मनसुन सुरु हुँदा उठाइएको प्रश्न अब अझ स्पष्ट भएको छ– ‘तयारी हुनु’ र ‘तयार भएर काम गर्न सक्नु’ एउटै कुरा होइन।
भोटेकोशी र त्रिशूली नदीमा विनाशकारी बाढी आउँदा मानिसहरू पानीबाट जोगिन सडकमा दौडिरहेका थिए भने कतै छतमा शरण लिन बाध्य थिए। सामाजिक सञ्जालमा सार्वजनिक दृश्यहरूले बाढीको भयावहता र जनमानसमा फैलिएको त्रास प्रस्ट पारे। यी दृश्यले एउटा गम्भीर प्रश्न उब्जाउँछन्– चेतावनी र स्थानीय परिचालन सुरु भइसकेको अवस्थामा पनि मानिसहरू किन अन्तिम क्षणसम्म जोखिम क्षेत्रमै थिए ?
मनसुन सुरु हुँदा मैले आफ्नो अघिल्लो लेख ‘मनसुनमा सुशासनको परीक्षा’मा पूर्वसूचना, निकास योजना र स्थानीय अभ्यास जोखिममा रहेका मानिससम्म व्यवहारमै पुगे मात्र तयारी सार्थक हुने तर्क गरेको थिएँ। भोटेकोशी–त्रिशूली बाढीले त्यही तर्कलाई यथार्थ घटनामा परीक्षण गरेको छ। यसले सञ्चालनगत तत्परताको महत्वलाई उजागर गर्छ। योजना बन्नु, जिम्मेवारी तोकिनु वा चेतावनी प्रणाली उपलब्ध हुनु तयारीका आधार मात्र हुन्। तर, आपत्कालीन अवस्थामा कसले के गर्ने, सूचना कसरी निर्णयमा बदलिने, समुदायलाई कसरी परिचालन गर्ने र मानिसहरू सुरक्षित स्थानसम्म कसरी पुग्ने भन्ने कुरा तत्काल कार्यान्वयन गर्न सक्ने अवस्थामा हुनु नै वास्तविक सञ्चालनगत तत्परता हो।
चेतावनीदेखि कार्यसम्म
उपलब्ध विवरणले माथिल्लो क्षेत्रमा खतरा देखिएको र सम्बन्धित निकायसम्म सूचना पुगेको समयदेखि बेत्रावतीमा विनाशकारी बहाव आइपुग्दासम्म केही महत्वपूर्ण अग्रिम समय उपलब्ध रहेको देखाउँछ। तर, समुदायसम्म प्रत्यक्ष चेतावनी, माइकिङ र सुरक्षित स्थानतर्फ सार्ने प्रयास पुग्दा संस्थागत रूपमा उपलब्ध अग्रिम समयको केही हिस्सा बितिसकेको देखिन्छ। अर्थात्, सम्भावित अग्रिम समय र समुदायले वास्तविक निकासका लागि पाएको समयबीच अन्तर रहेको पाइयो।
यसले आपत्कालीन शासनको महत्वपूर्ण प्रश्न उठाउँछ– उपलब्ध अग्रिम समय कहाँ खर्च भयो ? खतरा पहिचान, सूचना प्रवाह, निर्णय, समन्वय र स्थानीय परिचालनका विभिन्न चरणमध्ये कुन चरणमा समय खेर गयो ? र त्यसलाई कसरी छोट्ट्याउन सकिन्छ भन्ने गम्भीर समीक्षा आवश्यक छ। यस्तो तीव्र बाढीमा चेतावनी आएपछि मात्रै निकास योजना बनाउनु निकै ढिलो हुन्छ। जोखिम आउनुअघि नै निकास मार्ग, सुरक्षित स्थल, जिम्मेवारी र समुदायले तत्काल गर्नुपर्ने काम स्पष्ट र अभ्यास गरिएको हुनुपर्छ।
सतर्कता कि तत्काल निकास ?
चेतावनीको भाषा जीवनरक्षासँग सीधै जोडिन्छ। सार्वजनिक विवरणहरूमा कतै ‘उच्च सतर्कता अपनाउन’ भनिएको छ भने कतै सुरक्षित स्थानमा जान आग्रह गरिएको देखिन्छ। अत्यन्त तीव्र बाढीमा निर्देशन अस्पष्ट हुनु हुँदैन। उदाहरणका लागि ‘अत्यन्त उच्च खतरा! नदी किनारका घर, पसल, सडक र पुल तत्काल छोड्नुहोस्। सामान लिन नफर्कनुहोस्। अहिले नै अग्लो सुरक्षित स्थानमा जानुहोस्।’ पूर्वसूचना प्रणालीको सफलता कतिवटा एसएमएस पठाइयो वा कति पटक माइकिङ भयो भन्नेमा मात्र मापन हुँदैन। मानिसले के गर्ने, कहाँ जाने र कहिले जाने भन्ने बुझेर समयमै त्यसअनुसार काम गर्न सके कि सकेनन् भन्ने कुरा निर्णायक हुन्छ।
मैदानमा प्रणालीको परीक्षा
बेत्रावतीमा प्रहरीले सडक र नदीकिनारका मानिसलाई माइकिङ गर्दै सुरक्षित स्थानमा जान आग्रह गरिरहेकै बेला बाढी आएको विवरण छ। ढुंगेमा पनि सुरक्षाकर्मीले मानिसलाई सार्दै गर्दा पछाडिका पुलहरू बगिरहेका थिए। उनीहरूको सक्रियताले ज्यान जोगाउन पक्कै मद्दत गर्यो। तर, सुरक्षाकर्मी स्वयं बाढीसँग लगभग प्रतिस्पर्धा गर्दै मानिसलाई सार्नुपर्ने अवस्था आयो भने समुदायलाई उपलब्ध अग्रिम समय र पूर्वतयारीबारे प्रश्न उठ्नु स्वाभाविक हो।
यसलाई ‘मानिसले चेतावनी मानेनन्’ भनेर निष्कर्ष निकाल्नुमात्र पर्याप्त हुँदैन। उनीहरूलाई के भनिएको थियो, कहिले भनिएको थियो र चेतावनी आउनुअघि नै उनीहरू के गर्न तयार थिए भन्ने पनि हेर्नुपर्छ। स्थानीय अधिकारीका अनुसार, चेतावनी र समयमै गरिएको निकासले विशेषतः तल्लो क्षेत्रमा मानवीय क्षति घटाउन मद्दत गरेको देखिन्छ; तर केही स्थानमा बाढी आइपुग्दा पनि प्रहरी चेतावनी दिँदै र मानिस भाग्दै थिए। यी दुवै तथ्यलाई सँगै राखेर हेर्नु आवश्यक छ।
दुई विद्यालयबाट सञ्चालनगत तत्परताको पाठ
त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयले छोटो चेतावनी पाएपछि तत्काल निर्णय गरी विद्यार्थी र कर्मचारीलाई माथिल्लो सुरक्षित स्थानतर्फ सार्यो। उत्तरगया पब्लिक स्कुलमा पनि चेतावनी पाएलगत्तै सहप्रधानाध्यापकको नेतृत्वमा छात्रावासका विद्यार्थीलाई सुरक्षित स्थानतर्फ सारियो। बाढी अत्यन्त नजिक आइसकेकाले त्यहाँ पनि निकै छोटो समयमा निर्णय र निकास गर्नुपरेको थियो। यी दुई अनुभवलाई एउटा सफल र अर्को असफल घटनाका रूपमा तुलना गर्नु उचित हुँदैन। बरु, दुवैले अत्यन्त सीमित समयमा विद्यालय नेतृत्वले कसरी निर्णय गर्यो, विद्यार्थीलाई कहाँ सारियो र पहिल्यै तय गरिएको निकास मार्ग, सुरक्षित भेला स्थल तथा जिम्मेवारीले कति सहयोग गर्यो भन्ने अध्ययन गर्ने अवसर दिन्छन्। यही सिकाइ अन्य विद्यालय र समुदायका लागि पनि उपयोगी हुन सक्छ।
घटनापछिको समीक्षा दोषी खोज्नका लागि मात्र हुनु हुँदैन। चेतावनी कहाँबाट आयो, कसरी निर्णयमा बदलियो, कुन माध्यमबाट कस्तो सन्देश दिइयो, निकास कहिले सुरु भयो र समुदायलाई सुरक्षित स्थानमा पुग्न कति व्यावहारिक समय उपलब्ध भयो भन्ने घटनाक्रम स्पष्ट हुनुपर्छ।
योजना थियो, तर तत्परता कति ?
नेपालको कानुनी तथा योजनागत व्यवस्थाले स्थानीय तहलाई पूर्वसूचना, पूर्वतयारी, स्वयंसेवक परिचालन, तालिम र आपत्कालीन अभ्याससम्बन्धी जिम्मेवारी दिएको छ। नुवाकोटको ‘जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना’ २०८३ भदौ १ गते सार्वजनिक गरिएको थियो।
त्यसैले, व्यवस्था नै थिएन भन्न मिल्दैन। अब समीक्षा हुनुपर्ने विषय व्यवस्था कागजमा थियो कि थिएन भन्ने होइन, आवश्यक पर्दा तत्काल सञ्चालनमा आउन सक्ने अवस्थामा थियो कि थिएन भन्ने हो। जोखिमयुक्त बस्ती पहिचान गरिएका थिए ? निकास मार्ग र सुरक्षित स्थल समुदायलाई थाहा थियो ? विद्यालय र बस्तीले अभ्यास गरेका थिए ? प्रत्येक टोलमा कसले नेतृत्व गर्ने र बालबालिका, वृद्ध तथा अपांगता भएका व्यक्तिलाई कसले सहयोग गर्ने भन्ने तय थियो ? सञ्चारको एउटा माध्यम असफल भए अर्को विकल्प तयार थियो ? यिनै सञ्चालनगत प्रश्नको उत्तरले वास्तविक तत्परता देखाउँछ।
अब के सिक्ने ?
घटनापछिको समीक्षा दोषी खोज्नका लागि मात्र हुनु हुँदैन। चेतावनी कहाँबाट आयो, कसरी निर्णयमा बदलियो, कुन माध्यमबाट कस्तो सन्देश दिइयो, निकास कहिले सुरु भयो र समुदायलाई सुरक्षित स्थानमा पुग्न कति व्यावहारिक समय उपलब्ध भयो भन्ने घटनाक्रम स्पष्ट हुनुपर्छ।
विशेषतः अग्रिम समय कहाँ र कसरी खर्च भयो भन्ने प्रश्नको जवाफ आवश्यक छ। प्रारम्भिक संकेतदेखि खतरा पहिचान, संस्थागत सूचना, स्थानीय निर्णय, चेतावनी र वास्तविक निकाससम्मका चरण बुझ्न सकिए मात्र अर्को विपद्मा बहुमूल्य समय जोगाउन सकिन्छ। समीक्षाले के प्रभावकारी भयो, कहाँ कमजोरी रह्यो र अर्को विपदघि के सुधार गर्नुपर्छ भन्ने कुरा पनि स्पष्ट गर्नुपर्छ।
उद्देश्य भनेकै बहुमूल्य समय कहाँ जोगियो वा गुम्यो र त्यसको उपयोग गर्न समुदाय कति तयार थियो भन्ने स्थापित गर्नु हो। यसबाट प्राप्त सिकाइ भोटेकोशी–त्रिशूली क्षेत्रमै मात्र सीमित रहनु हुँदैन; यस्तै जोखिम सामना गरिरहेका अन्य स्थानीय तह, विद्यालय र समुदायसँग पनि साझा गरिनुपर्छ।
मनसुन सुरु हुँदा उठाइएको प्रश्न अब अझ स्पष्ट भएको छ– ‘तयारी हुनु’ र ‘तयार भएर काम गर्न सक्नु’ एउटै कुरा होइन। यही भिन्नता आपत्कालीन शासनको वास्तविक परीक्षा हो। सूचना हुनुमात्र पर्याप्त हुँदैन; उपलब्ध अग्रिम समयलाई निर्णय, समन्वय र सुरक्षित कार्यमा कति छिटो रूपान्तरण गर्न सकिन्छ भन्ने नै सञ्चालनगत तत्परताको मापन हो।
अर्को बाढीमा पानी देखेपछि कहाँ भाग्ने भनेर सोच्न नपरोस्। पानी आउनुअघि नै कहाँ जाने, कसले सहयोग गर्ने, कसले के जिम्मेवारी लिने र चेतावनी आएपछि के गर्ने भन्ने स्पष्ट र अभ्यास गरिएको हुनुपर्छ। आपत्कालीन शासनका लागि सिकाइ स्पष्ट छ– विपद् आएपछि प्रतिक्रिया होइन, आउनुअघि नै चल्ने प्रणाली चाहिन्छ।
घले, विश्व स्वास्थ्य, नीति र कूटनीतिसहित विभिन्न विषयमा लेख्छन्।
प्रतिक्रिया दिनुहोस !