अस्तित्वको अन्तिम अग्निपरीक्षा
नेपाली कांग्रेस केवल दुईबाट एउटामा फर्किएको हुनेछैन, बरु नवीन समझदारीका आधारमा ‘तेस्रो पुनर्जन्म’ भएको मानिनेछ।
नेपाली कांग्रेस यतिबेला आफ्नो इतिहासकै सबैभन्दा गम्भीर र दूरगामी प्रभाव पार्ने राजनीतिक संकटको मोडमा उभिएको छ। बितेका केही दशकहरूमा कांग्रेसले धेरै राजनीतिक उतारचढाव, आन्तरिक विभाजन र पुनर्मिलनका शृंखलाहरू बेहोरेको छ। तर, वर्तमान संकट विगतका विभाजनभन्दा भिन्न र जटिल छ। आज कांग्रेसभित्र केवल दुईवटा गुट वा दुई नेताबीच सत्ता र पदको सादा लडाइँमात्र चलिरहेको छैन, यो त एउटा सिंगो युगबाट अर्को नयाँ युगमा प्रवेश गर्न खोजिरहेको पार्टीको संक्रमणकालीन महासंकट हो।
कांग्रेसलाई सूक्ष्म ढंगले नियाल्ने हो भने पार्टीभित्र दुईवटा फरक कांग्रेस देखिन थालेका छन्: –
पहिलो कांग्रेस: आफ्नो लामो इतिहास, जेलनेलको अनुभव, परम्परागत राजनीतिक शक्ति र संगठनात्मक विरासतमा दृढतापूर्वक उभिएको पुरानो पक्ष।
दोस्रो कांग्रेस: पुस्तान्तरण, समयसापेक्ष रूपान्तरण, विचारको ताजगी र नयाँ राजनीतिक संस्कारको तीव्र आकांक्षामा उभिएको नयाँ पक्ष।
यी दुई धारबीचको टकरावले पार्टीलाई गतिहीन र अनिर्णयको बन्दी बनाएको छ। नेताहरू एकापसमा आरोप–प्रत्यारोपमा अल्झिएका छन् भने कार्यकर्तामा चरम निराशा र अन्योल छाएको छ। यस्तो संवेदनशील घडीमा यदि समस्याको गहिराइलाई नबुझी सानातिना प्राविधिक वा टालटुले सम्झौता गरियो भने त्यसले संकट समाधान होइन, पार्टीलाई विघटनको बाटोतर्फ धकेल्ने निश्चित छ।
अदालतको निर्णय प्रक्रिया, बन्दोबस्त र प्राविधिक एकताको सीमा: वर्तमान संकट गहिरिँदै जाँदा पार्टीभित्रका विभिन्न पक्ष वैधानिकताको खोजीमा अदालत वा निर्वाचन आयोग जस्ता प्राविधिक र कानुनी निकायहरूको ढोका ढक्ढक्याउने अवस्थामा पुगेका देखिन्छन्। तर समसामयिक राजनीतिलाई नजिकबाट बुझेका हरेक कांग्रेसजनले यो सत्य स्वीकार गर्नैपर्छ– अदालतको कानुनी निर्णय प्रक्रिया र बन्दोबस्तले पार्टीको प्राविधिक वैधानिकता त तय गर्न सक्छ, तर राजनीतिक जीवन र संगठनात्मक जीवन्तता प्रदान गर्न सक्दैन। अदालतले जुटाउने वा फुटाउने कांग्रेस मुलुकको आवश्यकता होइन।
कानुनी फैसलाले कुनै एउटा पक्षलाई अधिकार देला वा संस्थापन पक्षको छाप लगाइदेला, तर त्यसले लाखौं कार्यकर्ताको विभाजित भावना, अविश्वास र सैद्धान्तिक मतभेदलाई जोड्न सक्दैन। अदालतको आदेशबाट हासिल हुने जित प्राविधिक हुन्छ, जसले अर्को पक्षमा स्थायी असन्तोष र प्रतिशोधको भावना मात्र जन्माउँछ।
पार्टीभित्र हाल देखिने सबैभन्दा ठूलो कमजोरी नै यही हो कि नेतृत्व तह पद बाँडफाँट र ‘तिमी वैधानिक होइनौ’ भन्ने प्रतिस्पर्धामै शक्ति खर्च गरिरहेको छ। देउवा पक्षले गगन पक्षलाई अस्तित्वहीन वा अनुशासनहीन बनाउन खोज्ने र गगन पक्षले देउवा पक्षलाई इतिहासको काम नलाग्ने अवशेषमात्र ठान्ने हो भने कानुनी कागजातमा एकता देखिए पनि व्यवहारमा कांग्रेस कहिल्यै एक हुन सक्दैन। अदालतले पार्टीको विधान र कानुनी धारा हेर्छ, तर पार्टीलाई गति दिन राजनीतिक सहमति र नवीन समझदारी नै चाहिन्छ। त्यसैले, कानुनी बन्दोबस्तको सहारा लिएर प्राविधिक रूपमा एक ठाउँमा उभिनुभन्दा आन्तरिक लोकतन्त्र र राजनीतिक संक्रमणको सहमतिबाट नयाँ कांग्रेस निर्माण गर्नु नै आजको मुख्य अभिप्राय हुनुपर्छ।
राजनीतिक संक्रमण सम्झौताको अवधारणा: कांग्रेसलाई यतिबेला केही पद बाँडेर, एकाध नेतालाई पार्टीको उपल्लो स्तरको नेता बनाएर वा एउटै मञ्चमा हात समातेर खिचिएको सामूहिक तस्बिररूपी कृत्रिम समझदारीले किमार्थ बचाउन सक्दैन। कांग्रेसलाई सम्झौता होइन, शक्ति र संरचनाको व्यवस्थापकीय डिजाइन चाहिएको छ। यस्तो राजनीतिक आवश्यकतालाई ध्यानमा राख्दै ‘राजनीतिक संक्रमण सम्झौता’को अवधारणा अघि सार्नु वाञ्छनीय देखिन्छ। यो सम्झौता व्यक्ति–व्यक्तिबीचको गोप्य लेनदेन वा शक्ति साटासाट होइन। यो त पुरानो र नयाँ कांग्रेसबीचको दीर्घकालीन संस्थागत सम्झौता हुनेछ। यस सम्झौताको सर्वोच्च सिद्धान्त हुनेछ– इतिहासको सम्मान गर, भविष्यको बाटो नछेक।
माथिको भाष्यको व्यावहारिक अर्थ हो– पुरानो पुस्ताले गरेको ऐतिहासिक योगदान, संघर्ष र संगठनात्मक जगलाई पूर्ण सम्मान गर्दै अपमानपूर्वक विस्थापित नगर्ने। तर, साथसाथै विगतको त्यही योगदानलाई आधार बनाएर भविष्यको नेतृत्व र विचारमाथि स्थायी नियन्त्रण वा एकाधिकार जमाउने अधिकार पनि कसैलाई नदिने। यही एउटा विचारले कांग्रेसभित्र वर्षौंदेखि गुजुल्टिएको मनोवैज्ञानिक गाँठो खोल्न सक्छ। राजनीतिमा पुस्तान्तरणलाई प्रायः एउटा पुस्ताको अन्त्य र अर्को पुस्ताको सुरुवातका रूपमा बुझ्ने गम्भीर भूल गरिन्छ। तर, राजनीतिक दल परिवारजस्तो सरल संस्था होइन।
पुरानो पुस्ताले निर्माण गरेको संगठन, मतदाता सम्बन्ध, राजनीतिक स्मृति र संस्थागत अनुभवलाई नयाँ पुस्ताले शून्यबाट रातारात बनाउन सक्दैन। अर्कातर्फ, नयाँ पुस्ताको ऊर्जा, बदलिएको जनचेतना र नयाँ समाजसँगको जीवन्त संवादलाई पुरानो पुस्ताले आफ्नो इच्छाले सदाका लागि रोक्न पनि सक्दैन। यी दुवै पक्षको सन्तुलित र सम्मानजनक मिलन नै कांग्रेस जीवन्त रहने व्यावहारिक सिद्धान्त हो।
कांग्रेसलाई पुरानो कांग्रेस र नयाँ कांग्रेसमध्ये एउटा छनोट गर्नुपर्ने बाध्यता नहोस्। बरु पुरानो कांग्रेसको अनुभव र स्मृति, वर्तमान कांग्रेसको संगठनात्मक शक्ति र नयाँ कांग्रेसको नवीन सपना एउटै साझा राजनीतिक घरभित्र अटाउन सकून्।
प्रमुख पात्रहरूको भूमिका र अग्निपरीक्षा: यस संक्रमणकालीन सम्झौतालाई सफल बनाउन पार्टीका विभिन्न ध्रुवमा रहेका प्रमुख पात्रहरूले आफ्नो परम्परागत सोच र राजनीतिक मनोविज्ञानमा व्यापक परिवर्तन ल्याउनु आवश्यक छ: –
देउवाको भूमिका: शेरबहादुर देउवा नेपाली कांग्रेसको एउटा लामो राजनीतिक कालखण्डका प्रतिनिधि हुन्। उनको भूमिका र योगदानको मूल्यांकन इतिहासले गर्ने नै छ। तर, कुनै पनि योगदानले नेतालाई सधैं वर्तमानको कार्यकारी केन्द्रमै रहिरहने असीमित अधिकार प्रदान गर्दैन। देउवाको राजनीतिक मनोविज्ञानलाई बुझ्न जरुरी छ। यदि पुरानो नेतृत्वलाई ‘तपाईंको समय सकियो, अवकाश लिनुस्’ भनियो भने त्यहाँबाट स्वतः कडा प्रतिरोध जन्मिन्छ। देउवालाई सम्मानजनक प्रस्ताव राख्दै ‘तपाईंको पुस्ताले कांग्रेसलाई यहाँसम्म ल्यायो, अब तपाईंको भूमिका नयाँ पुस्तालाई सुरक्षित र वैधानिक रूपमा शक्ति हस्तान्तरण गर्नु हो’ भनियो भने, देउवा अवरोधकबाट रूपान्तरण भई संक्रमणका ‘वास्तुकार’ बन्न पनि सक्छन्। देउवालाई हटाउने होइन, देउवा युगलाई संस्थागत र सम्मानजनक रूपमा बिदा गर्ने वातावरण बनाउनु नै कांग्रेसको राजनीतिक सुझबुझ ठहर्छ।
थापाको अग्निपरीक्षा (प्रतिशोध होइन, संस्थागत सहकार्य): संक्रमणको सम्पूर्ण भार देउवा वा पुरानो पुस्तामाथि थोपरेर गगन पक्ष उम्कन मिल्दैन। गगन थापा र नयाँ पुस्ताका लागि पनि शक्ति हस्तान्तरणको अर्थ ‘पूर्ण विजय’ वा ‘विपक्षको पूर्ण सफाइ’ हुनु हुँदैन। यदि नयाँ नेतृत्वले पुरानो शक्तिलाई पराजित शत्रु ठान्ने र प्रतिशोधको राजनीति गर्ने हो भने पार्टी एकता होइन, थप भयावह विभाजनतर्फ धकेलिनेछ। गगनको नेतृत्वको वास्तविक परीक्षा केवल सभापति बन्नु वा लोकप्रिय भाषण गर्नुमात्र होइन। पुरानो कांग्रेसलाई अपमान नगरिकन, उनीहरूको अनुभवलाई समेटेर नयाँ राजनीतिक संस्कारयुक्त कांग्रेस बनाउनु उनीहरूको दायित्व हो। नयाँ नेतृत्वले ‘गगनको कांग्रेस’ होइन, ‘गगनपछि पनि संस्थागत रूपमा टिकिरहने नवीन कांग्रेस’ निर्माण गर्न सक्नुपर्छ।
कोइराला र अन्य नेता (तेस्रो ध्रुव होइन, मध्यस्थताको पुल): पार्टीभित्र रहेका डा. शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि वा कृष्णप्रसाद सिटौलाजस्ता नेताहरूलाई केवल ‘तेस्रो गुट’ वा छुट्टै शक्तिकेन्द्रका रूपमा हेर्नुभन्दा ‘संक्रमणकालीन मध्यस्थकर्ता’का रूपमा अघि सारिनु पर्छ। विशेषगरी कोइरालाका लागि प्रश्न प्रस्ट छ— तेस्रो कांग्रेस बनाएर गुटबन्दी थप्ने कि दुईवटा विपरीत धार (देउवा पक्ष र गगन पक्ष) बीचको अविश्वास घटाएर संवादको बलियो पुल बन्ने ? इतिहासले सधैं चुनाव जित्नेलाई मात्र होइन, विभाजित शक्तिहरूलाई सम्झौताको टेबलमा ल्याएर संस्था बचाउने पात्रलाई पनि उच्च स्थान दिन्छ।
एकताको नवीन संरचना– ‘तीनकोठे कांग्रेस’को अवधारणा: कांग्रेसलाई एक बनाउने र समसामयिक राजनीतिमा सान्दर्भिक राखिरहने हो भने सबैलाई एउटै कोठामा कोचिने वा गुटबन्दीमा अल्झिने परम्परागत ढाँचा बदलेर संस्थागत रूपमा ‘तीनकोठे कांग्रेस’को अवधारणा लागू गर्नुपर्छ। प्रस्तावित ‘तीनकोठे कांग्रेस’ को सांगठनिक ढाँचालाई केवल तालिकामा सीमित नराखी तीनवटा फरक तर अन्तरसम्बन्धित तहहरूमा बाँडेर सञ्चालन गर्न सकिन्छ:
पहिलो कोठा (वरिष्ठ परिषद्): पार्टीको ऐतिहासिक अनुभव र पाका नेताहरूको सम्मानका लागि ‘वरिष्ठ परिषद्’को व्यवस्था गरिनेछ। यसमा पूर्वसभापतिहरू, वरिष्ठ नेताहरू तथा पूर्वप्रधानमन्त्रीहरू समेटिनेछन्। यो निकाय प्रत्यक्ष कार्यकारी दायित्वबाट पूर्णतः मुक्त रहनेछ, जसले गर्दा नेताहरू दिनहुँको गुटबन्दी र प्रशासनिक किचलोभन्दा माथि उठ्न सकून्। यस कोठाको मूल दायित्व पार्टीलाई गम्भीर संकटका बेला निकास दिनु, दीर्घकालीन वैचारिक एवं राजनीतिक दिशानिर्देश गर्नु र नैतिक मार्गदर्शन प्रदान गर्नु हुनेछ।
दोस्रो कोठा (कार्यकारी निकाय): पार्टीको दैनिक राजनीति, संगठन र सरकार सञ्चालनका लागि ‘कार्यकारी निकाय’ क्रियाशील रहनेछ। महाधिवेशनबाट लोकतान्त्रिक विधिद्वारा निर्वाचित सभापति, पदाधिकारीहरू र केन्द्रीय कार्यसमिति यस कोठाभित्र रहनेछन्। यो निकायसँग संगठन विस्तार, संसदीय दलको सञ्चालन, चुनावी रणनीति, सरकारमा प्रतिनिधित्व र दैनिक राजनीतिक निर्णयहरू लिने सम्पूर्ण कार्यकारी अधिकार केन्द्रित हुनेछ।
तेस्रो कोठा (भविष्य संयन्त्र): पार्टीलाई समयसापेक्ष, प्रविधिमैत्री र समावेशी बनाउन ‘भविष्य संयन्त्र’को निर्माण गरिनेछ। यस कोठामा युवा, महिला, मधेसी, दलित, जनजाति, अल्पसंख्यक तथा नयाँ राजनीतिक पुस्ताको सशक्त प्रतिनिधित्व हुनेछ। यस निकायको मुख्य कार्य पार्टीभित्र नयाँ सोच, आधुनिक प्रविधि र सामाजिक समावेशिताको बहस चलाउनुका साथै भावी नीति निर्माणका लागि नेतृत्वलाई निरन्तर घचघच्याउनु र खबरदारी गर्नु हुनेछ।
यो संरचनाले विगतको अनुभवलाई सम्मान, वर्तमानलाई कार्यकारी जिम्मेवारी र भविष्यका सम्भावनाहरूलाई संस्थागत स्थान दिनेछ। आन्तरिक लोकतन्त्र र प्रणालीगत पुनर्संरचना: व्यक्तिको अनुहार बदलेर मात्र पार्टी बदलिँदैन, नेता उत्पादन गर्ने प्रणाली नबदलिएसम्म पुरानै प्रवृत्ति दोहोरिइरहन्छ। जब महाधिवेशन प्रतिनिधि छनोट नै पैसा, पहुँच र गुटको कृपामा आधारित हुन्छ, तब सभापति बदलिए पनि गुटबन्दी र भ्रष्टाचार बदलिँदैन। त्यसैले नवीन कांग्रेस बन्न यस्ता सुधारहरू बाध्यकारी बनाइनुपर्छः–
- क्रियाशील सदस्यताको डिजिटलाइजेसनः सदस्यता वितरणमा हुने धाँधली रोक्न पारदर्शी डिजिटल अभिलेख प्रणाली लागू गर्ने।
- आन्तरिक निर्वाचन प्रणालीमा सुधारः प्रतिनिधि चयन प्रक्रियालाई तल्लो तहदेखि नै पूर्ण लोकतान्त्रिक र निष्पक्ष बनाउने।
- पदाधिकारीको कार्यकाल सीमाः विधानमै कुनै पनि व्यक्ति दुई कार्यकालभन्दा बढी एउटै कार्यकारी पदमा बस्न नपाउने कडा व्यवस्था गर्ने।
- आर्थिक पारदर्शिता र कार्यसम्पादन मूल्यांकनः पार्टीको आम्दानी–खर्च पारदर्शी बनाउने र नेताहरूको नियमित मूल्यांकन गर्ने परिपाटी बसाल्ने।
- पार्टीभित्र विचारको विविधता रहनु लोकतन्त्रको सुन्दरता हो। त्यसैले लक्ष्य ‘गुटविहीन कांग्रेस’ बनाउनु होइन, ‘संस्थाभन्दा ठूलो कुनै गुट हुन नदिने कांग्रेस’ बनाउनु हो। ‘निर्वाचनमा प्रतिस्पर्धा गर, तर परिणामपछि संस्थाको निर्णय स्वीकार गर’ भन्ने लोकतान्त्रिक अनुशासन नै नयाँ कांग्रेसको जग हुनुपर्छ।
निष्कर्ष– पुनर्जन्मको ऐतिहासिक अवसर: कांग्रेससामु दुर्लभ ऐतिहासिक अवसर प्राप्त छ। कांग्रेसले चाह्यो भने वर्तमान संकटलाई आफ्नो इतिहासकै ठूलो कमजोरी र पतनको कारण बनाउन पनि सक्छ, वा यही संकटलाई उपयोग गरेर ऐतिहासिक सुधारको अवसरमा बदल्न पनि सक्छ। अदालतको प्राविधिक निर्णय वा कानुनी लडाइँले कांग्रेसलाई क्षणिक समाधान देला, तर त्यसले दूरगामी निकास दिँदैन।
अबको बहस ‘कसले सभापति पद पाउने ?’ भन्ने व्यक्तिकेन्द्रित प्रश्नमा सीमित हुनु हुँदैन। बहस त ‘सभापति जो भए पनि, भोलिका दिनमा कांग्रेस फेरि नफुट्ने संस्थागत संरचना कसरी बनाउने ?’ भन्नेमा केन्द्रित हुनुपर्छ।
प्रतिक्रिया दिनुहोस !