१० मिनेटमै उजाडियो त्रिशूलीबजार

१० मिनेटमै उजाडियो त्रिशूलीबजार
सुन्नुहोस्

नुवाकोट : भदौ १० गते बुधबार बिहान १० बजेको समय अरू दिनजस्तै सामान्य र नियमित थियो। मानिसहरू आआफ्नो दैनिक कामधन्दा, खाना पकाउने र विद्यालय जाने तयारीमा व्यस्त थिए। तर, एकाएक चीनको स्वशासित क्षेत्रबाट भोटेकोशी हुँदै रसुवागढी नाका भएर आएको अकल्पनीय र विनाशकारी बाढीले नुवाकोट जिल्लाका प्रमुख व्यापारिक तथा ऐतिहासिक बस्तीहरूलाई क्षणभरमै खण्डहरमा परिणत गरिदियो। केवल १० मिनेटको छोटो समयभित्रै शताब्दीऔं पुरानो ऐतिहासिक त्रिशूलीबजार र आसपासका क्षेत्रहरू सखाप बने।

ऐतिहासिक पहिचानको विनाश

त्रिशूली अर्थात् साँगुरो बजारका नामले परिचित यो क्षेत्र नेपालको इतिहाससँग प्रत्यक्ष रूपमा जोडिएको छ। सदियौं पहिले काठमाडौंबाट नुवाकोट, धादिङ, गोरखा हुँदै पाल्पासम्म पैदल तथा घोडामार्फत जाने मुख्य व्यापारिक तथा प्रशासनिक मार्ग यही बजार भएर जान्थ्यो। राजा पृथ्वीनारायण शाहले वि.सं. १८०१ मा नेपाल एकीकरणको समयमा गोरखाबाट धादिङ हुँदै त्रिशूली नदी तरेर नुवाकोट टाकुरोमा आक्रमण गरी विजय प्राप्त गरेका थिए। त्यसैगरी राणा प्रधानमन्त्री जंगबहादुर राणाले त्रिशूलीकै तत्कालीन पुलबाट घोडासहित हामफालेको किंवदन्ती अझै पनि स्थानीयमाझ जीवन्त छ।

व्यापारिक हिसाबले अधिकांश नेवार समुदाय र अन्य मिश्रित जातजातिको बसोबास रहेको यस बजारमा साना–ठूला गरी करिब १ हजार घर थिए। तर, भदौ १० गतेको लेदो र भीषण बहावसहितको बाढीले ९० प्रतिशत संरचना ध्वस्त पारेको छ। हाल माथिल्लो भेगका करिब १० प्रतिशत घरहरू सग्लो देखिए पनि ती घर बस्नका लागि पूर्णरूपमा अनुपयुक्त र जोखिमयुक्त छन्।

स्थानीय पीडित केशवबहादुर श्रेष्ठका अनुसार बाढीले उहाँको दुईतले घर पूर्ण रूपमा पुरेको छ। बिहान १० बजे घरमै बाढीको चपेटामा पर्नुभएका श्रेष्ठलाई बेलुकी ४ बजे जेसीबीको सहयोगमा अन्य १० जनासहित जीवितै उद्धार गरिएको थियो। ‘नुवाकोटको पहिचान र इतिहास बोकेको बजार १० मिनेटमै समाप्त भयो, अब यो बजार कहिल्यै अघिल्लेजस्तै उठ्न सक्दैन,’ श्रेष्ठले भावुक हुँदै भने।

विस्थापित, बेपत्ता र भौतिक क्षति

बाढीले पुर्‍याएको क्षतिको विवरण अत्यन्तै भयावह छ। बजारका अधिकांश घरहरूको जग र निशानासमेत बाँकी छैन। खाना खाइरहेको तथा काममा व्यस्त रहेको समयमा अचानक बाढी आएकाले धेरै मानिसहरू भाग्न पाएनन्। हालसम्म त्रिशूलीबजार क्षेत्रबाट मात्रै ७० जनाभन्दा बढी मानिसहरू बेपत्ता छन्, जसको खोजी कार्य अझै जारी छ। भौतिक पूर्वाधारतर्फ, त्रिशूलीबजार र पारि ढुंगेबजार जोड्ने दुईवटा पक्की मोटरेबल पुलहरू बाढीले मिनेटभरमै ढालेर बगाएपछि सडक सम्पर्क पूर्णरूपमा विच्छेद भएको छ। प्रभावित क्षेत्रमा राहत सामग्री पुर्‍याउन र आवतजावतका लागि ५०० मिटर माथि तुइन गाडेर प्रयास भइरहेको छ।

नेपाल सरकारका सम्बद्ध निकायहरूले सार्वजनिक गरेको प्रारम्भिक तथ्यांकअनुसार बाढीले करिब ८ सय घर बगाएको छ। तर, स्थानीयबासीका अनुसार वास्तविक क्षति त्योभन्दा धेरै गुणा बढी छ; दुई हजारभन्दा बढी घरटहरा बाढीको भेटिएका छन्। बाढी आएको आठौं दिन भदौ १७ गतेसम्म पनि बेपत्ताहरूको खोजी, उद्धार तथा राहत वितरणको प्रयास जारी छ। बाँचिसकेका पीडितहरू आफ्ना बगेका घरका निशाना खोज्दै, माटो र लेदो कोट्याउँदै सामान वा सम्झनाका अवशेष भेटिन्छन् कि भनेर टोलाइरहेका भेटिन्छन्।

बाढीको भंगालोभित्र ६ जनाको चमत्कारिक जीवनरक्षा
विनाशको यस भयावह दृश्यका बीच विदुर नगरपालिका–१ ढुंगेबजारमा भने एउटा अनौठो र चमत्कारिक घटना घट्यो। चारैतिरका भौतिक संरचना, पसल र टहराहरू बाढीले ढालेर लैजाँदासमेत एकै परिवारका ५ जना र एक छिमेकी गरी ६ जनाले मृत्युलाई जित्न सफल भए। ढुंगेबजारमा छत्रबहादुर प्याकुरेल र उहाँको परिवारले मेसिनरी मर्मत तथा पसल सञ्चालन गर्दै आएका थिए। भदौ १० गते बिहान ४२ वर्षकी लक्ष्मी प्याकुरेल, उहाँका श्रीमान् प्रकाश, ११ वर्षकी छोरी प्रदीशा, सासु भक्तकुमारी र ससुरा छत्रबहादुर घरमै हुनुहुन्थ्यो। नाति प्रयान भने बाढी आउनुभन्दा १५ मिनेटअघि मात्रै बट्टारस्थित विद्यालयतर्फ लागिसकेका थिए।

अचानक बाहिर मानिसहरूको चिच्याहट र ‘बाढी आयो, बाढी!’ भन्ने हल्ला सुनियो। लक्ष्मीले सुरुमा सासूलाई लिएर बाहिर भाग्ने कोसिस गरिन्, तर बाहिर लेदो बाढीको बहाव यति तीव्र भइसकेको थियो कि बाहिर निस्कनु झन् ज्यान जाने जोखिम बन्यो। त्यसैले लक्ष्मी र प्रकाशले आमालाई रोकेर घरभित्रै सुरक्षित रहने निर्णय गरे। त्यही समयमा छिमेकमा मेसिनरी मर्मत व्यवसाय गर्ने शालिकराम अर्याल पनि दौडँदै प्याकुरेलको घरभित्र शरण लिन आइपुगे।

चारतले घरको तेस्रो तलासम्म पानी

त्रिशूली नदीमा उर्लिएको भीमाकार बाढीले प्याकुरेलको चारतले घरलाई चारैतिरबाट घेर्‍यो। बाढीको बेग यति प्रचण्ड थियो कि त्यसले ठूला–ठूला ढुंगा, गेग्रान, गाडी र अन्य सामानहरू बगाएर ल्याइरहेको थियो। ढुंगाहरू ठोक्किँदा घर नै हल्लिएर भूकम्पको जस्तै तीव्र धक्का महसुस भइरहेको थियो।

देख्दादेख्दै प्याकुरेलको घरको पहिलो, दोस्रो र तेस्रो तलासम्म बाढीको धमिलो पानी र लेदोले भरियो। घरभित्र रहेका ६ जना मानिस ज्यान जोगाउन चौथो तलाको बरन्डामा उक्लिए। तल झर्ने वा बाहिर भाग्ने कुनै बाटो बाँकी थिएन। उनीहरूका अगाडि आफ्नै आँखाअगाडि छिमेकीका घरहरू, टहराहरू र पसलहरू एकपछि अर्को गर्दै बाढीमा बिलाइरहेका थिए।

बरन्डामा उभिएर उनीहरू रुन र चिच्याउनबाहेक केही गर्न सक्दैनथे। लक्ष्मीले आफन्तहरूलाई फोन गरेर उद्धारका लागि गुहार्न खोजिन्, तर मोबाइल नेटवर्क कमजोर भएकाले कुराकानी हुन सकेन। ‘यदि मर्नुपर्छ भने सबै परिवार सँगै मरौँला,’ भन्ने हिम्मत जुटाउँदै लक्ष्मीले भगवान्को पुकारा गरिरहिन्। तर, उनीहरूलाई बट्टार गएका ससाना छोरा प्रयानको चिन्ताले बढी सताइरहेको थियो।

बाँस र डोरीको सहारामा उद्धार

करिब एक घण्टासम्म भीषण बाढीको माझमा घर अडिएर रह्यो। चारैतिरका संरचना ढल्दा पनि प्याकुरेलको घर नलडिकन अडिग रहनु आफैंमा ठूलो चमत्कार थियो। एक घण्टापछि बाढीको बहाव र पानीको सतह केही घट्न थाल्यो, जसले उनीहरूमा आशाको किरण जगायो।

आकाशमा हेलिकप्टरहरू उडिरहेका भए पनि तत्कालको जोखिम टार्न स्थानीय बासिन्दा, आफन्त र युवाहरूले आफ्नै ज्यानको बाजी थापेर उद्धारको प्रयास सुरु गरे। बाढीले घरको भान्छा रहेको एकातिरको भाग फुटाएको थियो। उद्धारकर्ताहरूले काठ र बाँसको भर्‍याङ, पाइप र डोरीको प्रयोग गरी चौथो तलामा अड्किएका ६ जनालाई एक–एक गरी सकुशल बाहिर निकाले।

उद्धार गरिएका शालिकराम अर्यालले भावुक हुँदै भने, ‘हामीले नयाँ जीवन पायौं। वरपरका सबै घर बगे, तर हामी उभिएको घर नढल्नु र छिमेकीहरूले समयमै देखाएको तत्परताले गर्दा आज हामी जीवित छौं। यो गुन हामी जीवनभर तिर्न सक्दैनौं।’उद्धारपछि परिवारको भेटघाट बट्टारमा सुरक्षित रहेका नाति प्रयानसँग भयो। आफ्ना सबै धनसम्पत्ति र छरछिमेकको संसार बाढीले मेटिदिए पनि ज्यान जोगिएकोमा प्याकुरेल परिवारले यसलाई ईश्वरको कृपा र चमत्कार मानेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.