सिरानी छाम्छु, कुना त चिसै छ
घडीको समय AM बाट PM मा सर्यो
क्यालेण्डरमा मिति गतेसँगै बार पनि सर्यो
समयको हावाले मुटु छोएजस्तो त लाथ्यो
कहिले दायाँ कहिले बायाँ कोल्टे फेर्दा ठाउँ सर्यो
दिनरात हुँदै रात मध्येरात हुँदै बिहानीमा सर्यो
बिहानीको घाम कोठामा छिरे झैँ लाथ्यो
फर्केर फेरि सिरानी छाम्छु कुना त चिसै छ
खुसी भाग लगाउँदा आँसुले खोस्यो खुसी सर्यो
रहरहरू कहर बनेर माया पनि अलि पर-पर सर्यो
निदरीमा जिस्काउन सपनीमा आए झैँ लाथ्यो
फर्केर फेरि सिरानी छाम्छु, कुना त चिसै छ
बिपनीमा देखेका रहरहरू हेर्दा हेर्दै सपनीतिर सर्यो
आज निद्राले ठाउँ छोड्दा सपना पनि उतै सर्यो
मुस्कान किन्न खुसी बेचेर रिन तिरे झैँ लाथ्यो
फर्केर फेरि सिरानी छाम्छु कुना त चिसै छ।
प्रतिक्रिया दिनुहोस !