सुनसरी : आफूहरू जीवितै सेनाको नियन्त्रणमा हुँदासमेत रेडियो नेपालबाट ‘सेनासँगको भिडन्तमा चार जना माओवादीको मृत्यु’ भएको समाचार सुनेका खोटाङका चार निर्दोष नागरिकको हत्या भएको घटनाको आज २३ वर्ष पुगेको छ।
२०६० साल भदौ १६ गते तत्कालीन चिसापानी गाविस स्थित खुटाबगैंचाका कैलाशकुमार कार्की, थिरबहादुर कार्की, देवबहादुर राई र दीपक बिष्टलाई घरमै पुगेर तत्कालीन शाही नेपाली सेनाले गिरफ्तार गरेको थियो। सेनाले नियन्त्रणमा लिएका उनीहरूलाई सछितापोखरी गाविसस्थित टुवाखोलातर्फ लगिएको थियो।
त्यही साँझ रेडियो नेपालबाट ‘सेनासँगको भिडन्तमा चार जना माओवादीको मृत्यु’ भएको समाचार प्रसारण भयो। तर, त्यो समाचार सुन्ने चारै जना जीवितै थिए। उनीहरू सेनाको नियन्त्रणमा थिए। आफ्नै मृत्युको समाचार आफ्नै कानले सुन्नुपरेको त्यो क्षण कति भयावह थियो होला, त्यसको कल्पना गर्नसमेत कठिन छ। मृत्युको समाचार रेडियोबाट सुनिसकेपछि पनि उनीहरूलाई जीवितै राखियो र भोलिपल्ट मृत्युको मुखमा पुर्याइयो।
प्रत्यक्षदर्शी जलबहादुर राईका अनुसार २०६० भदौ १७ गते चारै जनालाई टुवाखोलाको जंगलमा लगेर गोली हानी हत्या गरिएको थियो। जलबहादुर पनि उनीहरूसँगै गिरफ्तारमा परेका थिए। चारजनाको हत्या भएको समाचार प्रसारण भएपछि आफूलाई सेनाले छाडिदिएको र अन्य गाउँका चारजना भाईहरुलाई गोली हानेर हत्या गरेको उनले बताए। हत्या गरिएका थिरबहादुर कार्की र कैलाशकुमार कार्की सहोदर दाजुभाइ हुन्।
२३ वर्ष बितिसक्दा पनि त्यो दिनको सम्झना जलबहादुरको मनबाट मेटिएको छैन। उनी भन्छन्, ‘त्यो दिन सम्झँदा आज पनि आङ सिरिङ हुन्छ। आँखाअगाडि त्यही घटना झलझली आउँछ। निर्दोष र निहत्था मानिसलाई यसरी मारिएको सम्झँदा मन भारी हुन्छ।’
चारजनाको हत्या भएको खबर फैलिएपछि चिसापानी शोकमा डुबेको उनले बताए। ‘त्यतिबेला चिसापानीमा जुन पीडा र सन्नाटा छाएको थियो, त्यो शब्दमा भन्न सकिँदैन। गाउँ नै शोकमा डुबेको थियो। आफन्तको रोदन र गाउँलेको पीडा आज पनि सम्झँदा मन पोल्छ,’ जलबहादुरले भने।
जलबहादुरले निर्दोष नागरिकको हत्या गर्ने जोसुकै भए पनि कानुनको कठघरामा उभ्याउनुपर्ने बताए। ‘निर्दोष जनता मार्नेहरूलाई कारबाही हुनुपर्छ। यस्ता घटना फेरि नदोहोरिऊन् भन्नका लागि सत्य बाहिर आउनुपर्छ र दोषीले सजाय पाउनुपर्छ,’ उनले भने। यही घटनाको स्मरणमा हरेक वर्ष भदौ १७ गते उनीहरूको स्मृति दिवस मनाइँदै आएको छ।
यस वर्ष २३औँ स्मृति दिवसका अवसरमा नेपाली कम्युनिस्ट पार्टी खोटाङका अध्यक्ष दिपक पाण्डेले घटनाको स्मरण गर्दै मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। उनका अनुसार सेनाको नियन्त्रणमा रहेका चारै जनाले आफूहरू मारिएको समाचार रेडियो नेपालबाटै सुनेका थिए। ‘सेनाको नियन्त्रणमा रहेका चारै जनाले आफूहरू मारिएको समाचार रेडियोबाटै सुनेका थिए,’ पाण्डेले भने, ‘रेडियोबाट मृत्युको समाचार प्रसारण भएको भोलिपल्ट उनीहरूलाई टुवाखोलाको जंगलमा लगेर हत्या गरिएको थियो।’ पाण्डेले माओवादी भएको आरोपमा नागरिकलाई पक्राउ गरी हत्या गर्नु गम्भीर मानवअधिकार उल्लंघन भएको भन्दै घटनाको निष्पक्ष छानबिन गरी दोषी देखिएकालाई कानुनअनुसार कारबाही गर्नुपर्ने बताए।
मृतक थिरबहादुर कार्कीका भाइ श्यामसुन्दर कार्कीले २३ वर्ष बितिसक्दा पनि घटनाको सत्यतथ्य पूर्ण रूपमा बाहिर आउन नसकेको बताए। निर्दोष नागरिकको हत्या भएको भए त्यसमा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाही गर्न उनले सरकारसँग माग गरेका छन्।
‘हामीले दुई दाजुहरु गुमाएको २३ वर्ष भयो। घटना किन र कसरी भयो भन्ने विषयमा पूर्ण सत्य बाहिर आउनुपर्छ। निहत्था नागरिकको हत्या भएको हो भने हत्यामा संलग्नलाई कानुनअनुसार कारबाही हुनुपर्छ,’ श्यामसुन्दरले भने।
माओवादी द्वन्द्वकालमा राज्य र विद्रोही दुवै पक्षबाट भएका हत्या, बेपत्ता तथा मानवअधिकार उल्लंघनका घटनामध्ये टुवाखोला घटना पनि पीडित परिवारका लागि कहिल्यै बिर्सन नसकिने पीडादायी घटना बनेको स्थानीय बताउँछन्। २३ वर्ष बितिसक्दा पनि चारै जनाको मृत्युको वास्तविक परिस्थितिबारे पीडित परिवारले पूर्ण सत्य, न्याय र जवाफ पाउन नसकेको गुनासो गर्दै आएका छन्।
टुवाखोलाको जंगलमा २३ वर्षअघि ज्यान गुमाएका कैलाशकुमार कार्की, थिरबहादुर कार्की, देवबहादुर राई र दीपक बिष्ट आज पनि आफन्त र सहयात्रीहरूको स्मृतिमा जीवित छन्।
उनीहरूको सम्झनासँगै एउटा प्रश्न पनि जीवित छ-निर्दोष नागरिकको जीवन खोस्ने त्यो घटनाको पूर्ण सत्य कहिले बाहिर आउला? जलबहादुरका लागि त्यो दिन केवल इतिहास होइन, अझै पनि शरीर सिरिङ पार्ने एउटा जीवित घाउ बनेको छ। चिसापानीका लागि त्यो घटना एउटा कहिल्यै निको नहुने सामूहिक पीडा हो। पीडित परिवारका लागि २३ वर्षपछि पनि न्याय र सत्यको खोजी समाप्त नभएको भाइ श्यामसुन्दरको भनाई छ।
प्रतिक्रिया दिनुहोस !