बाढीले खोसेको बस्ती

बाढीले खोसेको बस्ती
सुन्नुहोस्

नुवाकोट : ‘मेरो घर यहीँ कहीँ थियो कि ? ’खण्डहर बनेको बगरमा हिँड्दै विदुर नगरपालिका–५ देवीघाटका ७२ वर्षीय पदमकान्त भट्ट अत्तालिएको स्वरमा आफ्नो घर खोजिरहेका छन्। उनी उभिएको ठाउँ अहिले पूरै दलदल छ, जहाँ खुट्टा टेक्नासाथ गाडिन्छ।

५० वर्षदेखि देवीघाटमा बस्दै आएका भट्टको तीनतले घर अहिले नामोनिसान नभई बगेको छ। नजिकैको नदीभन्दा करिब दुई सय मिटर टाढा रहेको उनको घर बाढीले क्षणभरमै बगाइदियो।

‘सानातिना बाढी त आउँथे, तर यो ५० वर्षमा यसरी सर्वनास गर्ने बाढी कहिल्यै देखेको थिइनँ,’ भट्ट भन्छन्, ‘ श्रीसम्पत्ति सर्वनास भयो, अब के भन्ने ? भन्ने शब्द नै बाँकी छैन। घरै रहेन, ५० वर्षसम्म दुःख गरेर जोडेको सबै चिज एकैछिनमा बगाएर लग्यो।’

बाढी आएको त्यो कहालीलाग्दो क्षण सम्झिँदै उनी भावविह्वल हुन्छन्। भट्ट दम्पती रातको खाना खाने तरखरमा थिए। उनकी श्रीमतीले खाना पस्किएर बोलाउँदैमात्र के थिइन्, बाहिर ‘भागौं भागौं’ भन्दै रुवाबासी चल्यो।

‘पस्किएको खाना छाडेर लगाइराखेको लुगाकै भरमा ज्यान जोगाउन भाग्यौं,’ उनी भन्छन्, ‘अहिले होल्डिङ सेन्टरमा बसेका छौं। यो उमेरमा काम गर्न सकिँदैन, दुई–चार दिन अरूले देलान्, त्यसपछि के खाने, कहाँ बस्ने ? केही टुंगो छैन।’

बाढीपछि उनको भोक र निद्रा हराएको छ। सरकारी उद्धार टोलीले आएर विवरण त लगेको छ, तर उनलाई छिटोभन्दा छिटो सुरक्षित ठाउँमा स्थानान्तरण गरिदिए हुन्थ्यो भन्ने मात्र चिन्ता छ।

देवीघाटको अवस्था निकै दर्दनाक र कहालीलाग्दो छ। कसैले बाबुआमा गुमाएका छन् त कसैले छोराछोरी। तीन पुस्ता नै हराएका परिवार पनि छन्। देवीघाट बजारमा मात्रै करिब तीन सय घरपरिवारको सर्वस्व क्षति भएको छ भने १५/१६ जना बेपत्ता छन्। त्रिशूली र तादी खोलाको संगममा रहेको यो बजारमा एउटा प्रहरी चौकीबाहेक केही पनि बाँकी बचेको छैन।

‘गाँस र बास दुवै खोस्यो बाढीले’
रसुवाको कालिका–१ मैलुङ बजार घर भई देवीघाटमा कोठा भाडामा बस्दै आएका बेन्नेमा तामाङको पीडा पनि कम छैन। छोराछोरीलाई पढाउन देवीघाट झरेका तामाङको रसुवाको घर–खेत र देवीघाटको डेरा दुवै बाढीले लिइदियो। आफू बसेको कोठा खोज्दै गरेका तामाङ भन्छन्, ‘सक्कलै लग्यो, केही बाँकी रहेन। रसुवाको घरखेत पनि लग्यो, यहाँको कोठा पनि बगायो।’

बाढी आएको ६ दिनपछि कोठा खोज्न आइपुगेका तामाङ र उनका साथी कुन ठाउँमा कोठा थियो भन्ने अनुमानसमेत लगाउन सकिरहेका छैनन्। रसुवाबाट सुनामीजस्तै बाढी आउँदैछ भनेर फोन आएपछि उनी दौडिँदै छोराछोरी लिन स्कुल पुगेर ज्यान बचाउन सफल भएका थिए। ‘कति दिन सरकारले खाना खुवाउला ? त्यसपछि कहाँ जाने ? हाम्रो जीवन त साह्रै कष्टकर भयो,’ तामाङले बिलौना गरे।

सोही बजारका व्यवसायी विष्णुप्रसाद दाहालको बिजोग पनि उस्तै छ। उनका दुईवटा ठूला किराना पसल र १३ वटा गोदाम बाढीले पूर्ण रूपमा ध्वस्त पारेको छ।

बेत्रावतीमा मसानघाटजस्तै सन्नाटा
नुवाकोट र रसुवाको सीमावर्ती बजार बेत्रावतीको अवस्था अझ भयानक छ। भदौ १० गते आएको विनाशकारी बाढीले बेत्रावतीलाई खण्डहर र मसानघाटजस्तै बनाएको छ। बेत्रावतीस्थित उत्तरगया बोर्डिङ स्कुलका चार सय विद्यार्थीमध्ये ठूलो संख्यामा बाढीमा परेका छन्। यकिन तथ्यांक नभए पनि करिब तीन सय विद्यार्थी हराइरहेको अनुमान छ।

स्कुलकी शिक्षिका रीता मगर त्यो कहालीलाग्दो दृश्य सम्झदै भन्छिन्, ‘स्कुल भर्खर पुगेका थियौं, एकाएक बाढी आयो। भिरको बाटो भएर आफ्ना ५४ जना विद्यार्थीलाई त बचाउन सक्यौं, तर धेरै विद्यार्थीलाई आँखाअगाडि नै बाढीले बगाएर लग्यो। हेर्दाहेर्दै स्कुल नै बगेर गयो।’

शिक्षिका मगर र अन्य शिक्षकहरूले बचाएकधा ५४ जना र आफैं भागेर बाँचेका १४/१५ जना विद्यार्थीलाई अभिभावकको जिम्मा लगाइएको छ। विद्यार्थी लिन जाँदै गरेको स्कुलको गाडीसमेत बाढीले बगाएको थियो। रीताका देवर र मामा अझै बेपत्ता छन्। उनका श्रीमान् सुजन मगरका अनुसार बेत्रावतीमा जाने अवस्था नै छैन, पूरै क्षेत्र दलदल बनेको छ भने वरपर शव गन्हाउन थालेको छ। ‘मेरो भाइ टिमुरे जाँदै गर्दा बेपत्ता भएको ६ दिन भइसक्यो। बेत्रावतीमा त एउटै घरभित्र २४ वटासम्म शव भेटिएको छ,’ सुजनले भने।

बेत्रावती अहिले पूर्ण रूपमा सम्पर्क विच्छेदको अवस्थामा छ। अहिले नुवाकोटको ढुंगेबजारसम्म मात्र यातायात र मानिस पुग्न सक्ने अवस्था छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.