विपद्मा खेलकुद क्षेत्रको साथ: भोटेकोशी बाढीपीडितका लागि नेपाली खेलकुदका संघ–संस्थाको हातेमालो

विपद्मा खेलकुद क्षेत्रको साथ: भोटेकोशी बाढीपीडितका लागि नेपाली खेलकुदका संघ–संस्थाको हातेमालो
सुन्नुहोस्

काठमाडौं : रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनाका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाली खेलकुद क्षेत्रबाट पनि सहयोग जुट्न थालेको छ। राष्ट्रिय खेलकुद संघदेखि विभिन्न जिल्ला संघ, क्लब तथा प्रतियोगिता आयोजकसम्मले आफ्नो क्षमता र गच्छेअनुसार आर्थिक तथा भौतिक सहयोग गरिरहेका छन्।

सरकारले भोटेकोशी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखालगायतका नदी तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएपछि राहत, उद्धार तथा दीर्घकालीन पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा सहयोग गर्न सार्वजनिक अपिल गरेको थियो। सरकारको यही अपिलपछि खेलकुद क्षेत्रबाट सहयोग गर्ने क्रम पनि अघि बढेको हो। हालसम्म नेपाल क्रिकेट संघ (क्यान), नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (आईटीएफ), नेपाल भलिबल संघ, सहारा क्लब पोखरा, युनाइटेड क्लब पोखरा तथा चितवनका विभिन्न खेलकुद संघसंस्थाले बाढीपीडितका लागि सहयोग गरेका छन्। 

क्यानको ३० लाख सहयोग

बाढीपीडितका लागि खेलकुद क्षेत्रबाट सार्वजनिक भएको ठूलो संस्थागत सहयोगमध्ये नेपाल क्रिकेट संघ (क्यान) को ३० लाख रुपैयाँ हो। क्यानले भोटेकोशी बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत, उद्धार र पुनर्स्थापनाका लागि ३० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो। क्यानका सचिव पारस खड्काले विज्ञप्तिमार्फत संघका तर्फबाट उक्त सहयोग गर्ने निर्णय भएको जानकारी दिएका थिए। प्राकृतिक विपद्बाट प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै क्यानले उद्धार, राहत तथा पुनर्स्थापनाका काममा आवश्यक सहयोग र सहकार्यका लागि आफूहरू प्रतिबद्ध रहेको जनाएको छ।

क्यानको सहयोगसँगै नेपाली क्रिकेट क्षेत्रबाट व्यक्तिगत रूपमा पनि सहयोगको घोषणा भएको छ। राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको पारिश्रमिक बापतको एक लाख २० हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका थिए। उनले एसीसी प्रिमियर कप अवधिभर नेपालले लिने प्रत्येक विकेट तथा नेपाली टोलीले प्रहार गर्ने प्रत्येक चौका र छक्काबापत एक हजार ५०० रुपैयाँका दरले थप सहयोग गर्ने घोषणा पनि गरेका छन्। 

भलिबल संघको ५ लाख सहयोग

नेपाल भलिबल संघले पनि रसुवाको भोटेकोशी बाढीपीडितका लागि पाँच लाख एक हजार एक सय ११ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। संघको गत सोमबार बसेको बैठकले सो निर्णय गरेको हो। उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ। यो कठिन परिस्थितिमा नेपालको भलिबल परिवार सबैको साथमा रहेको अनुभूति दिलाउन सहयोग गरेको संघले जनाएको छ।

आईटीएफको सहयोग

नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (आईटीएफ) ले पनि भोटेकोशी बाढीपीडितका लागि एक लाख रुपैयाँ सहयोग गरेको छ। महासंघको भदौ १३ गते बसेको पदाधिकारी बैठकको निर्णयअनुसार उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो। बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले महासंघले रकम प्रदान गरेको जनाएको छ।

यसले तेक्वान्दोजस्तो मार्सल आटर््सको क्षेत्रमा पनि खेलकुदलाई सामाजिक उत्तरदायित्वसँग जोड्ने प्रयास भइरहेको देखाएको छ। 

भलिबल लिगले टिकटको रकम दिने

नेपाल भलिबल लिग (एनभीएल) ले भने प्रत्यक्ष रूपमा निश्चित रकम तोकेरभन्दा फरक शैलीमा सहयोग गर्ने घोषणा गरेको छ। लिगको पहिलो दिनको खेलको टिकट बिक्रीबाट प्राप्त हुने सम्पूर्ण रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने घोषणा गरिएको छ। एनभीएलका प्रमुख सञ्चालन अधिकृत विकास खेतानले उद्धार, उपचार तथा पुनर्स्थापनाका लागि खेलकुद क्षेत्रबाट आफ्नो तर्फबाट सहयोगस्वरूप पहिलो दिनको टिकट बिक्रीको सम्पूर्ण रकम प्रदान गर्ने प्रतिबद्धता जनाएका हुन्। टिकट बिक्रीबाट कति रकम संकलन हुन्छ भन्ने कुरा खेलको दर्शक उपस्थिति र टिकट बिक्रीमा निर्भर हुने भएकाले हाल यसको निश्चित रकम सार्वजनिक भएको छैन। यो पहलले खेल हेर्न आउने दर्शकलाई समेत राहत अभियानमा सहभागी गराउने बाटो खोलेको छ। अर्थात् दर्शकले खेल हेर्न टिकट खरिद गर्दा त्यसको रकमको एक हिस्सा होइन, पहिलो दिनको टिकट बिक्रीबाट प्राप्त सम्पूर्ण रकम नै राहत कोषमा जाने व्यवस्था गरिएको छ।

चितवनका खेलकुद संघ–संस्थाबाट २ लाखभन्दा बढी

चितवनमा भने विभिन्न खेलका संघसंस्थाले सामूहिक रूपमा सहयोग जुटाएका छन्। चितवन जिल्ला खेलकुद विकास समितिको अगुवाइमा जिल्लाका विभिन्न खेलकुद संघसंस्थाबाट दुई लाख सात हजार एक सय ६० रुपैयाँ संकलन भएको जनाइएको छ। यो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नगद जम्मा गर्नेभन्दा पनि तत्काल आवश्यक लत्ताकपडा खरिद गरी बाढी प्रभावित क्षेत्रमा पुर्‍याउने निर्णय गरिएको छ।

यस अभियानमा चितवन जिल्ला खेलकुद विकास समितिले ५० हजार, चितवन जिल्ला ब्याडमिन्टन संघले २९ हजार ५ रुपैयाँ, तेक्वान्दो संघले २५ हजार, क्रिकेट संघले २० हजार, भलिबल संघले २० हजार र एथलेटिक्स संघले १८ हजार रुपैयाँ सहयोग गरेका छन्। यस्तै मुवाथाई संघले १५ हजार एक सय ५५, कबड्डी संघले १० हजार, सितोरियो कराते संघले १० हजार तथा सितोरियो सोबुकान कराते संघले पाँच हजार रुपैयाँ सहयोग गरेका छन्। तेक्वान्दो संघका अध्यक्ष शैलेश श्रेष्ठले आफ्नो जन्मदिनको अवसरमा व्यक्तिगत रूपमा थप पाँच हजार रुपैयाँ सहयोग गरेका छन्।

सहारा र युनाइटेड क्लब पनि राहतमा

खेलकुद तथा सामाजिक सेवामा सक्रिय सहारा क्लब पोखराले भोटेकोशी तथा रसुवा क्षेत्रका बाढीपीडितका लागि एक लाख ५० हजार ६ सय ४२ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरेको छ। क्लबले आफ्नोतर्फबाट ५० हजार रुपैयाँ र पदाधिकारी तथा सदस्यहरूबाट संकलित एक लाख ६ सय ४२ रुपैयाँ गरी उक्त रकम जम्मा गरेको हो। कुल ३१ जना सदस्यबाट रकम संकलन गरिएको क्लबले जनाएको छ।

सहारा क्लबले खेलकुदसँगै सामाजिक सेवामा पनि लामो समयदेखि काम गर्दै आएको छ। क्लबले सञ्चालन गरिरहेको सहारा एकेडेमीमा विभिन्न जिल्लाका बालकलाई आवासीय सुविधासहित फुटबल प्रशिक्षण दिँदै आएको छ। प्राकृतिक विपद्का बेला खेलकुद संस्था सामाजिक सेवामा पनि सक्रिय हुनुपर्ने मान्यताअनुसार क्लबले राहत अभियानमा हातेमालो गरेको हो।

यस्तै, पोखराकै युनाइटेड क्लब पोखराले पनि भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एक लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ। क्लबले सरकारको एकद्वार प्रणालीअनुसार सहयोग रकम कोषमा जम्मा गरेको जनाएको छ।

केल्मीको १५ लाख सहयोग

खेलकुद पोसाक तथा सामग्री उत्पादक ब्रान्ड केल्मी नेपालले भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि राहत तथा सहयोग कार्यक्रमको घोषणा गरेको छ। केल्मी नेपालले बाढी, पहिरो तथा प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री दैवीप्रकोप उद्धार तथा राहत कोषमा १५ लाख पाँच हजार पाँच ५५ रुपैयाँ जम्मा गरिसकेको जनाएको छ। यसैगरी कम्पनीले आगामी १५ दिनभित्र रसुवा र नुवाकोटमा करिब डेढ करोड रुपैयाँबराबरका नयाँ कपडा समावेश गरी ‘क्लोथ बैंक’ सञ्चालन गर्ने जनाएको छ। क्लोथ बैंकमार्फत उपलब्ध गराइने नयाँ कपडा रसुवा र नुवाकोटका विपद् प्रभावित नागरिकलाई पूर्ण रूपमा निःशुल्क वितरण गरिनेछ। राहत सामग्री प्रत्यक्ष रूपमा वितरण गर्नुको सट्टा नेपाल सरकारले तयार पारेको प्रभावित व्यक्ति तथा परिवारको आधिकारिक सूचीका आधारमा वास्तविक पीडितसम्म सहयोग पुर्‍याउने व्यवस्था मिलाइने कम्पनीले जनाएको छ।

खेलकुदको सहयोग : रकमभन्दा ठूलो सन्देश

भोटेकोशी बाढीपछि सार्वजनिक रूपमा देखिएको खेलकुद क्षेत्रको सहयोगलाई हेर्दा क्रिकेट, तेक्वान्दो, भलिबल, फुटबलसँग जोडिएका क्लब तथा विभिन्न खेलका जिल्ला संघहरू विपद्को समयमा सामाजिक जिम्मेवारी निर्वाह गर्न अघि बढेको छ। खेलकुद क्षेत्रको योगदानलाई केवल आर्थिक रकममा मात्र सीमित गरेर हेर्न मिल्दैन। कतिपय संस्थाले नगद सहयोग गरेका छन् भने कतिपयले टिकट बिक्री, राहत सामग्री तथा सदस्यहरूबाट रकम संकलन गरेर प्रभावितसम्म सहयोग पुर्‍याउने बाटो रोजेका छन्। खेल मैदानमा प्रतिस्पर्धा गर्ने खेलाडी र संघसंस्था विपद्को समयमा मानवीय सेवाका लागि एक ठाउँमा उभिनुले खेलकुदको अर्को महत्वपूर्ण पक्ष, एकता, अनुशासन, सहकार्य र सामाजिक उत्तरदायित्व पनि उजागर गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.