बाढीपीडितका लागि क्यानाडियन नेपाली महिला चौतारीको ५ लाख ४५ हजार सहयोग
साउदी : गत भदौ १० गते रसुवा लगायतका क्षेत्रमा आएको बाढी तथा विपत्तिबाट प्रभावितहरूको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले क्यानाडियन नेपाली महिला चौतारी परिवारले ५ लाख ४५ हजार सहयोग गरेको छ।
चौतारी परिवारको तर्फबाट संकलन गरिएको उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको जनाइएको छ । विपत्तिमा परेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको पीडामा साथ दिन आफूहरूले सानो भएपनि सहयोग स्वरूप रकम नेपाल पठाएको क्यानाडियन नेपाली महिला चौतारी परिवारले जनाएको छ।
परिवारले विपत्तिको समयमा सहयोग रकम ठूलो वा सानोभन्दा पनि मानवीय भावना र ऐक्यबद्धता महत्वपूर्ण हुने बताउँदै चौतारी परिवारले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न अपिल समेत गरेको छ। विपत्तिमा परेका नेपालीहरूको राहत तथा उद्धारका लागि सबैको सहयोग आवश्यक रहेको भन्दै परिवारले आफ्नो क्षमताअनुसार सहयोग गर्न आग्रह गरेको हो।
विदेशमा रहेर पनि मातृभूमिमा आइपरेको विपत्तिमा नेपाली समुदायले देखाएको सहयोग, एकता र मानवीय भावना प्रशंसनीय रहेको चौतारी परिवारले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !