पहिचान नखुलेका शव कानुनी र वैज्ञानिक आधारमा व्यवस्थापन गरिएको हो : प्रधानमन्त्री
काठमाडौं : प्रधानमन्त्री बालेन शाहले भोटेकोशी बाढीमा ज्यान गुमाएका तर पहिचान हुन नसकेका नागरिकका शव कानुनी र वैज्ञानिक आधारमा जमिनमुनि व्यवस्थापन गरिएको स्पष्ट पारेका छन्।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री शाहले डीएनए परीक्षणबाट पहिचान खुलेपछि सम्बन्धित परिवारलाई शव जिम्मा लगाइने बताए। उनले यस विषयमा भ्रममा नपर्न समेत आग्रह गरे।
प्रधानमन्त्री शाहले यति ठूलो विपत्ति पर्दा उद्धार तथा राहतका लागि विदेशी सहयोग लिन नहुने भन्ने कुरा नरहेको बताए। बाढी प्रभावित क्षेत्रमा सहयोगका लागि सुरुदेखि नै अन्तर्राष्ट्रिय सहयोग लिने प्रयास गरिएको उनको भनाइ छ।
उनका अनुसार चीन र भारतबाट प्राविधिकसहितको टोलीले सुरुदेखि नै प्रभावित क्षेत्रको रेकी गरेको थियो। टनेलमा आएको विपत्ति विशेष किसिमको रहेको बताउँदै प्रधानमन्त्री शाहले पहिरोले टनेल थुनिएको नभई बाढीसँगै आएको हिलो,माटो र ढुंगाले टनेल थुनिएको बताए। यस्तो अवस्थामा टनेल खुलाउन तत्काल काम गर्न सकिने प्रविधि उपलब्ध नरहेको उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस !