बारामा ११ वर्षीय बालकको हत्या आरोपमा १७ वर्षीय बालक पक्राउ
सिमराः बारामा ११ वर्षीय नाबालकको अपहरणपछि हत्या गरेको आरोपमा १७ वर्षीय बालक पक्राउ परेका छन् । बिश्रामपुर गाउँपालिका–३ मुसहर्वाका ११ वर्षीय राजेशकुमार साहको हत्या आरोपमा बारा प्रहरीले अर्का एक बालकलाई पक्राउ गरेको हो ।
पक्राउ परेका बालक सोही ठाउँको भएपनि प्रहरीले नाम खुलाएको छैन । प्रहरीका अनुसार ती बालकले राजेशलाई भारतमा लगेर हत्या गरेका थिए । भदौ ९ गते घरबाट हराएका राजेशको शव भदौ ११ गते भारत बिहार मोतिहारी जिल्ला नुनयाडी पञ्चायत– १ स्थित सिंहा नदी किनारमा फेला परेको थियो ।
मृतक बालककी आमाले भारत पुगेर शवको पहिचान गरेकी थिइन् । राजेशको हत्यामा ती १७ वर्षीय बालकको संलग्नता देखिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए ।
प्रवक्ता घलेका अनुसार अनुसन्धानका क्रममा संकलित सिसिटिभी फुटेज, स्थानीयको भनाइले घटनामा बालकको संलग्नता देखिएपछि पक्राउ गरिएको हो । बालकलाई बारा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको घलेले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस !