भोटेकोशी बाढीपछि हराए मामा–भान्जा, परिवार अझै अनिश्चित प्रतीक्षामा
विराटनगर : रसुवाको भोटेकोशीमा आएको भीषण बाढीपछि मोरङका मामा–भान्जा सम्पर्क विहीन छन्। विराटनगर महानगरपालिका–५ का सोमप्रसाद कट्टेल र बेलबारी नगरपालिका–११ का अनोज धमला बाढी आएको दिनदेखि परिवारको सम्पर्कमा आएका छैनन्।
भदौ १० गते बिहान करिब ८ः४४ बजे सोमप्रसादले परिवारलाई फोन गरेका थिए। उनले आफूहरू रसुवाको टिमुरे पुगेको र अब करिब १० मिनेटमा भोटेखोला पुग्ने बताएका थिए। त्यसपछि भने उनको फोन आएन। परिवारले सुरुमा बाढीका कारण सञ्चार सम्पर्क अवरुद्ध भएको हुनसक्ने अनुमान गरेको थियो। केही समयपछि फोन आउने आशामा आफन्तहरू बसे। तर, दिन बित्दै जाँदा पनि सोमप्रसाद र अनोजको कुनै खबर नआएपछि परिवारको चिन्ता बढ्दै गयो। सोमप्रसाद मामा र अनोज भान्जा हुन्। सोमप्रसाद काठमाडौंस्थित सम्राट ट्राभल्स एन्ड टुरिजम ट्रेकिङ सेन्टरमा कार्यरत थिए। उनी भान्जा अनोजसँग घुमफिरका लागि रसुवा पुगेका थिए। भोटेकोशीमा बाढी आएपछि दुवै जना सम्पर्कविहीन बनेका हुन्। अवस्था अहिलेसम्म अज्ञात छ।
सोमप्रसादकी भाउजू कुन्ता कट्टेलका अनुसार बाढी आउनुअघि भएको फोन कुराकानी नै परिवारसँग उनको अन्तिम सम्पर्क हो। ‘उहाँले टिमुरे पुग्यौँ, अब १० मिनेटमा भोटेखोला पुग्छौँ भन्नुभएको थियो। त्यसपछि फोन सम्पर्क नै हुन सकेन,’ उनले भनिन्। सम्पर्कविहीन भएपछि परिवारका सदस्यहरूले सम्भावित स्थानमा पुगेर खोजी थालेका छन्। सोमप्रसादका भाइ लेखनाथ कट्टेल रसुवाको धुन्चेसम्म पुगेका छन्। उनले सम्भावित ठाउँमा खोजी गरे पनि अहिलेसम्म सोमप्रसादको अवस्थाका बारेमा कुनै ठोस जानकारी पाउन सकेका छैनन्।
दाजु पशुराम कट्टेल पनि चितवनको देवघाटसम्म पुगे। त्यहाँ बाढीमा भेटिएका शवहरुको फरेन्सिक परीक्षण र डीएनए नमुना संकलन गरिएको जानकारी पाएपछि उनी पुगेका थिए। तर, डीएनए परीक्षणको नतिजा नआएसम्म शवको पहिचान हुन सक्ने अवस्था भएन। त्यसपछि उनी फर्किए । अहिले परिवार डीएनए परीक्षणको नतिजाको प्रतीक्षामा छ। परिवारका सदस्यहरू सोमप्रसादको अवस्था अझै अनिश्चित रहेको बताउँछन् । उनी जीवितै भेटिने आशा एकातिर छ भने अर्कोतर्फ अप्रिय खबर सुन्नुपर्ने हो कि भन्ने त्रास पनि उत्तिकै छ। ‘लास भेटिन्छ कि साससहित फर्किन्छन् भन्ने आशामै छौँ,’ परिवारका सदस्यहरु भन्छन्।
सोमप्रसाद र अनोजको खोजीका लागि आफन्तहरू सम्भावित स्थानमा पुगे पनि अहिलेसम्म उनीहरूको अवस्थाका बारेमा पुष्टि हुने जानकारी प्राप्त हुन सकेको छैन। बाढी प्रभावित क्षेत्रमा सञ्चार तथा आवतजावतमा परेको असरले खोजी कार्यसमेत चुनौतीपूर्ण बनेको परिवारको भनाइ छ। मामा–भान्जाको अवस्था अज्ञात बनेपछि दुवै परिवार अहिले एउटै प्रश्नको उत्तर कुरिरहेका छन् —उनीहरू कहाँ छन् ?
बाढी आएको दिन बिहान सोमप्रसादले गरेको छोटो फोन कुराकानी अहिले परिवारका लागि अन्तिम सम्झना बनेको छ। टिमुरे पुगेको जानकारी दिएका उनले त्यसको केही मिनेटपछि भोटेखोला पुग्ने बताएका थिए। तर, त्यसपछि उनको फोन आएन। अहिले परिवारको प्रतीक्षा फोनको घण्टीमा मात्र सीमित छैन। उनीहरू खोजीको परिणाम, उद्धारसम्बन्धी सूचना वा डीएनए परीक्षणको नतिजामध्ये कुनै एउटा माध्यमबाट भए पनि सोमप्रसाद र अनोजको अवस्थाका बारेमा निश्चित जानकारी आउने आशामा बसेका छन्।
प्रतिक्रिया दिनुहोस !