बाढीको कहर: धादिङमा १० जनाको शव पहिचान

बाढीको कहर: धादिङमा १० जनाको शव पहिचान
सुन्नुहोस्

धादिङ: रसुवाको भोटेकोसीमा आएको बाढीमा परेर बेपत्ता भएका धादिङका १० जनाको शव पहिचान भएको छ । गोसाइँकुण्ड जाने क्रममा एउटै बसमा रहेका २६ जनामध्ये नीलकण्ठ नगरपालिका र सिद्धलेक गाउँपालिकाका १० जनाको शव पहिचान भएको हो । 

नीलकण्ठ नगरपालिका–१२ का दयाराम लम्साल, सीता लम्साल, प्रकाश लम्साल, इन्दिरा अर्याल लम्साल, रामचन्द्र खनाल तथा नीलकण्ठ–९ की गायत्री लम्सालको शव पहिचान भएको छ ।

गायत्री लम्सालको शव पहिचानपछि सोमबार धादिङबेसीस्थित आँसीखोला दोभानमा अन्तिम दाहसंस्कार गरिएको छ । अन्य पाँच जनाको शव बुधबार काठमाडौंस्थित शिक्षण अस्पतालमा पहिचान भएपछि पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गर्ने तयारी रहेको अस्पतालबाट हाम्रा सहकर्मी मनिष दुवाडीले जानकारी दिएका छन् ।

त्यसैगरी बाढीपछि सम्पर्कविहीन रहेका सिद्धलेकका हरिप्रसाद सिलवाल, विन्दादेवी सिलवाल, घनश्याम भट्ट र कल्पना भट्टको शव पनि शिक्षण अस्पतालबाट पहिचान भएको छ । पारिवारिक स्रोतका अनुसार हरिप्रसाद र विन्दादेवी सिलवालको शव बुधबारै च्याडुदोभानमा अन्तिम दाहसंस्कार गर्ने तयारी गरिएको छ । घनश्याम र कल्पना भट्टको भने काठमाडौंस्थित पशुपति आर्यघाटमा दाहसंस्कार गर्ने तयारी छ ।

पाँच स्थानमा सडक भासियो

बाढीका कारण राजधानी जोड्ने नागढुंगा–मुग्लिन सडकखण्डमा समेत ठूलो क्षति पुगेको छ । त्रिशूली नदीको कटानका कारण सडकखण्डका विभिन्न पाँच स्थानमा सडक भासिएको नागढुंगा–मुग्लिन सडक आयोजनाले जनाएको छ । आयोजना पूर्वी खण्डका इन्जिनियर राजीव मानन्धरका अनुसार नागढुंगा चेकपोस्टदेखि करिब ७०० मिटर तल पातलेबनमा सडक भासिएको छ । उक्त स्थानमा मोटरसाइकल र पेट्रोलियम पदार्थ बोकेका गाडीलाई मात्र सञ्चालन गर्न दिइएको छ भने अन्य सवारीसाधनलाई सुरुङमार्गबाट पठाउने तयारी भइरहेको छ ।

मलेखुबाट करिब तीन किलोमिटर मुग्लिनतर्फ पर्ने सीतलबजारमा करिब ५० मिटर, मलेखु पुलबाट करिब एक किलोमिटर काठमाडौंंतर्फ पर्ने परेवाभीरमा करिब १०० मिटर र चालीसेनजिक करिब ४० मिटर सडक भासिएको आयोजनाले जनाएको छ ।

सडकखण्डमा सबैभन्दा ठूलो क्षति कृष्णभीरमा भएको छ । मुग्लिनबाट करिब २३ किलोमिटर काठमाडौंंतर्फ पर्ने कृष्णभिरमा करिब २०० मिटर सडक भासिएको छ । सडकको माथिल्लो भागको डाँडासमेत चिरिएको आयोजनाले जनाएको छ ।

नागढुंगा–मुग्लिन सडक आयोजना पश्चिम खण्डकी आयोजना प्रमुख सजना अधिकारीका अनुसार कृष्णभीरमा तत्काल मर्मत गरेर यातायात सञ्चालन गर्न सकिने अवस्था छैन । थप क्षति हुन नदिन प्राविधिक अध्ययन तथा आवश्यक व्यवस्थापनको काम भइरहेको उनले बताइन् ।

इन्जिनियर मानन्धरका अनुसार त्रिशूली नदीले कृष्णभीरलगायतका स्थानमा सडकको फेद कटान गरिरहेको छ । गेग्रानसहित आएको बाढीले नदी किनारमा लगाइएको रिटेनिङ वालसमेत बगाएको छ ।‘ठूलो बाढीले नदीको धार परिवर्तन गर्दा सडकका विभिन्न भागमा क्षति पुगेको हो । अहिले पनि पानीको बहावले सडकको फेदमा कटान गरिरहेको छ,’ मानन्धरले भने । नदीको बहाव र सतहमा उतारचढाव भइरहेकाले कमजोर भूभागमा थप कटानको जोखिम रहेको आयोजनाले जनाएको छ । क्षतिग्रस्तमध्ये सीतलबजारमा सडकको भित्तो काटेर यातायात सञ्चालन गर्ने तयारी भइरहेको छ । परेवाभीरमा भने सडकको नदीतर्फको ठूलो भाग भासिएपछि एकतर्फी यातायात सञ्चालनमा आएको छ ।

कृष्णभिरमा तत्काल यातायात सञ्चालन गर्न कठिन देखिएपछि आयोजनाले वैकल्पिक मार्गको खोजी थालेको जनाएको छ । गोरखा क्षेत्रबाट राजधानी जोड्ने सम्भावित वैकल्पिक सडक पहिचान गरी आवश्यक मर्मतसम्भारपछि सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।

राजधानी जोड्ने प्रमुख सडकका रूपमा रहेको यस खण्डमा दैनिक करिब १४ हजार सवारीसाधन आवतजावत गर्दै आएका थिए । सडकमा क्षति पुगेपछि यात्रु आवागमनसँगै ढुवानी र दैनिक उपभोग्य वस्तुको आपूर्तिमा समेत असर पर्ने देखिएको छ ।

समाचार प्रभाव : १०२ एम्बुलेन्स सेवा पुनः सञ्चालन
यसैबीच आपतकालीन एम्बुलेन्स सेवाका लागि प्रयोग हुने १०२ नम्बर पुनः सञ्चालनमा आएको छ ।१०२ नम्बर लामो समयदेखि सञ्चालनमा नरहेको विषयमा समाचार प्रकाशित भएपछि सम्बन्धित निकायको पहलमा सेवा पुनः सञ्चालनमा आएको हो ।

नेपाल टेलिकमलगायतका सञ्चार सेवामा समस्या हुँदा आपतकालीन अवस्थामा सहयोग माग्न कठिन भइरहेको तथा बिरामी र घाइतेलाई अस्पताल पुर्‍याउनुपर्ने अवस्थामा १०२ नम्बरमा सम्पर्क हुन नसकेको स्थानीयले गुनासो गर्दै आएका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.