पुस्तान्तरण खोज्दै लाखे संस्कृति
भोजपुर : दशक अघिसम्म ‘लाखेजात्रा’ भन्नेबितिक्कै गाउँगाउँबाट मानिसहरू भोजपुर बजार, दाँवाबजार, चम्पेबजार, दिङ्लाबजार आउँथे। लाखेनाँचको छुट्टै रौनक थियो। ती स्थानहरूमा बाक्लो घुइँचो लाग्थ्यो। डबलीबजार, टक्सार र भोजपुरबजार भनेपछि केटाकेटीदेखि बुढाबुढीसम्म घन्टौं हिँडेरै लाखेजात्रा हेर्न आउँथे। पछिल्ला केही वर्षयता भने धेरैजसो नेवार समुदाय बसाइँसराइ, विदेश पलायनले जात्राको रौनक सेलाउँदै गयो।
सांस्कृतिक पर्व लाखेनाँच र लाखेजात्राको संरक्षण सम्बद्र्धनमा भोजपुरका नेवार समुदाय जुट्न थालेका छन्। लाखे हेर्ने भीडभाडमा खुट्टा राख्ने ठाउँसमेत नहुने भोजपुरमा पछिल्ला वर्षहरूमा सेलाएको थियो। विशेषगरी नेवार समुदायको सांस्कृतिक महत्त्व बोकेको लाखे सँस्कृति अग्रज बुढापाका नहुनु, स्थानीय अग्रजहरू बसाइँ जानु र युवापुस्तालाई चासो नहुनुले ओझेलमा परेको भोजपुर नगरपालिका ७, चाँदनीचोकका बिनम श्रेष्ठ बताउँछन्।
‘हाम्रो लाखे संस्कृति ओझेलमा पर्नुको कारण आफ्नै कमीकमजोरीले हो, चासो नहुनाले हो, संस्कृति संरक्षणप्रति बेवास्ताले हो’, उनले भने, ‘यसका
जगेर्नाका लागि अग्रजहरूको पथप्रदर्शन र अगुवाई तथा पछिल्लो पुस्तामा संरक्षण सम्बद्र्धन गर्ने कुरामा जागरुक हुन जरुरी देखिन्छ।’ युवा जनशक्तिको कमी र पश्चिमा सँस्कृतिको बढ्दो मोहसंगै भोजपुरको नेवार समुदायको सांस्कृतिक पर्व लाखेजात्राको रौनक घट्दै गइरहेको छ। युवापिँढीमा सँस्कृति जगेर्नाप्रति चासो कमी हुनाले लाखेजात्रा ओझेल परेको हो।
मूलतः दशक लामो सशस्त्र द्वन्द्वले यहाँका कतिपय स्थानीय नेवार समुदाय पलायन हुनु र पछिल्ला पिँढीका युवापुस्ताको चासो नदिएका कारण यो सांस्कृतिक पर्व ओझेलमा पर्दै गएको छ। आफ्नो संस्कृतिलाई जोगाईराख्नुभन्दा पनि आधुनिक चलनचल्तीका संस्कारले पनि लाखे संस्कृतिको चहलपहल घटेको स्थानीय नेवार अग्रजहरू गुनासो गर्छन्। ‘हाम्रा संस्कृति हाम्रा सम्पत्ति हुन्, धरोहर हुन्, यो संस्कृतिलाई निरन्तर अघि बढाउन नयाँपुस्तामा तालिमसहितका सांस्कृतिक बाध्यवादनको जगेर्ना गर्नुपर्दछ’ भोजपुर टक्सारका स्थानीय प्रेम शाक्य बताउँछन्।
साउनको नागपञ्चमीदेखी श्रीकृष्ण रथयात्रासम्म स्थानीय नेवार समुदायले धुमधामका साथ लाखेजात्रा निकालिन्छ। नेवारी समुदायको प्रचलित गठेमंगल, गाईजात्रा, श्रीकृष्ण रथयात्रा, रोपाइँजात्रा, हिलेजात्रा, सैनिकजात्रा निकालिने गरिन्छ। विगतका वर्षमा झैं यो वर्ष पनि लाखे नचाउँदै नगर परिक्रमा गर्ने, विविध परम्परागत भेषभूषा र चरित्रमा लाखेजात्रा देखाइने गरिएको नेपाल भाषा मंका खलः भोजपुरका प्रतिनिधि गणेश प्रधानले बताए।
लाखेजात्राको महत्त्वलाई पुस्तान्तरण गर्न लाखे संस्कृतिलाई जगेर्ना गर्न लागि पर्नुपर्ने सरोकारवालाहरू सुनाउँछन्। यसरी लाखेजात्राको रौनक घट्नु एकातिर र आफ्नो परम्परा र संस्कृति जगेर्नामा पनि ध्यान नदिनु अर्कोतिरको कारणले स्थानीय सांस्कृतिक परम्परा धराशायी बन्दै गएको भोजपुर टक्सारका नेवार संस्कृतविद् अम्रिका ताम्राकार सुनाउँछन्।
‘हाम्रा परम्पराको संरक्षण र सम्बद्र्धनमा सम्पूर्ण नेवार समुदायको महत्त्वपूर्ण भूमिका रहन्छ, संस्कृति जगेर्नाको आत्मानुभूति हुनुपर्यो, पश्चिमा शैलीका नाँच र बाध्यबादनले मात्रै लाखेनाँच हुँदैन, एकजनाले मात्रै संस्कृति जगेर्ना हुँदैन’ ताम्राकारले थप्छन्,‘परम्परा, संस्कृतिलाई पुस्तान्तरण गर्न सकिए, नेवारी संस्कारको संरक्षण र प्रबद्र्धन गर्न सकिए मात्रै लाखे संस्कृतिको अस्तित्वलाई सार्थकता दिन सकिन्छ’
शताब्दी अघिदेखि नै भोजपुर बजारमा साउन÷भदौको नागपञ्चमीदेखि श्रीकृष्ण रथयात्रासम्म धुमधामका साथ लाखेजात्रा निकाल्ने गरिन्छ। दशक पहिलेसम्म दुर्गम गाउँ–गाउँबाट मानिसहरू लाखेजात्रा हेर्न हप्तौं लगाएर सदरमुकाम आउने गर्थे। तर बढ्दो आधुनिकतावाद र विदेशी संस्कार र संस्कृति प्रतिको लगावले लाखेजात्रामा पहिले जस्तो रौनक हुन छाडेको छ।
भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूप्रति समर्पित गाईजात्रा
सदाभन्दा यो वर्ष भोजपुरमा भने फरक ढंगबाट गाईजात्रा निकालिएको छ। भोजपुर सदरमुकाममा स्थानीय नेवार समुदायले गत बुधबार आएको भोटेकोशी बाढीमा ज्यान गुमाउनेहरूको सम्झनामा सामूहिक गाईजात्रा निकालिएको छ।
उक्त गाईजात्रा भोजपुर सदरमुकामको बजार परिसर प्रदर्शन गरिएको थियो। यसपटक सम्पूर्ण नेवार समुदायले बाढीमा ज्यान गुमाएका मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि स्वरूप उनीहरूकै सम्झनामा गाईजात्रा निकालिएको स्थानीय गणेश श्रेष्ठले बताए। भने, ‘हाम्रो संस्कारमा हरेक वर्ष नेवार समुदायभित्र कुनै दिवंगत परिवारको घरबाट गाईजात्रा निकालिने गरिएपनि योवर्ष भने बाढी ज्यान गुमाएका मृतकहरूको नाममा संयुक्त गाईजात्रा निकाल्ने निर्णय गर्यौं’ साथै उक्त गाईजात्रामा बाढीपिडितका लागि प्रधानमन्त्री विपद् कोषको क्यूआर सहित लाखेनाँच प्रदर्शन गरिएको थियो।
प्रतिक्रिया दिनुहोस !