एनभीएल विजेतालाई २० लाख
काठमाडौं : नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करणको विजेताले २० लाख रुपैयाँ नगद पुरस्कार पाउने भएको छ । आयोजक केडिया ग्रुपका अनुसार यो पुरस्कार राशि नेपाली घरेलु भलिबल इतिहासकै सर्वाधिक हो । एनभीएलले पहिलो संस्करणमै विजेता टोलीका लागि २० लाख रुपैयाँ पुरस्कार घोषणा गर्दै घरेलु भलिबलमा नयाँ कीर्तिमान कायम गरेको जनाएको छ ।
केडिया ग्रुपका प्रबन्ध निर्देशक अश्विन केडियाले प्रतियोगिताको कुल पुरस्कार ३२ लाख रुपैयाँ रहेको बताउदै बाँकी १२ लाख उपविजेता, विभिन्न सात विधाका उत्कृष्ट र हरेक खेलको प्लेयर अफ द म्याचको नगद पुरस्कारका लागि विनियोजन गरिएको बताए ।
प्रतियोगिताको अन्तिम तयारी बारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा एनभीएलको मस्कट नेपालको राष्ट्रिय चरा डाँफे, थिम सङ र प्रायोजक पनि सार्वजनिक गरिएको थियो । थिम सङ अविन शाक्यले कम्पोस गरेका हुन् भने मस्कट रोनिश सुब्बाको डिजाइनमा तयार गरिएको हो ।
एनभीएलका कार्यकारी प्रमुख अधिकृत डा. सन्तोष उपाध्यायले यसै प्रतियोगिताबाट बाढी पीडितको सहयोगार्थ वातारण बनाउन पहल गर्ने बताउँदै पहिलो दिनको टिकट विक्रीबाट संकलन हुने सम्पूर्ण रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने बताए । उनले बाढीका कारण देश संकटमा रहेकाले उद्घाटन कार्यक्रम सामान्य हुने बताए ।
नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले केडिया ग्रुपले बाढी पीडितको सहयोगमा देखाएको अग्रसरता प्रशंसनीय भएको बताउँदै नेपालको राष्ट्रिय खेल भलिबललाई व्यवसायिकतर्फ उन्मुख गर्न निजी क्षेत्रको ठूलो भूमिका रहेको धारणा व्यक्त गरे ।
शुक्रबारदेखि आयोजना हुने एनभीएलमा ६ टिमको सहभागिता रहने छ । ६ टिमले पहिले एक आपसमा सिंगल राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गर्ने छन् । लिगमा शीर्ष स्थानमा रहने टोली सीधै फाइनलमा प्रवेश गर्ने छ । लिगमा दोस्रो र तेस्रो स्थानमा रहने टोलीले फाइनल प्रवेशका लागि प्लेअफ खेल्ने छन् । एनभीएल भदौ २८ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ ।
प्रतिक्रिया दिनुहोस !