बाढीपीडितका लागि सिन्धुलीको सुनकोशीका कर्मचारीहरुको १३ लाख बढी सहयोग
सिन्धुली : रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि सिन्धुलीको सुनकोशी गाउँपालिकाका शिक्षक तथा कर्मचारीले १३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ सहयोग गरेका छन्।
गाउँपालिकामा कार्यरत कर्मचारीहरुबाट ४ लाख १७ हजार ७ सय २२ रुपैयाँ र गाउँपालिका अन्तर्गतका विद्यालयहरुमा कार्यरत शिक्षकहरुबाट ९ लाख १५ हजार ६ सय ११ रुपैयाँ गरी १३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ संकलन गरेर प्रधानमन्त्री दैवी उद्धार कोषमा नगद जम्मा गरिएको हो। गाउँपालिकाकी अध्यक्ष दिपा बोहोरा दाहालका अनुसार उक्त रकम लक्ष्मी सनराईज बैंक मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो।
यस्तै गाउँपालिकाले जनप्रतिनिधिहरुबाट ७९ हजार र गाउँपालिकाको विपद् कोषबाट थप दुई लाख रुपैयाँ भोटेकोशी बाढीपीडितहरुलाई सहयोग गर्ने निर्णय समेत गरेको छ। गाउँपालिकाका निमिक्त प्रमुख प्रसाशकिय अधिकृत नविन न्यौपानेका अनुसार गाउँपालिकाको विपद् कोषबाट २ लाख र अध्यक्ष उपाध्यक्ष, वडा अध्यक्षहरु, कार्यपालिका सदस्य र वडा सदस्यहरुबाट जनही संकलन गरिएको ७९ हजार रुपैयाँ गरी कुल २ लाख ७९ हजार रुपैयाँ समेत थप रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णयको भएको हो।
यसैबीच, गाउँपालिकाले भोटेकोसी बाढीमा वेपत्ता गाउँपालिकाका नागरिकहरुको खोज तथा उद्धारमा समेत सहयोग गर्दै आएको छ। बाढीमा परी सुनकोशी गाउँपालिकाका ५ जना भन्दा बढी वेपत्ता छन्।
प्रतिक्रिया दिनुहोस !