त्रिशूली थ्री बीमा पनि पर्खिरहेका छन् आफन्त
नुवाकोट : हरेक पटक फोनको घण्टी बज्दा सन्तोष भट्टको धड्कन तेज हुन्छ। मनमा एउटै आशा हुन्छ— सायद बुवाको केही खबर आयो कि !
भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीले उनका बुवा चित्रगुप्त भट्टलाई बेपत्ता बनायो। उनी किस्पाङ गाउँपालिका–५ स्थित त्रिशूली थ्री बी जलविद्युत् आयोजनामा सुरक्षा गार्ड थिए। घटना भएको १० दिन बितिसक्यो। न कुनै अत्तोपत्तो छ, न त राहत मिल्ने खबर नै। परिवार अहिले ‘सास कि लास’को छटपटी र पर्खाइमा छ।
‘१० दिन भइसक्यो, बुवाको केही थाहा छैन,’ सन्तोष भन्छन्, ‘अन्य आयोजनाबाट मानिसहरू उद्धार भइरहेका छन्। तर थ्री बीको खोजीबारे कसैले स्पष्ट भन्दैन। हामी झन् चिन्तित छौं।’
शुक्रबार नजिकैको त्रिशूली ३ए जलविद्युत् आयोजनाबाट दुई जनाको सकुशल उद्धार भयो। यो खबरले भट्ट परिवारमा आशाको सानो किरण जगाएको छ। थ्री एमा सम्भव हुने उद्धार थ्री बीमा किन हुन सकेन ? आफन्तहरूको प्रश्न यही छ।
‘थ्री एको खबर सुन्दा बुबा जीवितै हुनुहुन्छ कि जस्तो लाग्छ,’ सन्तोष थप्छन्, ‘तर त्यहाँको वास्तविक अवस्था र खोजी कहाँ पुग्यो, कसैले भन्दैनन्।’
पीडा सन्तोषको मात्र होइन। थ्री बी आयोजनाबाट हराएका अन्य व्यक्तिका परिवार पनि यसैगरी छटपटाइरहेका छन्। कोही आफन्त फर्कने आशामा छन्, कोही कम्तीमा शव भेटियोस् भन्ने प्रार्थनामा छन्। १० दिनसम्म खोजी नहुँदा उनीहरूको निराशा र आक्रोश थप बढेको छ।
अन्य प्रभावित क्षेत्रमा उद्धार टोली निरन्तर खटिएका छन्। तर थ्री बी आयोजनाको खोजीमा किन ढिलाइ भयो ? सम्बन्धित निकायले यसको स्पष्ट जवाफ दिनुपर्ने आफन्तहरूको माग छ। अहिले हराएका आफन्त फर्कने झिनो आशा र नराम्रो खबर सुन्नुपर्ने त्रासबीच परिवारहरू दिन काटिरहेका छन्। उनीहरूको एउटै याचना छ— ‘अरू ठाउँमा उद्धार हुँदा थ्री बीमा खोजी कहिले हुन्छ ? हाम्रा मान्छेको अवस्था कहिले थाहा हुन्छ ?’
प्रतिक्रिया दिनुहोस !