बाढीपीडितको प्रश्न : सरकार कहाँ छ ?
धादिङ : धादिङको गल्छी गाउँपालिका–६ बैरेनीको बस्तीमा बाढीको पानी घटिसकेको छ। तर बाढीले छाडेको विनाशको दृश्य अझै उस्तै छ। घरभित्र कम्मरसम्म थुप्रिएको लेदो, माटो र भग्नावशेष छ। भान्सा, कोठा र पसलका सामान पुरिएका छन्। कतिपय घर बस्न मिल्ने अवस्थामा छैनन्।
पानी घटेपछि प्रभावित परिवारको अर्को संघर्ष सुरु भएको छ— आफ्नै घर सफा गर्ने। कोही कोदालो बोकेर लेदो पन्छाइरहेका छन्, कोही भग्नावशेष निकालिरहेका छन्। वर्षौं दुःख गरेर जोडेको सम्पत्ति बाढीले पुरेपछि उनीहरू घरलाई फेरि बस्न मिल्ने बनाउने प्रयासमा छन्।
तर प्रभावितहरूको गुनासो छ— विपद्का बेला राहत र उद्धारसँगै घर सरसफाइमा पनि सरकारी सहयोग आवश्यक थियो। घरभित्र पसेको लेदो पन्छाउन सरकारी टोली पर्याप्त रूपमा नपुगेको उनीहरूको भनाइ छ।
घर, पसल, खाद्यान्न, लत्ताकपडादेखि बालबालिकाका कापी–किताबसम्म बाढीले पुरेपछि प्रभावित परिवारका लागि अहिले तत्कालीन आवश्यकता सुरक्षित बसोबास र घर सरसफाइ बनेको छ।
बाढीले घर र सम्पत्तिमात्र पुरेको छैन, बालबालिकाको पढाइसमेत प्रभावित भएको छ। गल्छीकी ८ वर्षीया प्रीतिकुमारी महतो श्री बागेश्वरी माध्यमिक विद्यालयमा कक्षा २ मा अध्ययनरत छिन्। बाढीले उनको विद्यालय जाने झोला, कापी–किताबलगायत शैक्षिक सामग्री पुरिदिएपछि उनी पढाइलाई लिएर चिन्तित छिन्।
‘बाढीले मेरो झोला सबै पुरिदियो। केही पनि भेटिएन,’ प्रीतिले भनिन्, ‘अब कसरी पढ्ने ?’ बाढीको पानीसँगै आएको लेदो र माटोले घर तथा आसपासका सामान पुरिँदा उनका पढाइका सामग्री पनि जोगिन सकेनन्। घरको क्षति व्यवस्थापनसँगै शैक्षिक सामग्री गुमेपछि प्रीतिको पढाइलाई निरन्तरता दिनु परिवारका लागि अर्को चुनौती बनेको छ।
१३ वर्षीय ज्याक्सन श्रेष्ठको अवस्था पनि उस्तै छ। बाढीले घरभित्रका सामानसँगै उनका कापी–किताब र विद्यालय पोसाकसमेत पुरिदिएको छ। ‘बाढीले घरभित्रका सबै सामान पुरिएको छ। कापी–किताब र स्कुल ड्रेस पनि सबै बग्यो। घर सफा गर्न हामी आफैं लागिरहेका छौं। सामान निकाल्न पनि कोही आएन। अब स्कुल कसरी जाने भन्ने चिन्ता छ,’ ज्याक्सनले भने।
ज्याक्सनका बुवा राजकुमार श्रेष्ठले वर्षौं दुःख गरेर बनाएको घर र कमाएको सम्पत्ति बाढीले पुरिदिएको बताए। विपद्को समयमा प्रभावित परिवारलाई तत्काल सहयोग आवश्यक रहेको उनको भनाइ छ। ‘मत दिएर सरकार बनायौं, तर विपत्मा सरकारले हामीलाई प्राथमिकतामा राखेन। घरभित्र लेदो भरिएको छ। खाने–बस्ने अवस्था छैन। सरकार र सुरक्षा निकायले तत्काल घर सफा गरिदिनुपर्यो,’ उनले भने।
चोकबहादुर दाहालको पीडा पनि उस्तै छ। बाढीले वर्षौंको कमाइ पुरेपछि घरमा प्रयोग हुने सामान्य सामानसमेत बाँकी नरहेको उनले बताए।
‘दुःख गरेर कमाएको सबै बाढीले पुरिदियो। एउटा चम्चा र गिलाससमेत बाँकी रहेन। अहिले सबैभन्दा ठूलो समस्या घर सफा गरेर बस्न मिल्ने बनाउनु हो,’ उनले भने।
प्रभावित परिवारका लागि अहिले राहत सामग्रीसँगै घर सरसफाइ प्रमुख चुनौती बनेको छ। लेदो र भग्नावशेष नहटाएसम्म घरमा फर्किएर बस्न कठिन छ। लामो समयसम्म यस्तो अवस्था रहे बालबालिकाको पढाइ, दैनिक गुजारा र स्वास्थ्यमा समेत असर पर्न सक्ने जोखिम छ।
पीडितले घर सफा गर्न सरकारी सहयोग नपाएको गुनासो गरिरहेका बेला जिल्ला प्रशासन कार्यालयले भने उद्धार, राहत र पुनस्र्थापनाका लागि स्थानीय प्रशासन तथा तीनवटै सुरक्षा निकाय परिचालन गरिएको जनाएको छ।
धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमले प्रभावित नागरिकको सुरक्षित बसोबास र जीवनरक्षालाई प्राथमिकतामा राखिएको बताइन्।
‘विपद्पछि उद्धार, राहत र पुनस्र्थापनाका लागि स्थानीय प्रशासन तथा तीनवटै सुरक्षा निकाय परिचालन भएका छन्। प्रभावित नागरिकको सुरक्षित बसोबास र जीवनरक्षा हाम्रो पहिलो प्राथमिकता हो,’ उनले भनिन्।
गल्छी गाउँपालिकाले पनि प्राथमिकताका आधारमा सरसफाइको काम अघि बढाइएको जनाएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालका अनुसार अहिले अस्पताल र विद्यालयको सरसफाइलाई प्राथमिकता दिइएको छ। ‘हामीले प्राथमिकताका आधारमा काम गरिरहेका छौं। अहिले अस्पताल र विद्यालयको सरसफाइलाई पहिलो प्राथमिकता दिएका छौं। त्यसपछि सुरक्षा निकाय र स्वयंसेवक परिचालन गरेर नागरिकका घरमा सरसफाइको काम अघि बढाउँछौं,’ उनले भने।
गल्छी–६ का वडाध्यक्ष दीपक कार्कीका अनुसार सेना, प्रहरी र स्वयंसेवक परिचालन भए पनि प्रभावित घरको संख्या र आवश्यक जनशक्तिको तुलनामा स्रोत सीमित भएकाले सबै ठाउँमा एकैपटक पुग्न कठिन भएको हो। ‘सेना, प्रहरी र स्वयंसेवकहरू परिचालन भइरहेका छन्। सबै ठाउँमा एकैपटक पुग्न जनशक्तिको सीमितता छ। अस्पताल र विद्यालयको काम सकिएपछि प्रभावित नागरिकका घरमा पनि प्राथमिकताका आधारमा सहयोग पुर्याउँछौं,’ उनले भने।
बाढीको क्षति घर र सम्पत्तिमा मात्र सीमित छैन। त्रिशूली नदीमा बाढीपछि धादिङका विभिन्न स्थानमा फेला परेका शव तथा मानव अंगको व्यवस्थापनसमेत चुनौती बनेको छ।
धादिङका विभिन्न स्थानमा फेला परेका २३ वटा शव तथा मानव अंग व्यवस्थापन गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। आवश्यक कानुनी प्रक्रिया पूरा गरी गजुरी गाउँपालिका–५ स्थित ठूलो सामुदायिक वन क्षेत्रमा ती शव तथा अंग व्यवस्थापन गरिएको प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए।
पहिचान हुन नसकेका शव कुहिन थालेपछि संक्रमण तथा सम्भावित स्वास्थ्य जोखिमलाई ध्यानमा राखेर व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ। व्यवस्थापन गरिएकामध्ये दुईवटा सग्ला शव र २१ वटा शरीरका विभिन्न अंग छन्। डीएनए परीक्षणका लागि आवश्यक नमुनासमेत संकलन गरिएको छ। प्रत्येक शव तथा अंगलाई भविष्यमा पहिचान गर्न सहज हुने गरी छुट्टाछुट्टै नम्बर दिइएको र छुट्टाछुट्टै खाडलमा राखेर व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ। डीएनए परीक्षणबाट कुनै शवको पहिचान खुलेमा सम्बन्धित परिवारलाई जानकारी गराइने प्रहरीले जनाएको छ।
यसअघि धादिङका विभिन्न स्थानबाट संकलन गरिएका शवमध्ये २७ वटा पोखरा र ६ वटा काठमाडौं पठाइएको प्रहरीले जनाएको छ। बैरेनीका प्रभावित घरमा अहिले पनि विपद्को असर प्रस्ट देखिन्छ। घरभित्र लेदो छ, आँगनमा भग्नावशेष छ र हातमा कोदालो बोकेर नागरिक आफैं आफ्नो घर सफा गरिरहेका छन्।
सरकार र स्थानीय प्रशासनले उद्धार, राहत तथा पुनस्र्थापनाको काम भइरहेको बताएका छन्। स्थानीय तहले पनि प्राथमिकताका आधारमा घर सरसफाइमा सहयोग गर्ने जनाएको छ। तर प्रभावित परिवारका लागि अहिलेको मुख्य आवश्यकता तत्काल घर सफा गरेर सुरक्षित रूपमा बस्न सक्ने वातावरण बनाउनु हो। बाढीको पानी घट्दैमा प्रभावितको विपद् सकिँदैन। घरभित्र थुप्रिएको लेदो, गुमेको सम्पत्ति, रोकिएको पढाइ र आफन्तको खोजीको पीडा बाँकी नै रहन्छ। बैरेनीका प्रभावित परिवारका लागि अहिलेको प्रश्न यही हो— राहत र उद्धारमा राज्यको उपस्थिति देखिए पनि उनीहरूको घरको ढोकासम्म त्यो सहयोग कहिले पुग्छ ?
‘कृष्णभिरमा २०० मिटर सडक भासियो, नौबिसे–मुग्लिन खण्डका चार ठाउँमा क्षति’
रसुवामा आएको विनाशकारी बाढीको असर धादिङको सडक पूर्वाधारमा समेत परेको छ। त्रिशूली नदीमा बाढीको बहाव बढेपछि नदी किनारमा भएको कटानका कारण पृथ्वी राजमार्गको नौबिसे–मुग्लिन खण्डका कम्तीमा चार स्थानमा सडक भासिएको छ।
मुग्लिनबाट करिब २३ किलोमिटर काठमाडौंतर्फ पर्ने कृष्णभिरमा सबैभन्दा ठूलो क्षति भएको छ। नागढुंगा–मुग्लिन सडक आयोजना पश्चिम खण्डकी आयोजना प्रमुख सजना अधिकारीका अनुसार कृष्णभिरमा करिब दुई सय मिटर सडक भासिएको छ। सडकको माथिल्लो भागको डाँडासमेत चिरिएको छ।
मलेखुबाट करिब तीन किलोमिटर मुग्लिनतर्फ पर्ने शीतल बजारमा करिब ५० मिटर सडक भासिएको छ। सडक आयोजना पूर्वी खण्डका इन्जिनियर राजीव मानन्धरका अनुसार त्रिशूली नदीले कृष्णभिरलगायतका स्थानमा सडकको फेद कटान गरिरहेको छ। गेग्रानसहित आएको बाढीले कृष्णभिरमा नदी किनारमा लगाइएको रिटेनिङ वालसमेत बगाएको छ।
मलेखु पुलबाट करिब एक किलोमिटर काठमाडौंतर्फ पर्ने परेवाभिरमा पनि करिब एक सय मिटर सडकको छेउ भासिएको छ। चालिसेनजिकै पनि करिब ४० मिटर सडक भासिएको आयोजनाले जनाएको छ।
नदीको बहाव र सतहमा उतारचढाव भइरहेकाले कमजोर भूभागमा थप कटानको जोखिम रहेको मानन्धरले बताए। उनका अनुसार चट्टान भएको स्थानमा तुलनात्मक रूपमा कम क्षति भए पनि कमजोर भूभागमा नदीको कटान बढी देखिएको छ।
‘ठूलो बाढीले नदीको धार परिवर्तन गर्दा सडकका विभिन्न भागमा क्षति पुगेको हो। अहिले पनि पानीको बहावले सडकको फेदमा कटान गरिरहेको छ,’ उनले भने। कृष्णभिरमा सडक तत्काल मर्मत गरेर सञ्चालन गर्न सकिने अवस्था नरहेको आयोजनाले जनाएको छ। शीतल बजारमा भने सडकको भित्तो काटेर सडक सञ्चालन गर्ने तयारी भइरहेको छ।
परेवाभिरमा नदीतर्फको सडकको भाग भासिएको छ। करिब एक सय मिटर सडक कालोपत्रेसम्म झरेको र थप क्षति हुन सक्ने जोखिम रहेकाले अत्यावश्यक बाहेकका सवारीलाई एकतर्फी रूपमा सञ्चालन गरिएको छ।
क्षतिग्रस्त स्थानमध्ये केहीमा तत्काल सडक व्यवस्थापन गरेर सञ्चालन गर्न सकिने भए पनि कृष्णभिरमा तत्काल यातायात सञ्चालन गर्न कठिन देखिएको आयोजनाले जनाएको छ। कृष्णभिरमा थप क्षति हुन नदिन प्राविधिक अध्ययन र व्यवस्थापनको काम अघि बढाइएको छ।
राजमार्ग अवरुद्ध हुँदा वैकल्पिक मार्गको खोजीसमेत सुरु भएको छ। गोरखा क्षेत्रबाट राजधानी जोड्ने वैकल्पिक सडक सञ्चालन गर्न सकिने सम्भावित मार्गबारे अध्ययन भइरहेको आयोजनाले जनाएको छ। उपयुक्त सडक पहिचान गरी तत्काल मर्मतसम्भार गरेर वैकल्पिक मार्गका रूपमा प्रयोग गर्ने तयारी छ।
राजधानी जोड्ने प्रमुख सडकका रूपमा रहेको पृथ्वी राजमार्गको यो खण्डमा दैनिक करिब १४ हजार सवारीसाधन आवतजावत गर्दै आएका थिए। सडकमा क्षति पुगेपछि यात्रु आवागमनसँगै ढुवानी तथा दैनिक उपभोग्य वस्तुको आपूर्तिमा समेत असर पर्ने देखिएको छ।
प्रतिक्रिया दिनुहोस !