दाहसंस्कार सकिएपछि जीवितै उद्धार
काठमाडौं/ नुवाकोट: भोटेकोशी बाढीमा बेपत्ता भएको ८ दिनसम्म खोज्दा पनि नभेटिएपछि परिवारले कुशको शव बनाएर चण्डिका श्रेष्ठको दाहसंस्कार गरे। छोराहरू काजकिरियामा बसे। तर, बेपत्ता भएको ११औं दिनमा ६४ वर्षीया श्रेष्ठ जीवितै भेटिइन्।
भदौ १० गतेको बाढीमा बेपत्ता भएकी श्रेष्ठ घरभित्रै आधा शरीर हिलोमा गडेको अचेत अवस्थामा उद्धार गरिएको हो। नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावतीस्थित आनन्द श्रेष्ठको चारतलाको घरबाट उद्धार गरिएको हो। श्रेष्ठलाई सशस्त्र प्रहरी बल नेपालका इन्स्पेक्टर सुमन विकको कमान्डमा खटिएको टोलीले उद्धार गरेको हो।
हाल उनको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा उपचार भइरहेको छ। उनको सकुशल उद्धार भएपछि काजकिरिया विधिपूर्वक फुकुवा गरिएको छ। तर, उनका श्रीमान् अझै बेपत्ता छन्। शनिबार नै त्रिशूली–१ (२१६ मेगावाट) को सुरुङबाट चिनियाँ नागरिक लोहायि ताओको उद्धार गरिएको छ। नेपाली सेना र दक्षिण कोरियाको विपद् विज्ञ टोलीले बेपत्ता भएको ११औं दिनमा उद्धार गरेको हो। काठमाडौंमा आयोजित एक कार्यक्रममा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले ११औं दिनसम्म पनि सकुशल उद्धार हुनु सन्तोषको विषय भएको बताए। उनले भने, ‘समयमै उद्धार भएको भए अझ धेरैको ज्यान बच्ने रहेछ।’
जीवितै छ आशा
बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र विदेशी उद्धारकर्ताको संयुक्त टोलीले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको छ। हालसम्म ६ हजार १ सय २ जना पुरुष र २ हजार ६ सय ६८ महिला गरी ८ हजार ८ सय २१ जनाको उद्धार गरिएको नेपाल प्रहरीले जनाएको छ। अझै ४ हजार ८ सय ८७ जना बेपत्ता छन्।
बाढी प्रभावित क्षेत्रमा रहेका राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. गोविन्दराज पोखरेलका अनुसार, भोटेकोशीको बाढीले प्रभावित क्षेत्रको नापनक्सा नै फेरिन पुगेको छ।
भोटेकोशीको विनाशकारी बाढीले बस्तीको अस्तित्व नामेट पारेको छ। जीवनयापनका आधार खोसेको छ। आफन्त बेपत्ता छन्। कतिपय घाइते अस्पतालमा छन्। विस्थापितसँग न परिवारका सदस्य छन् न त बस्नका लागि थातबास नै छ। ‘बाढीले हरेक घरमा शोकाकुल बनाएको छ। विपत्को सबैभन्दा दुःखद् पक्ष मानवीय पक्ष छ,’ बाढीप्रभावित स्थलबाट डा. पोखरेल भन्छन्, ‘जलविद्युत् आयोजनाको सुरुङ घरहरूमा नयाँ जीवन भेटिन सक्छ। त्यसैले उद्धार प्रयासलाई निरन्तरता दिनुपर्छ। बस्तीमा राहत र पुनर्निर्माणका लागि थप अन्तर्राष्ट्रिय सहयोग जुटाउनुपर्ने खाँचो छ।’
अँध्यारोमा उज्यालो
भोटेकोशी र त्रिशूली नदीको बाढीले बस्तीमा पुर्याएको अँध्यारोबीच उज्यालो दृश्य पनि देखिएको छ, त्यो हो– बाढीले भत्काएको जीवनमा सहयोगी हातको साथ। अमेरिकी प्रविधि कम्पनी एनभिडियाका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन ह्वाङले बाढीपीडितका लागि १० मिलियन अमेरिकी डलर (करिब १ अर्ब ५३ करोड रुपैयाँ) सहयोग प्रदान गरेका छन्।
व्यक्ति, सामाजिक संस्था, व्यवसायी, निजी अस्पतालदेखि विभिन्न मुलुकसम्मले बाढीपीडितका लागि हात बढाएका छन्। पीडितहरूप्रति मानवीय संवेदना र सहयोगको लहर उर्लिएको छ। संकटको घडीमा व्यक्तिगत तवरबाट, विभिन्न संघ–संस्थाका साथै मित्रराष्ट्रहरूले समेत आर्थिक सहयोग, जनशक्ति, खाद्यान्न र लत्ताकपडाजस्ता दैनिक उपभोग्य सामग्रीहरू बाढी प्रभावित क्षेत्रमा पुर्याइरहेका छन्।
बाँकेलगायत विभिन्न जिल्लाका कारागारका कैदीबन्दीले सिदा खर्च कटाएर सहयोग गरेका छन्। त्यस्तै चितवनको भीमोदय नमुना माध्यमिक विद्यालयका विद्यार्थीहरूले खाजा खर्चबाट विपद् प्रभावितलाई सहयोग संकलन गरेका छन्। ‘पूर्वदेखि पश्चिम, हिमाल, पहाड र तराईबाट समेत सहयोग र राहत वितरण भइरहेको छ। एक क्षेत्रका नेपालीलाई चोट पुग्दा अन्य क्षेत्र वा भेगका नेपालीबाट सहयोग पुगेको उदाहरण फिल्डमा देख्न सकिन्छ। हरेक नेपालीको दुःख सुखमा प्रत्येक नेपाली स्वतःस्फूर्त जोडिँदा रहेछन् भनेर विश्वले थाहा पाएको छ,’ राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृतसमेत रहेका डा. पोखरेलले भने।
क्षति ४ खर्ब, सहयोग ११ अर्ब
भदौ १० गते आएको विनाशकारी बाढीले ३ खर्ब ८७ अर्ब ५४ करोड रुपैयाँ बराबरको आर्थिक क्षति तथा नोक्सानी पुर्याएको प्रारम्भिक अनुमान गरिएको छ। गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीका अनुसार, प्रभावित क्षेत्रको प्रारम्भिक पुनःस्थापना अर्थात् ‘अर्ली रिकभरी’का लागि ७ अर्ब १५ करोड रुपैयाँ आवश्यक पर्ने प्रारम्भिक अनुमान गरिएको छ। बाढीबाट बस्ती, भवन, पुल, ऊर्जा, विद्युत्, दूरसञ्चार, स्वास्थ्य, शिक्षा, कृषिलगायतका क्षेत्रमा ठूलो क्षति पुगेको प्राधिकरणले जनाएको छ। बाढीले विशेषगरी तीन जिल्लाहरू रसुवा, नुवाकोट र धादिङलाई क्षतविक्षत पारेको छ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा दाताहरूले सहयोग गर्ने क्रम बढेको छ। हालसम्म ११ अर्ब ५ करोड ५६ लाख २६ हजार ९ सय ७३ रुपैयाँ मौज्दात रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ। कोषमा जम्मा भएको १ अर्बभन्दा बढी बाढी प्रभावित क्षेत्रमा निकासा गरिएको जनाइएको छ।
गैरसरकारी संस्थाद्वारा ४० करोड सहयोग
सहयोगमा एकद्वार नीति अपनाइएको छ। यसका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष खडा गरिएको छ। सहयोगका लागि १५ वटा गैरसरकारी संस्था (एनजीओ) ले १२ करोड ६२ लाख ८६ हजार ५ सय ४४ रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्। त्यस्तै ३० वटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) ले २६ करोड ९ लाख २९ हजार ७ सय १२ रुपैयाँ सहयोगको घोषणा गरेका छन्।
स्वास्थ्य संस्थाको सहयोग, परामर्शदेखि उपचारसम्म
स्वास्थ्य संस्थाहरूले नगद सहयोग गर्नेदेखि निःशुल्क उपचारमा जुटेका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटाका अनुसार, सरकारी र निजी अस्पताल गरी १८ वटा स्वास्थ्य संस्थामा ३ सय ५ जना बिरामीको उपचार भएको छ। डा. देवकोटा भन्छन्, ‘मृतक तथा बेपत्ता परिवारका आफन्त एवं साथीहरूलाई मनोसामाजिक सहयोग एवं परामर्श दिन चिकित्सक र मनोपरामर्शदाताहरू परिचालित छन्।’ हालसम्म २ हजार ८७ जनाले मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग र प्राथमिक मनोवैज्ञानिक सहायता प्राप्त गरिसकेको डा. देवकोटाले जानकारी दिए। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले प्रतिकार्यलाई सघाउन दक्षिणपूर्वी एसियाली क्षेत्रीय स्वास्थ्य आपत्कालीन कोषमार्फत १ लाख ५० हजार (अर्थात् करिब २ करोड २७ लाख बराबर) को आपत्कालीन सहायता उपलब्ध गराएको छ। डब्लूएचओले यसअघि करिब १० हजार व्यक्तिलाई तीन महिनासम्म स्वास्थ्य सेवा दिन पुग्ने इमर्जेन्सी हेल्थ किट, बहुउद्देश्यीय टेन्ट, सर्जिकल मास्क, पन्जा, ह्यान्ड स्यानिटाइजरलगायत सामग्री पठाइसकेको छ।
बीएलसी ग्लोबल होल्डिङ्स (नर्भिक इन्टरनेसनल हस्पिटलसमेतको समूहगत) द्वारा बाढी प्रभावितका लागि ३ करोड ३६ लाख ७० हजार रुपैयाँ सहयोग प्रदान गरिएको छ। तिलगंगा आँखा प्रतिष्ठानले १ करोड ३१ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरेको छ। मेडिकेयर अस्पतालले १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ। नेपालगन्जस्थित सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेज प्रालि, अस्पताल र नेपालगन्ज मेडिकल कलेजको कोहलपुर शिक्षण अस्पतालले २५/२५ लाख सहयोग गरेका छन्। ह्याम्स हस्पिटलले २५ लाख र ओम अस्पतालले १५ लाख रुपैयाँ सहयोगको घोषणा गरेका छन्।
कैलालीस्थित निसर्ग अस्पतालले ११ लाख ११ हजार १ सय ११ रुपैयाँ ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा जम्मा गरेको छ। सुर्खेतस्थित कर्णाली केयर अस्पतालले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको छ। काठमाडौं मेडिकल कलेज (केएमसी) ले बाढी प्रभावित क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।
निजी अस्पतालहरूको छाता संस्था एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन) का अध्यक्ष डा. पदम खड्काले स्वास्थ्य संस्थाहरूबाट कोषमा रकम जम्मा गर्ने कार्य निरन्तर रहने बताए। नेपाल औषधि आयातकर्ता संघले बाढी प्रभावितको उपचारका लागि करिब ३ करोड रुपैयाँ मूल्यबराबरका औषधि तथा स्वास्थ्य सामग्री दिएको छ।
कलाकारको सहयोग
महानायक राजेश हमालले अस्ट्रेलियामा रहेका नेपालीहरूसँगको सहकार्यमा बाढीपीडितका लागि राहत रकम जुटाइरहेका छन्। दुई च्यारिटी डिनरबाट २१ लाख रुपैयाँ संकलन भएको छ। पहिलो डिनरबाट ११ लाख ५० हजार र दोस्रोबाट ९ लाख ५० हजार रुपैयाँ संकलन भएको हो। उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भइसकेको जनाइएको छ। नायिका नीता ढुंगानाले विपत्तिको बीचमा आफ्नो फिल्म ‘पार्वती’ प्रदर्शन गर्दै पहिलो दिन आफ्नो भागमा परेको ११ लाख रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरेकी छिन्। त्यसअघि उनले एक लाख रुपैयाँ प्रदान गरेकी थिइन्। भारतीय कलाकार सोनु सुदले घटनास्थलमै पुगेर सहयोग गरेका छन्।
परिवारका सदस्य गुमाएका/बेपत्ता भएका कारण शोकमा परेकादेखि करोडौंको जायजेथा गुमाएकालाई मनोवैज्ञानिक असर परेको छ। प्रभावितलाई मनोसामाजिक उपचारदेखि जीविकोपार्जनको अवसर सिर्जना गर्नुपर्ने जरुरी भएको योजना आयोगका पूर्वउपाध्यक्ष डा. पोखरेलले बताए।
जसले गरे डेढ अर्ब सहयोग
अमेरिकी प्रविधि कम्पनी एनभिडियाका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन ह्वाङले बाढीपीडितका लागि १० मिलियन अमेरिकी डलर (करिब १ अर्ब ५३ करोड रुपैयाँ) सहयोग प्रदान गरेका छन्।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफ्नो आधिकारिक भिडियो सन्देशमार्फत कृतज्ञता व्यक्त गरेका छन्। प्राप्त रकम रसुवा, नुवाकोट, धादिङलगायतका बाढी प्रभावित जिल्लामा राहत, विस्थापितको पुनःस्थापना तथा पूर्वाधार पुनर्निर्माणमा खर्च गरिने जनाइएको छ। अर्थमन्त्री वाग्लेले यस किसिमको सहयोगले अन्य व्यक्तिलाई पनि सहयोगका लागि प्रेरित गर्ने बताए।
हालसम्म बाढी–पहिरो राहतका लागि विभिन्न कर्पोरेट क्षेत्र र व्यक्तिबाट प्राप्त सहयोगमध्ये यो सबैभन्दा ठूलो हो। जेन्सेन ह्वाङले सन् १९९३ मा एनभिडिया स्थापना गरेका हुन्। स्थापनाकालदेखि नै उनले कम्पनीको अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा सञ्चालक समितिका सदस्यका रूपमा जिम्मेवारी सम्हाल्दै आएका छन्।
प्रतिक्रिया दिनुहोस !