प्राकृतिक विपद्मा विश्व तेक्वान्दो र कुकिवनको साथ

प्राकृतिक विपद्मा विश्व तेक्वान्दो र कुकिवनको साथ
सुन्नुहोस्

काठमाडौं : भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति विश्व तेक्वान्दो मुख्यालय कुकिवनले गहिरो दुःख व्यक्त गर्दै नेपालको पीडाप्रति ऐक्यबद्धता जनाएको छ। कुकिवनका अध्यक्ष युन उङ सुकले गत अगस्ट २८ मा नेपाल तेक्वान्दो संघका अध्यक्ष दीपराज गुरुङलाई पठाएको समवेदना पत्रमा रसुवा, नुवाकोट र धादिङमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन्। 

विश्व तेक्वान्दोको सर्वोच्च संस्था कुकिवनले विपद्का कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गरेको छ। साथै बाढीबाट प्रभावित समुदायको शीघ्र पुनस्र्थापनाको कामना पनि गरेको छ। कुकिवनले जारी खोज, उद्धार तथा राहतका कार्य अझ प्रभावकारी रूपमा अघि बढाउन पनि नेपाल सरकारसँग माग गरेको छ। 

कुकिवनको समवेदना तथा ऐक्यबद्धताप्रति नेपाल तेक्वान्दो संघले आभार व्यक्त गरेको छ। संघका अध्यक्ष गुरुङले अगस्ट ३१ मा कुकिवनका अध्यक्षलाई पठाएको धन्यवाद पत्रमा नेपाल तेक्वान्दो संघ तथा सम्पूर्ण नेपाली तेक्वान्दो समुदायकातर्फबाट कुकिवनको सहानुभूति, साथ, समर्थन र ऐक्यबद्धताका लागि कृतज्ञता व्यक्त गरेका छन्।

नेपाल तेक्वान्दो संघले कुकिवनको आपसी भाइचारा, मित्रता र चासोलाई नेपाल र कोरियाबीचको प्रगाढ सम्बन्धको प्रतिक मात्र नभई विश्वव्यापी तेक्वान्दो समुदायबीचको मानवीय सम्बन्ध, करुणा, एकता र पारस्परिक सहयोगको उदाहरणका रूपमा लिएको जनाएको छ। संघले कुकिवन परिवारलाई नेपाली जनता तथा तेक्वान्दो समुदायप्रति ऐक्यबद्धता जनाएकोमा धन्यवादसमेत दिएको छ।

संघले विनासकारी बाढीबाट सिर्जित राष्ट्रिय विपद्बाट नेपाली नागरिक र तेक्वान्दो परिवारसमेत प्रभावित भएको जनाएको छ। नेपाल तेक्वान्दो संघले आफ्नो पत्रमा यो विपद्ले देशका धेरै परिवार र समुदायलाई प्रभावित बनाएको जनाएको छ। प्राकृतिक विपद्का कारण तेक्वान्दो समुदायसँग जोडिएका व्यक्तिहरू तथा उनीहरूका परिवारले समेत क्षति बेहोर्नुपरेको संघले जनाएको छ। विपती र दुःखको विषम परिस्थितिमा कुकिवनले देखाएको सहानुभूति, साथ, समर्थन र ऐक्यबद्धताले नेपाली तेक्वान्दो समुदायलाई ठूलो हौसला दिएको संघले जनाएको छ। 

राष्ट्रिय विपद्को यस कठिन घडीमा नेपाल सरकारको प्रभावित क्षेत्रमा सहयोगका लागि गरेको आह्वानलाई समर्थन गर्दै नेपाल तेक्वान्दो संघले सम्पूर्ण तेक्वान्दो परिवारसँग मिलेर उद्धार कार्यमा सहयोग गर्नुका साथै पीडितका लागि राहत र सहयोग जुटाउने अभियानमा समेत जुट्न सम्पूर्ण तेक्वान्दो परिवारसँग आग्रह गरेको छ।

संघले सम्पूर्ण नेपाली तेक्वान्दो परिवारलाई एकजुट बनाएर प्रभावित क्षेत्रका नागरिकलाई सहयोग गर्ने र पीडितका लागि आवश्यक राहत तथा आर्थिक सहयोग जुटाउने प्रयास अघि बढाइरहेको जनाएको छ। नेपाल तेक्वान्दो संघले विपद्का बेला खेलकुद केवल प्रतिस्पर्धा र पदक प्राप्त गर्ने माध्यम मात्र नभई मानवीय सहयोग, एकता र सामाजिक जिम्मेवारीको माध्यम पनि हुनुपर्ने सन्देश दिएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.