कुवेतस्थित अमेरिकी एयरबेसमा इरानको आक्रमण
काठमाडौं : इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सले कुवेतमा रहेको अमेरिकी सैन्य आधार शिविर (एयरबेस)मा मिसाइल तथा ड्रोन आक्रमण गरेको दाबी गरेको छ। कर्प्सका अनुसार कुवेतस्थित ‘अली अल सालेम’ एयरबेसमा गरिएको उक्त आक्रमणमा परी केही अमेरिकी सैनिक मारिएका छन्।
इरानी सञ्चारमाध्यमहरूका अनुसार सो एयरबेसमा रहेका अमेरिकी कमाण्डरको मुख्यालय र आवास क्षेत्रलाई मुख्य निशाना बनाइएको उल्लेख छ।
आक्रमणका कारण ड्रोन राखिने ह्याङ्गर र उडान भर्ने क्षेत्रमा भीषण आगलागी हुनुका साथै इरानविरुद्ध प्रयोग हुँदै आएका केही अमेरिकी ड्रोनहरू पूर्ण रूपमा नष्ट भएको दाबी इरानले गरेको छ।
यसैबीच, कुवेत सरकारले इरानतर्फबाट आएका मिसाइल र ड्रोनहरूलाई आफ्नो हवाई रक्षा प्रणालीमार्फत आकाशमै निष्प्रभावी बनाएको जनाएको छ। कुवेती अधिकारीहरूका अनुसार आक्रमणबाट कुनै पनि मानवीय क्षति भएको पुष्टि भएको छैन।
इरानको यस दाबी र सैन्य क्षतिको विषयमा अमेरिकी सेन्ट्रल कमाण्डले भने हालसम्म कुनै आधिकारिक प्रतिक्रिया वा पुष्टि गरेको छैन।
प्रतिक्रिया दिनुहोस !