प्रलयकारी बाढीले सिकाएका पाठ
भदौ १० गतेको भोटेकोशीमा आएको प्रलयकारी बाढीले जुन तहसनहस ग¥यो, त्यसले हामीलाई धेरै पाठहरू दिएको छ। एक त बाढीको पूर्वसूचना र तयारीका सन्दर्भमा थुप्रै कमजोरी भए। त्यसपछि उद्धार र राहतमा। अझै पनि सुरुङमा फसेकाहरूको अत्तोपत्तो छैन। बाढी प्रभावित ठाउँमा राहत र उद्धारका लागि जानै मुस्किल पर्ने अवस्था छ। हेलिकप्टरबाट मात्रै जान सकिने गरी सडक सञ्जाल विच्छेद भएको छ। सिंगो रसुवा जिल्लाको भूगोल त्यसरी स्थल यातायातको सम्पर्क टुट्दा उद्धार र राहतमात्रै कठिनाइ भएको छैन, दैनिक जीवनयापनमै मुस्किल परेको छ।
भोटेकोशी, त्रिशूली नदीमाथिका ४१ मोटरेबल पुलहरूमा धक्का पुग्यो, तीमध्ये ३५ भन्दा बढी त बगे। सँगसँगै पृथ्वी राजमार्गमा पनि बाढीले क्षति पुर्याउँदा अहिले यातायात ठप्प प्रायः छ। एकातिर त्रिशूलीको बाढीले क्षति, अर्कोतिर यही बेला कृष्णभिरको पहिरोको पुनरावृत्ति। अनि राजधानी काठमाडौंलाई बाँकी देशसँग जोड्ने प्रमुख र एकमात्र भरपर्दो राष्ट्रिय राजमार्ग ठप्प भयो।
रसुवा, नुवाकोट वा धादिङका जुन–जुन ठाउँमा यातायातको सम्पर्कविच्छेद भएको छ, सरकारले त्यहाँ–त्यहाँ तत्काल बेलिब्रिज बनाएर गाडीहरू चल्ने बनाइहाल्नुपर्छ। धादिङ सदरमुकाम जाने मुख्य पुलसमेत बगेको छ। पृथ्वी राजमार्गसँग धादिङका धेरै ठाउँ जोड्ने पुलहरू बगेका छन्। बगेका झोलुंगे पुलहरूको संख्या झन् धेरै दर्जनमा छ। यतिका धेरै मोटरेबल पुल बग्ने आकलन राज्यले गरेन। र, ती पुलहरू बाढीमा बग्न सक्ने गरी बनाएका पनि रहेछन् भनेर अहिले पुष्टि भयो। नदी सँघुरो भएकै ठाउँमा पुलहरू बनाइन्छ, यो प्राविधिक र व्यावहारिक कुरा नै हो। तर पुलको उचाइमा भने ख्याल नपुगेको देखिन्छ। दशकौंको पानीको बहावको तथ्यांक विश्लेषणसहित अग्ला पुलहरू बनाउनुपर्ने पाठ यसपटकको बाढीले सिकाएको छ।
तत्काल रसुवा, धादिङमा बेलिब्रिजहरू स्थापना गरी अहिलेको आवश्यकता टार्ने र भविष्यमा भने अग्ला, बलिया पुलहरू बनाउनुपर्छ। हामीकहाँ पुलमा पनि राजनीति धेरै थियो, कतिपय ठाउँमा पुलका लागि पुल पनि बने, खासमा बलियो र भरपर्दो पुल र खास आवश्यक ठाउँमा बनाउने दीर्घकालीन नीति खड्किएको छ। चीनले तिब्बतको बाढी प्रभावित क्षेत्रमा तत्कालै यातायात सञ्चालन गरेको खबर पनि आएको छ, हामी त्यो स्तरमा पुग्न सक्दैनौं तर बेलिब्रिजहरूको स्थापना र पहिरोले रोकेको पृथ्वी राजमार्ग खुलाउनचाहिँ सक्नुपर्छ त्यसैमा पनि कमजोरी गर्नु हुँदैन। सधंै पहिरोले छेकिने पृथ्वी राजमार्गमा पहिरो पन्छाउने उपकरण जहाँ कही तयारी हालतमा हुनुपर्छ। दिनौं लगाएर होइन, घण्टाभित्र सफाचाहिँ गर्न सक्नुपर्छ। त्यति सामाथ्र्यचाहिँ नेपालले राख्नै पर्छ।
काठमाडौं उपत्यकालाई पृथ्वी राजमार्गले जोडेर मानिसहरूको आउजाउमा मात्रै सहज भएको होइन। यो राजमार्गबाट काठमाडौंवासीका आवश्यकताका सामान ओसारपसार हुन्छ। तर यसपालिमात्रै होइन, जुनसुकै बर्खामा पनि यो बाटो अवरुद्ध हुँदा मानिसहरूको यात्रामात्रै रोकिन्न, आपूर्ति पनि ठप्प हुन्छ। यतिका दशकसम्म पनि हामीले राजधानीलाई जोड्ने अरू पनि भरपर्दा मार्गहरू बनाउन चुकैकै हौं। आज राजमार्गहरू नखुलेकै कारण काठमाडौंमा ग्यासलगायत वस्तुको अभाव भइसकेको छ। २०१० सालमा बनाएको त्रिभुवन राजपथ वा त्यसपछिको अर्को कान्ति राजपथ खासमा राजमार्गको स्तरका छैनन्। बर्दिवाससम्मको बीपी राजमार्ग त बर्सैपिच्छेको बाढीले ध्वस्त छ। ७० वर्षअघि त्रिभुवन राजपथबाट पनि काम चल्थ्यो होला। तर आजका दिनमा साँघुरो, घुम्ती नै घुम्ती भएको अग्लो डाँडाकाँडाको त्रिभुवन राजपथले आजको काठमाडौंको आवश्यकताको झिनो अंशमात्रै पूरा गर्न सक्छ। निजगढसम्मको द्रुतमार्गचाहिँ खास राजमार्ग हुन्छ। नामको द्रुतमार्गको कामचाहिँ सुस्त छ।
अझै कतिका वर्ष पूरा नहुने हो यकिन छैन। नेपाली सेनाले नै जिम्मा लिएर गरिरहेको काममै यतिका ढिला हुनु आश्चर्यजनक छ। त्यसमाथि लागत तेब्बर बढेको छ। भोटेकोशीको प्रलयकारी बाढीले दिएका पाठहरूबाट सिक्दै र दिनदिनैको आवश्यकतालाई ख्याल गरी सरकारले त्रिभुवन, कान्तिलगायत राजपथलाई स्तरोन्नति पनि गर्ने र द्रुतमार्गलाई शीघ्र पूरा गर्नेतिर ध्यान लगाउनुपर्छ।
प्रतिक्रिया दिनुहोस !