२५० विद्यार्थी बेपत्ता, १० हजारको पढाइ ठप्प!

२५० विद्यार्थी बेपत्ता, १० हजारको पढाइ ठप्प!
सुन्नुहोस्

भक्तपुर : एक साताअघि रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले घर, बस्ती र भौतिक संरचना मात्र बगाएन, शिक्षाको उज्यालो छर्ने विद्यालयलाई पनि अँध्यारो बनाइदियो। रसुवा, धादिङ र नुवाकोटका १२ विद्यालयका विद्यार्थी, शिक्षक र विद्यालय कर्मचारी गरी २ सय ६७ जना बाढीपछि बेपत्ता हुँदा शिक्षा क्षेत्र तहसनहस छ। शिक्षा क्लस्टरले संकलन गरेको प्रारम्भिक विवरणअनुसार १८ जनालाई बाढीले बगाएको छ, जसमा १ शिक्षक र १७ विद्यार्थी छन्। त्यस्तै, बाढीपछि २ सय ४९ जना बेपत्ता छन्, जसमा १५ शिक्षक र २ सय ३३ विद्यार्थी छन्। बाढीले १० हजारको पढाइ प्रभावित भएको छ।

अधिकांश घटना बाढी उद्गम स्थल रसुवामा भएका छन्। रसुवाको उत्तरगया गाउँपालिका र गोसाइँकुण्ड गाउँपालिकाका विद्यालयबाट मात्रै २ सय ३३ जना बगेका र सम्पर्कविहीन भएका विवरण प्राप्त भएको सानोठिमीस्थित शिक्षा विभागका सूचना अधिकारी निमप्रकाश सिंह राठौर बताउँछन्। सबैभन्दा ठूलो क्षति रसुवाको उत्तरगया गाउँपालिका–५ स्थित नीलकण्ठ माध्यमिक विद्यालयमा देखिएको छ। उक्त विद्यालयका २ सय विद्यार्थी र ४ जना शिक्षक गरी २ सय ४ जना बेपत्ता भएका उनले बताए। 

त्यस्तै, रसुवाकै गोसाइँकुण्ड गाउँपालिका–५, स्याफ्रुबेँसीस्थित कोमिश्यामे वाङफेल माध्यमिक विद्यालयबाट १६ विद्यार्थी र एक शिक्षक गरी १७ जना बाढीले बगाएको विवरण छ। नुवाकोटमा रहेको चण्डेश्वरी माध्यमिक विद्यालयबाट १२ विद्यार्थी बेपत्ता र एक विद्यार्थी बाढीले बगाएको विवरणमा उल्लेख छ। 

रसुवाको उत्तरगया गाउँपालिका–१, चिप्लेटीस्थित चिप्लेटी आधारभूत विद्यालयबाट ४ विद्यार्थी बेपत्ता भएको विवरण छ। यसैगरी रसुवाकै नवविजय माध्यमिक विद्यालयबाट २ शिक्षक र एक विद्यालय कर्मचारीसहित ३ जना बेपत्ता भएको उल्लेख छ। रसुवाकै हाइल्यान्ड माध्यमिक विद्यालयबाट ६ विद्यार्थी र नेपाल राष्ट्रिय प्राविबाट ६ जना शिक्षक बेपत्ता छन्। 

यसैगरी गोसाइँकुण्ड इङ्लिस बोर्डिङ स्कुल, स्याफ्रुबेँसीबाट ९ विद्यार्थी बेपत्ता भएको बताइएको छ। धादिङमा रहेको देउराली माध्यमिक विद्यालयका एक शिक्षक, न्यु किबोउ बोर्डिङ स्कुलका एक विद्यार्थी, पल्पसामरी भञ्ज्याङ माध्यमिक विद्यालयका एक शिक्षक र पशुपति माध्यमिक विद्यालयका एक शिक्षक बेपत्ता भएको विवरणमा उल्लेख छ।

३२ विद्यालयका ९ हजार ७ सय ३२ विद्यार्थी प्रभावित

बाढीपछि ३ जिल्लाका ३२ विद्यालयमा पठनपाठन बन्द छ। ती विद्यालयमा अध्ययनरत ९ हजार ७ सय ३२ विद्यार्थी प्रभावित भएका छन्। प्रभावित भएका ३२ विद्यालयमध्ये १७ वटामा बाढीले भौतिक क्षति पु¥याएको छ भने ८ वटा विद्यालय विस्थापित नागरिकका लागि सरकारले आश्रयस्थलका रूपमा प्रयोग गरिरहेको छ। जिल्लागत विवरण हेर्दा सबैभन्दा धेरै विद्यार्थी नुवाकोटमा प्रभावित भएका छन्। नुवाकोटका १३ विद्यालयका ४ हजार २ सय ५८ विद्यार्थीको पढाइ ठप्प भएको छ। दोस्रोमा धादिङस्थित ८ विद्यालयका ३ हजार ७ सय ५ र तेस्रोमा रसुवामा रहेका ९ विद्यालयका १ हजार ७ सय ६९ विद्यार्थी प्रभावित भएका छन्।

९ विद्यालय पूर्ण क्षतिग्रस्त

बाढीले ३ जिल्लाका १७ विद्यालयमा ठूलो भौतिक क्षति पुर्‍याएको छ। तीमध्ये ९ विद्यालय पूर्ण क्षतिग्रस्त भएका र ८ विद्यालयमा आंशिक क्षति भएको जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाईहरूले जानकारी गराएका छन्। पूर्ण क्षतिग्रस्त ९ विद्यालयमा ६ वटा सामुदायिक, २ संस्थागत र एक धार्मिक विद्यालय छन्। आंशिक क्षति पुगेका ८ विद्यालयमा ३ वटा सामुदायिक र ५ संस्थागत विद्यालय रहेका शिक्षा विभागका सूचना अधिकारी निमप्रकाश सिंह राठौरले जानकारी गराए।

सूचना अधिकारी राठौरले जनाए अनुसार सर्वाधिक भौतिक क्षति नुवाकोटमा भएको छ। नुवाकोटमा ९ तथा रसुवामा ४ र धादिङमा पनि ४ विद्यालय क्षतिग्रस्त भएका छन्।

विद्यालय बने विस्थापितको आश्रयस्थल

बाढीपछि अर्को गम्भीर समस्या विद्यालय भवनलाई नै आ श्रयस्थलका रूपमा प्रयोग गर्नुपर्ने अवस्था देखिएको छ। रसुवा र नुवाकोटका ८ विद्यालयमा १ हजार २ सय ३० जना विस्थापितले आश्रय लिइरहेका छन्। ती विद्यालयमा अध्ययनरत १ हजार ३ सय ४३ विद्यार्थीको पठनपाठन ठप्प भएको छ। यस्तो अवस्थामा विद्यालय पुनः सञ्चालन गर्नु राहत व्यवस्थापनसँगै जोडिएको जटिल विषय बनेको छ।

बेपत्ता विद्यार्थीको खोजी र कक्षा फर्काउने चुनौती

बाढीपछि सबैभन्दा पहिलो प्राथमिकता अहिले पनि बेपत्ता विद्यार्थी र शिक्षकको खोजी नै हो। प्रारम्भिक विवरण थपघट हुन सक्ने शिक्षा विभागका महानिर्देशक अणप्रसाद न्यौपाने बताउँछन्। बेपत्ताको संख्या बढ्न सक्ने, त्यसैगरी अभिभावक गुमाएका विद्यार्थीको सिकाइ सुनिश्चितता चुनौती बन्न सक्ने उनले बताए। विभागले निर्देशकको नेतृत्वमा प्राविधिकसहितको विज्ञ टोली ३ जिल्लामा पठाएको बताउँदै महानिर्देशक न्यौपानेले उनीहरूले प्रतिवेदन पेस गरेपछि यकिन तथ्यांक प्राप्त हुने र आवश्यक निर्णय लिइने प्रतिक्रिया दिएका छन्।

प्रभावित जिल्लामा शिक्षक र विद्यार्थीमा परेको मानसिक असरको सम्बोधन गरेर मात्र पठनपाठनमा फर्कनुपर्ने पूर्वसचिव डा. महाश्रम शर्मा बताउँछन्। ‘त्यसपछि मात्र वैकल्पिक कक्षा सञ्चालन, पाठ्यपुस्तक तथा शैक्षिक सामग्रीको व्यवस्था, विद्यालय पुनर्निर्माण लगायतका काममा ध्यान दिनुपर्छ,’ उनको सुझाव रहेको छ। बाढीले निम्त्याएको शैक्षिक क्षतिलाई समयमै व्यवस्थापन गरी प्रभावित जिल्लाका करिब १० हजार विद्यार्थीको सिकाइ सुनिश्चित गर्न सरकार संवेदनशील हुनुपर्ने शिक्षा सरोकारवाला बताउँछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.