बारामा ईभीको ठक्करबाट ६ वर्षीय बालकको ज्यान गयो
सिमरा : पथलैया–वीरगन्ज सडकखण्ड अन्तर्गत बाराको परवानीपुरमा मंगलबार विद्युतीय गाडी (ईभी)को ठक्करबाट एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा भारत मोतिहारीका सात वर्षीय महम्मद ईशान रहेका छन् ।
बालकको उपचारका क्रममा वीरगन्जस्थित बयोधा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। प्रहरीका अनुसार वीरगन्जबाट हेटौंडातर्फ जाँदै गरेको म.प्र ०३–००१ ज ०९०१ नम्बरको ईभी गाडीले परवानीपुर गाउँपालिका–४ स्थित केडिया आँखा अस्पताल अगाडि बाटो काट्दै गरेका बालकलाई ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएका बालकलाई तत्कालै बयोधा अस्पताल लगिएको थियो।
प्रहरीले बालकलाई ठक्कर दिने ईभी गाडी र चालक वीरगन्ज महानगरपालिका–३२ का २६ वर्षीय लक्षुमन पासवानलाई नियन्त्रणमा लिएको छ । बालकको शव शल्यपरीक्षणका लागि नारायणी अस्पताल पठाइएको बाराका प्रहरी प्रवक्ता मिनबहादुर घलेले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !