बाढी प्रभावित क्षेत्रमा पठाइयो १७ लाखको राहत सामग्री
बुटवल : भोटेकोशी बाढीपीडितका लागि रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ स्थित ड्राइभर टोलमा संकलन गरिएको राहत सामग्री बुधवार प्रभावित क्षेत्रमा पठाइएको छ।
तिलोत्तमा सृजनशील समाज र थ्री सिस्टर कलेक्सन बाई अनमिका बुटवल लगायत विभिन्न व्यक्ति एवं संस्थाहरुद्धारा संकलित करिव १७ लाख रुपैयाँ बरावरको सामग्री प्रभावित जिल्लाहरुमा पठाइएको हो। तीन वटा जीपमा भरिभराउ राहत सामग्रीहरु नुवाकोट लगायतका जिल्लाहरुमा वितरण गर्ने कार्यक्रम रहेको तिलोत्तमा सृजनशील समाजले जनाएको छ।
तीन दिन लगाएर बाढीपहिरो पीडितका लागि खाद्यान्न, लत्ताकपडा र सर्जिकलका सामग्रीहरु संकलन गरिएको समाजकी सचिव अन्जु पौडेलले जानकारी दिइन्। तीन दिनका लागि मात्र आव्हान गरिएको राहत सामग्री संकलन अभियानमा सयौं व्यक्ति, संघ संस्था र व्यापारिक प्रतिष्ठानहरुले साथ दिएको थ्रि सिस्टर कलेक्सन बाई अनमिकाकी संचालक अनमिका भुसालले बताईन्।
पहिलो चरणको लागि गरिएको राहत संकलन अभियान स्थगित गरिएको र आवश्यकता अनुसार पुनः संचालन गरिने उनको भनाई छ। राहत सामग्रीलाई गन्तव्यस्थलसम्म पु¥याउनका लागि तिलोत्तमा नगरपालिकाले १ लाख रुपैयाँ ढुवानी खर्च सहयोग गरेको नगरप्रमुख रामकृष्ण खाणले जानकारी दिए। समाजमा स्वःस्फूर्त स्वयमसेवी रुपमा सेवा गर्ने मानिसहरुको संख्या दिनप्रतिदिन घट्दै गएको सुनाउँदै नगरप्रमुख खाणले सामाजिक संघ, संस्था र व्यक्तिहरुको हौसलाका लागि स्थानीय सरकारले सदैव साथ दिने प्रतिवद्धता समेत जनाए।
प्रतिक्रिया दिनुहोस !