समयको छाल, नियतिको किनार

समयको छाल, नियतिको किनार
सुन्नुहोस्

एक्लो प्रयासले मात्र यो देश बन्दैन। अबको आवश्यकता भनेको विपत्तिा आएपछि रुने होइन, विपत्तिासँग जुध्न सक्ने मजबुत जग र प्रणालीको निर्माण गर्नु हो।

दिन, मुहूर्त, घडीपला र चिनाटिप्पन जति नै जुराए पनि; जति नै भाकल वा पाठपूजा गरे पनि, विधिको विधानलाई मानिसले भोग्नैपर्छ। प्रकृतिको आफ्नै लय छ, समयको आफ्नै गति छ। जे हुनु छ, त्यो भएरै छाड्छ, त्यसलाई रोक्न सक्ने सामथ्र्य मानवजातिसँग छैन। त्यसैले, यो छोटो जीवनमा मीठो बोलौं, सत्कर्म गरौं र मित्रता बढाऔं। आखिर, हामीले आफूसँगै लैजाने भनेको त्यही सत्कर्म र छोडेर जाने भनेको त्यही सम्झना मात्र हो।

जब म सानो थिएँ, मलाई बाहिरी दुनियाँको खासै केही थाहा थिएन। पछि बुझ्दै जाँदा थाहा भयो, त्यतिबेला भर्खरै मात्र विश्वमा द्वितीय विश्वयुद्धको आगो निभेको रहेछ। देशमा नयाँ राज्य र क्षेत्र विभाजनका रेखाहरू कोरिएका रहेछन्। हाम्रो गाउँ–बस्तीमा भने खम्बा विद्रोह र हुलदंगाको त्रास फैलिरहेको थियो। एकातिर त्रास, अर्कोतिर चरम गरिबी, पूरै गाउँ अभाव र संघर्षको भुमरीमा पिल्सिरहेको थियो। विक्रमसंवत् २००० को दशक र त्यसपछि जन्मने हाम्रो पुस्ताका लागि त्यो समय एउटा कहालीलाग्दो तर चाखलाग्दो इतिहास हो। त्यो ढुंगेयुग जस्तै संघर्षको युग थियो; विस्तारै चेतनाको पाइला चाल्दै गरेको एउटा संक्रमणकालीन समय।

म जन्मेको पहाडी गाउँमा सुन्तला, केरा, मौसम र कागती प्रशस्त फल्थे। मलाई अझै पनि राम्ररी याद छ– नेपाली एक रुपैयाँमा ४ देखि ५ दाना सुन्तला र भारतीय एक रुपैयाँमा ३ देखि ४ वटा केरा बेच्ने गरिन्थ्यो। एक सयदेखि तीन सय दानासम्म सुन्तला वा कागतीको भारी बोकेर, दुई घण्टाको उकालो–ओरालो छिचोल्दै हामी नेपाल र भारतको सिमाना ‘जौलजिवी’ पुग्थ्यौं। त्यहाँ पुगेर भारततर्फ गुडिरहने मोटरका यात्रुहरूलाई ती फलफूल बेच्थ्यौं। महाकाली र गोरी नदीको संगमस्थल जौलजिवी बजारमा हरेक वर्ष मंसिर १ गतेदेखि ठूलो ऐतिहासिक मेला लाग्ने गथ्र्यो।

२०२९ मंसिर २ गतेको कुरा हो। दिनको करिब ११–१२ बजेको हुँदो हो। जौलजिवी बजार नजिकै महाकाली नदीमाथि जडान गरिएको नेपाल–भारत जोड्ने झोलुंगेपुल मेला भर्न आएका मानिसहरूको घुइँचोले खचाखच थियो। अचानक एउटा भयानक आवाज आयो र त्यो पुल चुँडिएर महाकाली नदीमा खस्यो। हेर्दाहेर्दै सयौं मानिस नदीको भेलमा बेपत्ता भए। दर्जनौंले ज्यान गुमाए। एकैछिनमा मेलाको उल्लास रुवावासी र चित्कारमा परिणत भयो। मेला भर्न गएका मानिसहरू जो जहाँ थिए, त्यहीँ थुनिए– वारिका वारि, पारिका पारि।

जुन बाटो हुँदै हामी दुई घण्टाको ओरालो झरेर फलफूलको भारी बोकी आएका थियौं, त्यो बाटो अब सधैंका लागि रित्तो र शून्य हुने भयो। पुल बन्द भएपछि वारपार ठप्प भयो, मेला तहसनहस भयो। कति मानिस हताहत भए, को–को बेपत्ता भए, त्यसको यकिन तथ्यांक हामीलाई थाहा थिएन। म त भर्खरै चुलबुले हिँड्ने उमेरको थिएँ, नदीले बगाउँछ र मान्छे मर्छन् भन्ने मात्र अलिअलि ज्ञान थियो। तर, मलाई डो¥याइरहनुभएका मेरा सहोदर दाइ, काका र गाउँका अन्य नातेदारहरूसँगै अब धार्चुला हुँदै दार्चुला पुग्न पैदलयात्रा गर्नुको विकल्प थिएन।

मोटर गुड्ने बाटोमा कुद्न अभ्यस्त मेरा कलिला खुट्टाहरूले ५८ किलोमिटर लामो र कष्टकर पैदलयात्रा सुरु गरे। बल्लतल्ल नेपाल पस्ने बाटो भेटियो। ‘अब एक दिन हिँडेपछि घर पुगिन्छ’ भन्दै दाइहरू मलाई फकाउँदै हुनुहुन्थ्यो। म कहाँ जाँदै छु ? कहिले घर पुग्ने होला ? मलाई केही थाहा थिएन। पछि उमेर बढ्दै गएपछि मात्र मैले थाहा पाएँ, १९९० सालको विनाशकारी भूकम्प र त्यसलगत्तै फैलिएको हैजाको प्रकोपले हाम्रो समाजलाई यसैगरी तितरबितर पारेको रहेछ। पहाडी बस्तीहरूमा पहिरो र बाढीले हरेक वर्षायाममा मानिसको ज्यान ढुकिरहेको हुन्छ। पहाडका खोल्साखोल्सीबाट बगेको बाढी समथर मैदानमा पुग्दा विशाल नदीमा परिणत हुन्छ र जनधनको अपार क्षति गर्छ। यो हरेक वर्ष देशका विभिन्न भागमा घट्ने नियमित नियति बनिसकेको छ। मेरै जिल्लामा पनि दाइले पालेका भैंसीसहितको गोठ बाढीले बगाएपछि घर नै छोड्नुपरेको पीडादायी विगत छ। बल्लबल्ल बनेका मोटर गुड्ने पक्की पुलहरू पनि बाढीले निमेषभरमै बगाएका ताजै दृश्यहरू हाम्रा आँखैअगाडि छन्। यस्ता प्राकृतिक विपत्तिहरूमाथि देशको अस्थिर राजनीतिक घटनाक्रमले सधैं नुनचुक छर्किरह्यो। 

स्थिर शासन चल्न नसक्दा देश सधैं आन्दोलनको भट्टीमा जलिरह्यो। बेरोजगार र निराश नागरिकहरू फुर्सदको समय कटाउन भिडभाडमा मिसिन्छन् र त्यसको फाइदा चलाख स्वार्थ–समूहहरूले लिन्छन्। २०३६–३७ सालतिर देशमा बहुदल र निर्दलको जनमतसंग्रहको रौनक छाउँदा म स्कुल पढ्ने र कुरा बुझ्ने भइसकेको थिएँ। तर, ती आन्दोलन र भिडभाड सबै राजधानी केन्द्रित हुन्थे। काठमाडौंको समाचार मेरो गाउँसम्म आइपुग्न दुई दिन लाग्थ्यो। 

गाउँमा पनि बाठाटाठा प्रवृत्तिका मानिसहरू हाबी थिए, जसको सिकार हामीजस्ता सर्वसाधारण कति भयौं कति। तत्कालीन पञ्चायती सरकारले ‘जो मरे पनि नेपाली नै मर्ने हो, जे नोक्सान भए पनि देशकै हुने हो’ भन्ने सोचेरै होला, सायद दमन गरे पनि त्यति ठूलो जनधनको क्षति भएको रहेनछ भन्ने कुरा मैले पछि मात्र बुझें। त्यसपछि आएको २०४६–४७ को ऐतिहासिक जनआन्दोलनले ल्याएको परिवर्तन, त्यसमा कतिले ज्यान गुमाए र कतिको घरबार उजाडियो भन्ने कुरा त प्रत्यक्ष नै देखियो।

त्यसपछिको राजनीतिले ‘जनयुद्ध’ को रूप लियो। २०५२ सालदेखि सुरु भएको त्यो सशस्त्र द्वन्द्वले प्रकृतिको विनाशलाई पनि उछिन्ने दुस्साहस ग¥यो। बल्लबल्ल, निकै दुःखले जोडजाड गरिएको देशको भौतिक संरचना र सम्पत्तिलाई गोला र बारुदले चकनाचुर बनाइदियो। सरकारी तथ्यांक र विभिन्न प्रतिवेदनहरूका अनुसार करिब १७ हजारभन्दा बढी नेपालीले अकालमा ज्यान गुमाए। लाखौं जनता घरबारविहीन भए, विस्थापित भए। विकासका पूर्वाधारहरू ध्वस्त भए; निर्माणको सट्टा विनाशको कालो बादल मडारियो। त्यसपछिको शासनसत्ता र संक्रमणकालले देशलाई थप गरिब र परनिर्भर बनाउँदै लग्यो।

२०६२/६३ मा फेरि अर्को ठूलो जनआन्दोलन भयो। नेपालमा आन्दोलन त यति छिटो र सहज रूपमा हुन्छ कि, मानौं बेरोजगारहरूले अचानक कुनै ठूलै रोजगार पाएका छन्। हरेक आन्दोलनले पुराना संरचना भत्काउँछन्, जनधनको ठूलो क्षति गराउँछन् र अर्थतन्त्रलाई डामाडोल बनाउँछन्। भनिन्छ, राजनीतिक परिवर्तन भयो, तर वास्तविकतामा शासनसत्ता बालबच्चाको खेलौना जस्तै अस्थिर र फितलो बन्न पुग्यो। सानैदेखि राम्रो मलजल पाएको बिरुवा र मलजल हालेर हुर्काइएको आशाको बोटमा फलेको फलले देश सञ्चालन होला भन्ने हाम्रो सपना, केही सीमित व्यक्तिहरूको रिस, डाह र ईष्र्याको सिकार भयो।

हामी सुशासन र विकासको जग बस्छ भन्ने आशा बोकेर बसिरहेका बेला, प्रकृतिले अर्को प्रहार गरिसकेको छ। पहाडका खोंचहरूमा बसेका बाक्ला बस्तीहरूलाई बाढी र पहिरोले एक्कैछिनमा सखाप पारेर बगरमा परिणत गरिदिएको छ। ‘

भगवान्को देश’ भनेर चिनिने हाम्रो भूमिमा, भगवान्को पूजापाठ गर्न मन्दिरमा बसेका पुजारीहरूलाई समेत विपत्तिले बाँकी राखेन। न त ती मन्दिरहरूले बाढीको उन्मत्त बहावलाई नै रोक्न सक्यो। आखिर मानिसले आफ्नो गाँस काटेर जोहो गरेको सम्पत्ति, सन्तानको सुनौलो भविष्यका लागि साँचेको धन, स्कुल जाने साना लालाबालाका लागि राखिएको खानेकुरा, जिन्दगीभर पसिना बगाएर जोडेको सुन, चाँदी, गहना र घर—सबै निमेषभरमै सखाप हुँदो रहेछ। न त पानी पर्न छोड्छ, न त झरी रोकिने लक्षण नै देखिन्छ। यस्तो अवस्थामा मनमा एउटै प्रश्न उब्जिन्छ— के रहेछ त जिन्दगी ? के रहेछ धनसम्पत्ति, पद र प्रतिष्ठा ? अनि किन गर्ने यो व्यर्थको लोभ, लालच, घमण्ड र प्रतिशोध ? 

नेपालको इन्जिनियरिङ र विकासको मोडल हेर्दा लाग्छ, भत्केका पुल, घर र बाटोको पुनर्निर्माण फेरि उस्तै कमजोर जगमा हुँदैछ। जस्तो यहाँको अस्थिर भू–राजनीति छ, जस्तो नियतिवादी जनता र देवीदेवताको भर पर्ने प्रवृत्ति छ, हाम्रो विकासको मोडल पनि त्यस्तै छ। यदि पुनर्निर्माणलाई साँच्चिकै दीर्घकालीन, दिगो र विकासमुखी बनाउने हो भने हामीले परम्परागत नेपाली इन्जिनियरिङ र राजनीतिक हस्तक्षेपबाट माथि उठ्नैपर्छ। बस्ती बसाल्ने नयाँ प्रविधि र वैज्ञानिक भू–उपयोग नीति लागू गर्नु नितान्त आवश्यक छ।

नेपालको जटिल भौगोलिक अवस्था, यहाँको विकासको आवश्यकता र जनताको चाहनालाई केवल वर्तमान राजनीतिक सत्ता र परम्परागत सोचले मात्र सम्बोधन गर्न सक्दैन। त्यसैले, भविष्यको नेपाल निर्माणका लागि अत्याधुनिक र वैज्ञानिक आविष्कारिक प्रविधिको प्रयोग हुनु जरुरी छ। बेरोजगारीको अन्त्य गर्न र नेपालको नक्कली तथा स्वार्थप्रेरित राजनीतिलाई सधैंका लागि बिदा गर्न, हामीलाई इमानदार नेतृत्व र विकसित देशहरूको निस्वार्थ प्राविधिक सहयोग चाहिन्छ। देशमा उत्पादन हुने आफ्नै फसल पर्याप्त भए पनि, विश्वव्यापीकरणको यो युगमा छिमेकी र मित्रराष्ट्रहरूसँगको सहकार्य र नवप्रवर्तनलाई सधैं स्वीकार गर्नुपर्छ। ईष्र्या, लोभ, लालच र द्वेषबाट मुक्त बनेर, प्राकृतिक विपत्ति र राजनीतिक द्वन्द्वमा ज्यान गुमाएका ती सबै दिवंगत आत्माहरूप्रति साँचो श्रद्धाञ्जलि अर्पण गर्ने हो भने हामीले एउटा सुरक्षित र समृद्ध देश निर्माण गर्नैपर्छ।

अन्त्यमा, एक्लो प्रयासले मात्र यो देश बन्दैन। कतिपयले निराश भएर ‘यो देश त देवीदेवताले नै सरापेको देश हो’ भन्लान्। तर, भूगोललाई दोष दिएर उम्किने छुट हामीलाई छैन। दिनहुँजसो भूकम्प जाने जापानले कसरी आफूलाई सुरक्षित र समृद्ध बनायो ?

पहाडैपहाड र हिउँले ढाकिएको, भूपरिवेष्टित देश स्विट्जरल्यान्डले कसरी आफूलाई धर्तीको स्वर्ग बनायो ? समुद्रमुनि सुरुङ बनाउने र आकाशमा पुल ठड्याउने विकसित देशहरूको प्रविधि हामीले किन सिक्न सकेनौं ? डाँडाहरूलाई तारले बाँधेर, पहाड छेड्ने विदेशी इन्जिनियरिङ र प्रविधि ल्याएर, खाडी मुलुकमा पसिना बगाइरहेका नेपाली श्रमिकहरूको सीप र पाखुरालाई आफ्नै माटोमा सिञ्चित गर्न सकेमात्र यो देश बन्छ। अबको आवश्यकता भनेको विपत्ति आएपछि रुने होइन, विपत्तिसँग जुध्न सक्ने मजबुत जग र प्रणालीको निर्माण गर्नु हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.