आफन्त अस्पताल चहार्दै, बेपत्ताको खोजी जारी

आफन्त अस्पताल चहार्दै, बेपत्ताको खोजी जारी
सुन्नुहोस्

काठमाडौं : ‘रक्षाबन्धन बाँध्न घर आउँछु’ भनेका भदा अनुज मिरदाहाको खोजीमा फुपू रञ्जिता कुमारी मिरदाहा काठमाडौंका सुनिए–जानिएका जति सबै अस्पताल धाइसकेकी छन्। तर, भदा अनुजको अवस्था अझै पत्ता लाग्न सकेको छैन। फुपू रञ्जिताका अनुसार अनुजले ‘सबै ठीक छ, रक्षाबन्धनमा घर आउँछु’ भनेर वचन दिएका थिए। तर, भोटेकोशीको बाढीपछि अनुज बेपत्ता छन्। ‘त्रिशूलीमा पनि खोज्न गएँ, तर त्यहाँ पनि भेटिएन। सास र लासको खोजीमा सबै अस्पताल पुगेँ, कहीँ भेटिएको छैन,’ रञ्जिताले दुःखेसो पोखिन्।

‘चिन्ता नलिनु, साँझतिर फर्किन्छु’– सिन्धुपाल्चोकका आयुष तामाङले दाजु नखवीर तामाङलाई भोटेकोशीमा बाढी आउनुअघि करिब ८ः३० बजेतिर फोन गरेका थिए। तर, केहीबेरमै आएको बाढीले उनको घर जाने सपना पूरा हुन दिएन। ड्राइभर पेसा गरेर आफ्नो र परिवारको दैनिकी चलाइरहेका आयुषको परिवार यतिबेला घरको बलियो खम्बा गुमाउनुपर्दा शोकमा छ। २२ वर्षीय आयुष सकुशल भेटिने आसमा उनका ४० वर्षीय दाजु नखवीर राजधानीका अस्पतालहरूमा भाइको तस्बिर बोकेर करिब एक सातादेखि भौंतारिइरहेका छन्। ‘कि सास दे, कि लास दे,’ उनले सरकारसँग माग गरिरहेका छन्।

गोरखाकी करुणा अधिकारी कार्की शुक्रबार आउने बाचा गरेर गएका आफ्ना ३८ वर्षीय श्रीमान्को खोजीमा महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेकी छन्। घटना भएको थाहा पाउनेबित्तिकैदेखि श्रीमान्को खोजीमा लागेकी उनी उद्धार गरेर ल्याइएका हरेक अस्पतालका शवगृह र शय्यासम्म पुगेको बताउँछिन्। ‘उहाँ सोमबार गाडी लिएर जानुहुन्थ्यो। सधैं जाने बेला शुक्रबार आउँछु भनेर जाने र शुक्रबार नै आउनुहुन्थ्यो। तर, यसपालि जाँदा बाढी आएपछि सम्पर्कविहीन हुनुहुन्छ,’ उनले भनिन्। अहिले आफू र आफ्ना सम्पूर्ण आफन्त तथा नातागोता मिलेर सबैतिर खोजी गरिरहेको उनले बताइन्।

त्रिवि शिक्षण अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराका अनुसार दिउँसो करिब २ बजेसम्म ल्याइएका १ सय ६१ वटा शवमध्ये १३ वटाको मात्र पहिचान भएको छ। ‘बाढीको तीव्र बेगका साथै पानी र बालुवामा धेरै दिन पुरिँदा शवहरूमा शरीरका सबै भाग छैनन्। त्यसले गर्दा पहिचान र डीएनए परीक्षण गर्न कठिन भएको छ,’ उनले भने। 

रोस्याराका अनुसार पहिचान भएका शवहरू शरीरमा देखिएका ट्याटु र डीएनए रिपोर्टका आधारमा परिवारलाई बुझाएर व्यवस्थापन गरिएको छ। उनले उपचाररत अवस्थामा ३६ जना रहेको बताउँदै केहीको शारीरिक अवस्था ठीकै भए पनि यस घटनाले उनीहरूको मानसिक स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने भएकाले त्यसका लागि विशेष टोली बनाएर काम अगाडि बढाएको जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.