बाढीमा बगेका सुरक्षाकर्मी खोज्न छुट्टै टोली नै छैन!
काठमाडौं : भोटेकोशीको बाढीमा परी बेपत्ता भएका सुरक्षाकर्मीको खोजीकार्य ओझेलमा परेको छ। बाढी–पहिरो वा दुर्घटनाजन्य विपद् होस् अथवा अन्य आन्दोलनको अग्रपंक्तिमा किन नहोस्, सधैं अगाडि खटिने सुरक्षाकर्मीकै खोजी ओझेलमा परेको हो। नागरिकलाई समस्या पर्दा सबैभन्दा पहिले सरकारको उपस्थिति देखाउने काम सुरक्षाकर्मीले नै गर्छन्। नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेनाका गरी ८३ जना सुरक्षाकर्मी रसुवाको बाढीमा परी अहिलेसम्म सम्पर्कविहीन छन्। उनीहरूका परिवार आफ्ना आफन्तको खोजीमा भौंतारिरहेका छन्। सरकारले उनीहरूको खोजीका लागि कुनै विशेष पहल गर्न सकेको छैन भने सुरक्षा संगठनहरू पनि अन्य काममा व्यस्त देखिएका छन्।
भदौ १० गते गएको विनाशकारी बाढीमा परी नेपाली सेनाका ४५ जना कर्मचारी सम्पर्कबाहिर छन्। नेपाल प्रहरीका २८ जना कर्मचारी बेपत्ता भएका थिए, जसमध्ये ३ जनाको शव फेला परेको छ। सशस्त्र प्रहरी बलका १३ जना कर्मचारी ड्युटीकै क्रममा बेपत्ता भए, जसमध्ये सशस्त्र प्रहरी जवान साजन कुँवरको शव फेला परेको छ।
किन परेन प्राथमिकतामा ?
विपद् उद्धारमा सबैभन्दा अगाडि खटिने र खटाइने सुरक्षाकर्मीले आफ्नै संगठनबाट समेत प्राथमिकता पाउन सकेका छैनन्। लाङटाङ राष्ट्रिय निकुञ्ज र विभिन्न हाइड्रोपावरमा खटिएका नेपाली सेना ड्युटीकै क्रममा बेपत्ता भए। बाढी आउने सूचना थाहा पाएर पनि आफ्नो जिम्मेवारी र कर्तव्यका कारण उनीहरू ड्युटी छाडेर ज्यान जोगाउन जान सकेनन्। अन्ततः भोटेकोशीको बाढीसँगै बगेर बेपत्ता भए।
सशस्त्र प्रहरी बलको बीओपी टिमुरे र बीओपी मैलुङमा खटिएकामध्ये १३ जना बाढीसँगै बगे। उनीहरू ‘बाढी आउँदै छ’ भनेर नजिकैको बस्तीलाई सूचना दिन खटिएका थिए। नागरिकलाई सूचना दिँदादिँदै उनीहरूले आफ्नै ज्यान जोगाउन सकेनन्। रसुवा र नुवाकोटमा ड्युटीमा खटिएका २८ जना नेपाल प्रहरी पनि बेपत्ता भए। कतिपय प्रहरीहरू सूचना दिँदादिँदै बाढीमा बगे भने कतिपय अरूलाई उद्धार गर्दागर्दै आफैं फसे। २८ जनामध्ये ३ जनाको मात्रै शव भेटिएको छ।
बेपत्ता सुरक्षाकर्मीको खोजीका लागि अहिलेसम्म राज्यका कुनै पनि निकाय अघि सरेका छैनन्। न त प्रधानमन्त्री बालेन शाहले केही बोले, न त गृहमन्त्री सुधन गुरुङले नै यस विषयलाई सम्बोधन गरे। विपद्का घटना घट्नासाथ सुरक्षा संगठनलाई खटिनका लागि निर्देशन दिने गृहमन्त्रीले समेत बेपत्ता सुरक्षाकर्मीका विषयमा केही नबोल्दा पीडित परिवार विक्षप्त छन्।
नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार बाढीपछि हराएका ४५ जना नेपाली सैनिकको पहिचान खुल्ने कुनै प्रमाण अहिलेसम्म भेटिएको छैन। उनीहरूको कुनै खबर पनि प्राप्त भएको छैन। प्रवक्ता बस्नेत भन्छन्, ‘कुनै अपडेट आएको छैन। हामीले सम्बन्धित परिवारलाई जानकारी गराएका छौं र खोजीकार्य जारी छ। शवहरू धेरै फेला परिसके तर नेपाली सेनाकै भनेर पहिचान हुने शव भेटिएको छैन। परिवार र उद्धार टोलीबीच समन्वय भइरहेको छ भने सम्बन्धित युनिटहरूले पनि प्राप्त भएका शवहरूको अनुगमन गरिरहेका छन्।’
हराएका सैनिकलाई नै खोज्न भनेर नेपाली सेनाले टोली नै खटाएको छैन त ? प्रवक्ता बस्नेत भन्छन्, ‘त्यस्तो छुट्टै टोली खटाएको त छैन। घटना एउटै ठाउँमा भएकाले सुरक्षाकर्मीका लागि मात्रै खोज्ने भन्ने हुँदैन।’
नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्लेले पनि बेपत्ता प्रहरी खोज्न बेग्लै टिम नखटाइएको जानकारी दिए। उनी भन्छन्, ‘सम्भावित ठाउँहरूमा प्रहरी पुगेर खोजी तथा उद्धारका कार्य गरिएका छन्। एउटै घटना भएकाले सुरक्षा निकायका सबैजना र सरकारका सबै टोली मिलेर नै खोजी गरिएको छ।’ प्रवक्ता काफ्ले थप्छन्, ‘हामीले आफ्नो जिम्मेवारी पूरा गर्ने हो। सुरक्षाकर्मी वा नागरिक भनेर बेग्लाबेग्लै भूमिका निभाउन मिल्दैन। कर्तव्य पूरा गर्ने क्रममा हामीले हाम्रा सहकर्मी गुमाएका छौं, यो ज्यादै दुःखद् विषय हो।’
सशस्त्र प्रहरी बलका प्रवक्ता नेत्रबहादुर कार्कीले पनि बेपत्ता सशस्त्र प्रहरी खोज्न बेग्लै समूह खटाउन नसकिएको स्वीकार गरे। उनी भन्छन्, ‘यस्तो राष्ट्रिय विपत्तिको विषयमा कसैले कल्पना नै गरेका थिएनौं। घटना भएको स्थान बीओपी टिमुरेमा अहिले पनि डीएसपीको कमान्डमा सशस्त्र टोली परिचालन गरिएको छ। उनीहरूले उक्त स्थानमा पुरिएका, डुबेका शवहरू निकाल्ने र सहकर्मीको खोजी गर्ने काम गरिरहेका छन्। भेटिएका शवहरूमा पनि कोही सशस्त्रको शव छ कि भनेर हामीले निकै ध्यान दिइरहेका छौं।’
७ दिनपछि पहिचान भयो सशस्त्र जवान साजन कुँवरको शव
नुवाकोटको लिखु गाउँपालिका–१ घर भई हाल २० नम्बर गुल्म रसुवा दरबन्दी भएका सशस्त्र प्रहरी जवान साजन कुँवर भदौ ११ गते नारायणी किनारमा मृत भेटिए। उनको शव पहिचान हुन र आफन्तलाई बुझाउन भने ६ दिन लाग्यो। बिहीबार उनको शव चितवनबाट ल्याएर परिवारलाई बुझाइएको छ। सशस्त्र प्रहरी बलका प्रवक्ता नेत्रबहादुर कार्कीका अनुसार बीओपी मैलुङमा कार्यरत कुँवर मैलुङ हाइड्रोपावरमा ड्युटीमा खटिएका थिए। उनी भदौ १० को भोटेकोशी बाढीलगत्तै सम्पर्कविहीन बनेका थिए। उनको शव ११ गते दिउँसो १२ बजे पूर्वी नवलपरासीको कावासोती–१७ अमल्टारीस्थित नारायणी नदीको किनारमा भेटिएको थियो।
सुरुमा पहिचान गर्न नसकिने अवस्थाको शव मध्यविन्दु प्रादेशिक अस्पताल ल्याइएको थियो। केही दिनअघि नै उनको शवलाई कावासोतीको जंगलमा गाडिएको थियो। पछि डीएनए रिपोर्टको आधारमा उनका बुबाले शव पहिचान गरेपछि भदौ १७ गते परिवारको जिम्मा लगाइएको हो। उनको शवलाई सशस्त्र प्रहरी बलको टोलीले नै घरसम्म पु¥याएको थियो। २०७५ जेठ १५ मा सशस्त्र प्रहरीमा भर्ना भएका साजनको घरमा श्रीमती, बुबा, आमा र दाजु छन्।
अविच्छिन्न उद्धारमा सशस्त्र प्रहरी
रसुवाको टिमुरे बजार यतिबेला बगरमा परिणत भएको छ। यहाँको सुनसान र चकमन्न अवस्था देख्दा ‘यहाँ कुनै समय ठूलो चहलपहल हुने बजार थियो’ भनेर पत्याउन पनि मुस्किल पर्छ। गत भदौ १० गते आएको भोटेकोशीको बाढीले यो बजार सर्लक्कै बगाएको हो। बाढीले पुरेका भग्नावशेष, हिलोमा गाडिएका शव, क्षतविक्षत मानव अंग र बाढीमा बिलाएका व्यापारिक भवन तथा संरचनाहरू– अहिलेको टिमुरे बजारको दृश्य यस्तै छ।
मानवविहीन बनेको यो टिमुरेमा सशस्त्र प्रहरी बलको बीओपी भने निरन्तर सक्रिय छ। सडक सञ्जालबाट पूर्ण रूपमा विच्छेद भएको यो बजारको सिरानमा रहेको बीओपी टिमुरेका ९ जना कर्मचारी अहिले पनि बेपत्ता छन्। ड्युटीकै क्रममा सम्पर्कविहीन भएका उनीहरूको सास वा लास केही पनि भेटिएको छैन।
सशस्त्र प्रहरी बलले त्यहाँ उद्धारको काम निरन्तर गरिरहेको छ। उनीहरूको टोलीले टिमुरे बजारको भग्नावशेष खोतलेर बेपत्ता व्यक्तिहरूको शव निकालिरहेको छ। घटनाको ६० घण्टापछि भदौ १२ गते बाढीले थुपारेको चट्टान र काठभित्र पुरिएकी ६ वर्षीया बालिकालाई बीओपी टिमुरेको टोलीले जीवितै उद्धार गर्न सफल भएको थियो।
सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार बाढी आएको दिन टिमुरेमा कुल ३० जना कर्मचारी कार्यरत थिए। कमान्डर इन्स्पेक्टर अम्बिर खत्री र सई प्रकाश न्यौपानेसहित ९ जनाको टोली ड्युटीमा खटिएकै बेला बाढीको चपेटामा परेको थियो। बाँकी २१ जनाले भने बीओपीभन्दा केही माथिको डाँडामा पुगेर ज्यान जोगाए। २४ घण्टासम्म हेडक्वाटरसँगसमेत सम्पर्क विच्छेद हुँदा यो बीओपीको टोली एक्लै टिमुरेमा उद्धारमा खटिएको थियो।
भदौ ११ गते धुन्चेबाट हेलिकप्टरमार्फत इन्स्पेक्टर सञ्जु खत्रीको कमान्डमा ९ जनाको थप टोली त्यहाँ पुग्यो। उनीहरूले आफ्नै आँखाअगाडि ९ जना सहकर्मी गुमाउनुपरेको पीडा बिर्सेर हतोत्साहित नभई पुरिएका शवहरू खोतल्ने र अन्य उद्धार कार्यमा निरन्तर खटिरहे।टिमुरेमा मात्रै एकल र संयुक्त प्रयासमा सो टोलीले अहिलेसम्म ९८ वटा शव निकालिसकेको छ। अहिले नेपाली सेना, नेपाल प्रहरी र जिल्ला प्रशासन कार्यालयका प्रतिनिधिहरू पनि त्यही बीओपीमा बसेर उद्धार कार्यमा सक्रिय छन्।
विपद् क्षेत्रमा सशस्त्रको १२ नयाँ बेसक्याम्प
विशेष जनशक्तिसहित १२ वटा नयाँ बेसक्याम्प स्थापना गरेर सशस्त्र प्रहरीले बाढीपीडित क्षेत्रमा उद्धार कार्यलाई तीव्र बनाएको छ। यसअन्तर्गत धादिङमा २, नुवाकोटमा ६ र रसुवामा ४ वटा बेस थपिएका हुन्। उद्धार कार्यलाई थप प्रभावकारी बनाउन धादिङको मलेखु र नुवाकोटको ताल्केश्वर बेसमा मेडिकल टोलीसमेत राखिएको छ। ती बेसहरूमा १५ देखि ३५ जनासम्मको उद्धार टोली र विशेष तालिमप्राप्त उद्धारकहरू खटाइएको छ।
साथै, ती बेसहरूमा कोल्याप्स स्ट्रक्चर सर्च एन्ड रेस्क्यु, मेडिकल फस्र्ट रेस्पोन्डर, डग स्क्वाड, ड्रोन, रोप रेस्क्यु, डेड बडी म्यानेजमेन्ट, गोताखोर, स्विफ्ट वाटर रेस्क्यु टिम र मास क्याजुअल्टी भेइकलसहितका विशेष टोलीहरू परिचालन गरिएको छ।
प्रतिक्रिया दिनुहोस !