको होल्डिङ सेन्टरमा ६ सय जना छन्। प्रत्येकजसो होल्डिङ सेन्टरमा त्यस्ता बालबालिका छन्। कतिपय होल्डिङ सेन्टर अव्यवस्थित छन् भने कतिपय राम्रोसँग चलाइएका छन्। खाना, खाजा, पानी, सुत्ने व्यवस्था र उपचारको प्रबन्धसमेत रहेको श्रेष्ठ बताउँछन्। नुवाकोटका होल्डिङ सेन्टरमा रसुवाका पीडित पनि छन्।
रसुवा त कर्णालीभन्दा विकट
बाढीका कारण रसुवा कर्णालीभन्दा पनि विकट भएको छ। रसुवाका प्रभावित क्षेत्रमा पहुँच नै छैन। रेडक्रस नुवाकोटका मन्त्री रिजाल पनि नुवाकोटकै बेत्रावती, त्रिशूली बजार र टुप्चेमा सम्पर्क गर्न जटिल रहेको बताउँछन्। ‘नुवाकोटमा त्रिशूलीवारि त प्रशस्त राहत र सहयोग पुगेको छ, तर पारि सामान पुर्याउनै गाह्रो छ,’ उनी भन्छन्।
उनका अनुसार नुवाकोटको विदुर–१० र रसुवाको उत्तरगया–५ को बेत्रावती कोल्याप्स नै भएको छ। त्यहाँ राज्य, दाता वा अरू कसैको पहुँच पुग्न सकेको छैन। उत्तरगयाकै कैदलेटार, खाल्टे, पैरीबेँसी, स्याफ्रुबेँसी, टिमुरे र रसुवागढी अझै गम्भीर प्रभावित छन्।
प्रतिक्रिया दिनुहोस !