एनआरएनए एनसीसी यूएईद्वारा बाढीपीडितका लागि ११ लाख ३५ हजार सहयोग
साउदी अरब : भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित तथा पीडित परिवारको राहत र सहयोगका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् यूएईले ११ लाख ३५ हजार २४९ रुपैयाँ सहयोग गरेको छ।
नेपाल एसोसिएसन–एनआरएनए एनसीसी यूएईले नेपाली समुदायबाट संकलन गरेको उक्त रकम बाढीपीडितको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का सचिव भवानीप्रसाद तिमल्सिना र मध्यपूर्व क्षेत्रीय संयोजक रमेश श्रेष्ठमार्फत हस्तान्तरण गरिएको हो। संकलित रकम एनआरएनए केन्द्रीय खातामा जम्मा गरिने जनाइएको छ।
सहयोग हस्तान्तरण गर्दै एनआरएनए एनसीसी यूएईका अध्यक्ष भीम मल्ल ठकुरीले विपत्तिको समयमा पीडित नेपालीको साथमा उभिनु प्रवासी नेपाली समुदायको मानवीय दायित्व भएको बताए। उनले भने, ‘नेपालमा आएको यो दुःखद विपत्तिले हामी सबै नेपालीलाई भावनात्मक रूपमा जोडेको छ। विदेशमा रहे पनि पीडित परिवारको दुःखमा साथ दिनुपर्छ भन्ने भावनाका साथ यूएईमा रहेका नेपालीबाट सहयोग संकलन गरेका हौँ। यो रकमले विपत्तिमा परेका परिवारको राहत र पुनःस्थापनामा केही भए पनि सहयोग पुग्ने विश्वास लिएका छौँ।’
अध्यक्ष ठकुरीले विपद्का बेला संकलित सहयोग पारदर्शी र प्रभावकारी रूपमा पीडितसम्म पुग्नुपर्नेमा जोड दिँदै आगामी दिनमा पनि आवश्यकताअनुसार सहयोग र समन्वयलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
यसअघि नै एनआरएनए केन्द्रीय कार्यालयले १ करोड रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिसकेको छ। एनआरएनएले बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित क्षेत्रमा राहत सामग्री वितरण, स्वास्थ्य सेवा तथा अन्य आवश्यक सहयोगसमेत गर्दै आएको जनाएको छ। भोटेकोशी तथा आसपासका क्षेत्रमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएपछि नेपालभित्र तथा विदेशमा रहेका नेपाली समुदाय, संघसंस्था र विभिन्न सामाजिक अभियन्ताहरूले राहत तथा उद्धारका लागि सहयोग जुटाउँदै आएका छन्।
प्रवासी नेपालीले संकटका बेला देखाएको यो एकताले विपत्तिमा परेका परिवारलाई तत्काल राहतसँगै पुनःस्थापनाका लागि समेत थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस !