घरघरमा बिरुडा, गाउँ–गाउँमा देउडाको रौनक

गौराले गुल्जार दार्चुला

गौराले गुल्जार दार्चुला
सुन्नुहोस्

दार्चुला : बिहानको घाम आँगनमा झुल्किँदै गर्दा दार्चुलाका गाउँबस्तीमा चहलपहल सुरु हुन्छ। कतै घरको आँगन लिपपोत भइरहेको छ, कतै तामाको भाँडोमा बिरुडा भिजाइँदैछ।

महिलाहरू नयाँ पहिरनमा सजिएका छन्। कसैको मुखमा फागका भाका गुञ्जिएका छन् भने कतै गौराघर सजाउने तयारी चलिरहेको छ। गाउँका चौतारा, मन्दिर र आँगनमा भेटघाट बाक्लिएको छ। परदेसिएका आफन्त फर्किन थालेपछि लामो समयदेखि सुनसानजस्तै बनेका घरमा फेरि हाँसो र खुसी फर्किएको छ।

सुदूरपश्चिमको मौलिक सांस्कृतिक पहिचान बोकेको गौरा पर्व सुरु भएसँगै दार्चुलाका गाउँबस्ती यतिबेला गुल्जार बनेका छन्। घरघरमा धार्मिक आस्था, गाउँगाउँमा देउडाको रौनक र सीमा नाकामा घर फर्किने परदेशीको भिडले दार्चुलामा गौराको उत्सव सुरु भएको संकेत गरेको छ। भाद्र शुक्लपक्ष पञ्चमी अर्थात् बिरुडा पञ्चमीसँगै यस वर्षको गौरा पर्व विधिवत् सुरु भएको हो।

दार्चुलाका विभिन्न गाउँ तथा जिल्ला सदरमुकाम क्षेत्रमा मंगलबार बिहानैदेखि महिलाहरूले बिरुडा भिजाएका छन्। मालिकार्जुन गाउँपालिका–२ भैंसेखर्ककी लीला धामीका अनुसार परम्परागत विधिअनुसार मास, कलौं, गहत, गहुँ र गुरुस गरी पाँच प्रकारका अन्न तथा गेडागुडी भिजाएर गौरा पर्वको सुरुआत गरिन्छ। गाईको गोबरले लिपेर शुद्ध पारिएको तामाको भाँडोलाई दुबो र अक्षताले सिँगारिन्छ। त्यसपछि पाँच प्रकारका अन्न तथा गेडागुडी राखेर बिरुडा तयार गरिन्छ। धार्मिक आस्थासँग जोडिएको बिरुडालाई गौरीको प्रसादका रूपमा लिने गरिन्छ।

गौरा पर्व सुदूरपश्चिमका नौ वटै जिल्लामा निकै धुमधामका साथ मनाइने गरिन्छ। उक्त पर्वका लागि सामुदायिक तथा संस्थागत विद्यालयहरूले आजैदेखि बिदा दिएको महेन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक दामोदर जोशीले बताए। उनले भने, ‘यो पर्व विशेषगरी महिलाले मनाउने भएकाले विद्यालयहरू बन्द गर्नु परेको हो।’

‘गौरा आयो, घरमा खुसी ल्यायो’ भन्ने जनविश्वाससँगै दार्चुलाका महिलाहरू गौराको तयारीमा जुटेका छन्। बिरुडा राख्ने क्रममा गाइने डोटेली भाषाका सगुन र फागका भाकाले गाउँबस्तीको वातावरणलाई झनै उल्लासमय बनाएका छन्।

गौरा दार्चुलाका लागि केवल पूजा र धार्मिक अनुष्ठानको पर्व मात्र होइन, यो परिवार, आफन्त र समुदायलाई जोड्ने अवसर पनि हो। वर्षौंदेखि टाढिएका आफन्त भेटिने, परदेशमा रहेका परिवारका सदस्य घर फर्किने र गाउँमा पुराना साथीभाइसँग भेटघाट हुने भएकाले गौराको सामाजिक महŒवसमेत उत्तिकै छ।

बिरुडादेखि गौराघरसम्म
षष्ठीका दिन बिरुडा पखालिन्छ। सप्तमीका दिन धानखेतमा धानसँगै उम्रिएको साउँबाट गौराको प्रतिमा बनाइन्छ र विधिपूर्वक गौराघरमा भिœयाउने चलन छ। त्यसपछि गौराको मुख्य धार्मिक तथा सांस्कृतिक विधि सुरु हुन्छ। गौराष्टमीलाई पर्वको मुख्य दिन मानिन्छ। यस दिन गौराको पूजाआजा गरी मंगलगानका साथ गौरा नचाइन्छ। गौराघर तथा आँगनमा अठवाली गीत, चैत, धमारी र वीरगाथाका भाका गुञ्जिन्छन्। पुस्तौंदेखि हस्तान्तरण हुँदै आएका यी लोकभाकाले दार्चुलाको मौलिक संस्कृति र इतिहासलाई जीवित राखेका छन्।

महाकाली नगरपालिका–५ की हीरा अवस्थीका अनुसार गौराको समयमा महिलाले दुबधागो धारण गर्ने परम्परा छ। परिवारका सदस्यको सुस्वास्थ्य, दीर्घायु तथा सुख–समृद्धिको कामना गर्दै महिलाले गौरीको पूजा गर्ने गर्छन्। गौरा पर्वमा महिला–पुरुष दुवैको सहभागिता हुन्छ। महिलाहरू धार्मिक अनुष्ठानमा सक्रिय हुन्छन् भने पुरुषहरू पनि देउडा, धमारी तथा अन्य सांस्कृतिक गतिविधिमा सहभागी हुन्छन्। गाउँमा भेला भएर देउडा खेल्ने क्रम सुरु भएसँगै गौराको रौनक अझ बढ्ने गरेको अवस्थी बताउँछिन्।

गौरामै फर्किन्छन् परदेशी
दार्चुलामा गौरा पर्वको रौनक गाउँका आँगनमा मात्र सीमित छैन। भारतका विभिन्न सहरमा रोजगारीका लागि गएका नेपालीहरू घर फर्किन थालेपछि भारतसँग सीमा जोडिएका नाकामा समेत चहलपहल बढेको छ। गौरा पर्वलाई लक्षित गर्दै भारतबाट घर फर्किने नेपालीको संख्या पछिल्ला दिनमा बढेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख गौरव महतले बताए। भारतबाट नेपालीहरू दत्तु, जौलजीवी, लाली र खलंगा नाकाबाट स्वदेश फर्किरहेका छन्।

लामो समयदेखि रोजगारीका लागि भारतका विभिन्न सहरमा रहेका नेपालीहरू परिवारसँगै गौरा मनाउन घर फर्किने गरेका छन्। रोजगारीका क्रममा वर्षभरि परिवारबाट टाढा रहेका उनीहरूका लागि गौरा आफ्नै गाउँ, घर र आफन्तसँग जोडिने महŒवपूर्ण अवसर बन्ने गरेको छ। सीमा नाकाबाट भारी बोकेर गाउँतिर लागेका मानिस, आफन्त लिन पुगेका परिवारका सदस्य र लामो समयपछि भेटिएका साथीभाइका कारण दार्चुलाका नाकादेखि बजारसम्म चहलपहल बढेको छ। गौरा मनाउन बसाइँसराइ गरेर अन्यत्र गएका मानिससमेत आफ्नो थातथलो फर्किने गर्छन्। पहाडी क्षेत्रमा गौराका अवसरमा देवीदेवताका मन्दिर तथा गौराखालोमा सांस्कृतिक कार्यक्रम, खेलकुद तथा देउडा हुने भएकाले पनि पुख्र्यौली थलो फर्किनेको संख्या बढेको मालिकार्जुन पर्यटन विकास पूर्वाधारका सचिव जनकसिंह धामीले बताए।

संस्कृति जोगाउने पर्व
संस्कृतिका जानकार मालिकार्जुन गाउँपालिका–४ का मानसिंह धामी (औल्लेकी)का अनुसार गौरा वर्षौंदेखि टाढिएका आफन्त तथा गाउँलेबीच पुनः भेटघाट र जमघट हुने पर्व हो। त्यसैले यसलाई धार्मिक पर्वसँगै सामाजिक सद्भाव र सामुदायिक एकताको पर्वका रूपमा पनि लिने गरिएको छ। उनका अनुसार अष्टमी अर्थात् गौराष्टमीका दिन पूजाआजा गरी मंगलगानका साथ गौरा नचाउने परम्परा छ। गौरालाई गौराघरको आँगनमा ल्याएर राखेपछि अठवाली गीत, चैत, धमारी तथा राजा–महाराजाका वीरगाथासहितका सांस्कृतिक प्रस्तुति गरिन्छन्।

मोबाइल फोन, सामाजिक सञ्जाल र आधुनिक मनोरञ्जनका साधनको प्रभाव बढ्दै गए पनि दार्चुलाका गाउँमा गौराको मौलिकता अझै कमजोर भएको छैन। बरु फाग, देउडा, धमारी र अठवाली गीतमार्फत नयाँ पुस्ताले पुरानो संस्कृतिलाई बुझ्ने र सिक्ने अवसर पाइरहेको संस्कृतिका जानकारहरू बताउँछन्। गौरा पर्व शुक्ल पक्षमा परे ‘उज्याली गौरा’ र कृष्ण पक्षमा परे ‘अन्यारी गौरा’ भनिन्छ। दुवैलाई पवित्र मानिए पनि उज्याली गौरालाई विशेष महथव दिने परम्परा रहेको छ।

गाउँमा फेरि गुञ्जिए देउडाका भाका
गौरा सुरु भएसँगै दार्चुलाका विभिन्न गाउँमा देउडा खेल्ने क्रमसमेत सुरु भएको छ। गोलो घेरामा उभिएर सबाल–जवाफका रूपमा खेलिने देउडामा गाउँका सुखदुःख, प्रेम, सम्बन्ध, सामाजिक विषयदेखि इतिहास र समसामयिक विषयसम्म अभिव्यक्त हुने गर्छन्।

गौराले केही दिनका लागि भए पनि गाउँको दैनिक जीवनलाई उत्सवमा बदलिदिएको छ। परदेसिएका फर्किएका छन्। घरआँगनमा आफन्तको जमघट बढेको छ। युवायुवतीदेखि ज्येष्ठ नागरिकसम्म देउडाको घेरामा रमाउन थालेका छन्। गौराको यही विशेषताले यसलाई धार्मिक अनुष्ठानभन्दा पर पुर्‍याएको छ। यसले परिवारलाई जोड्छ, पुस्ताबीचको दूरी घटाउँछ र गाउँलाई एउटै सांस्कृतिक सूत्रमा बाँध्छ। दार्चुलाका पहाडी बस्तीमा यतिबेला बिहान बिरुडाको तयारी, दिउँसो पूजाआजा र साँझ देउडाको रौनक देखिन थालेको छ। गौराघरबाट निस्किएका फागका स्वर गाउँका पाखापखेरा हुँदै परपरसम्म सुनिन थालेका छन्।

परदेशबाट फर्किएका नेपालीका पाइलासँगै गाउँमा चहलपहल बढेको छ। घरघरमा बिरुडा राखिएको छ। आँगनआँगनमा गौरा सजाइएको छ। चौतारामा देउडा गुञ्जिएको छ। पुस्तौंदेखि चलिआएको परम्परा नयाँ पुस्ताले पछ्याइरहेको छ। त्यसैले यतिबेला दार्चुलाका पहाडी बस्तीको एउटै परिचय बनेको छ— गौराले गुल्जार दार्चुला।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.