सुस्ताको सीमा संकेतका रुपमा रहेको ‘रुख’ बाढीले बगायो
परासी : नेपाल–भारतको सीमा छुट्याउनका लागि आपसी सहमतिमा सांकेतिक रूपमा कायम गरिएको सिमलको रुख बाढीले बगाएको छ। नवलपरासीको नारायणी नदीपारि रहेको सुस्तामा सीमा स्तम्भ नहुँदा भारतीय पक्षले पटक-पटक विवाद गर्दै आएको छ।
विवाद समाधान गर्नका लागि सुस्तासँग सीमा जोडिएका नेपाल र भारतका जिल्लास्तरका सुरक्षा प्रमुख तथा स्थानीयको सहभागितामा १८ वर्षअघि (२०६५ साल) सिमलको रुखलाई सांकेतिक सीमा चिन्ह मान्दै आइएको सुस्ता बचाउ अभियानका अध्यक्ष आदम खाँले जानकारी दिए।
गएराति नारायणी नदीमा आएको बाढीले उक्त रुख बगाएर लगेको सुस्ता बचाउ अभियानका प्रवक्ता रवीन्द्र जयसवालले बताए। बाढीका कारण सुस्ताको थारु टोलामा समेत पानी पसे पनि ठूलो क्षति भने पुगेको छैन।
सुस्ता गाउँलाई बाढीबाट जोगाउन नारायणी नदीमा सरकारले १३२ मिटर तटबन्ध निर्माण गर्न लागेको थियो। तर उक्त तटबन्ध निर्माणमा महिना दिनअघि भारतीय एसएसबीले अवरोध गरेका कारण काम अघि बढ्न नसक्दा सोही क्षेत्रबाट बाढी पसेको स्थानीयले बताएका छन्।
सीमा स्तम्भ नहुँदा सांकेतिक रूपमा सीमा छुट्याउँदै आएको रुख नै बाढीले बगाएपछि सुस्तामा सीमा सुरक्षाको विषय अझ जटिल बन्न सक्ने भन्दै तत्कालका लागि स्थानीयस्तरमा आउन सक्ने विवादतर्फ ध्यान दिन सुस्ताबासीले सम्बन्धित निकायसँग माग गरेका छन्। सुस्तामा २२० घरधुरीका १४ सय ५७ जनाको बसोबास छ।
प्रतिक्रिया दिनुहोस !