हाइड्रोपावरको सूचक सम्हालिँदा लगानीकर्तालाई राहत
काठमाडौं: भदौ १० गते बुधबार रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढीले धेरै धनजनको नोक्सानी भयो। भोटेकोशी र त्रिशूली नदी आसपासका १३ वटा हाइड्रोपावर कम्पनीमा ठूलो क्षति पुग्यो। त्यसपछि सेयर बजारमा हाइड्रोपावर र नन् लाइफ इन्स्योरेन्सका सूचक उच्च अंकले घट्न थाले। तीन दिनमा हाइड्रोपावरको २२८ अंक र नन् लाइफको १०९६ अंकले घटे। हाइड्रोपावर क्षतिको ‘क्लेम’ नन् लाइफ इन्स्योरेन्समा पर्ने भएकाले यसको सेयर सूचक पनि घटेको हो।
गत मंगलबार सेयर कारोबारमा कडा निगरानी राख्न नेप्सेलाई नेपाल धितोपत्र बोर्ड (सेबोन) ले कडा निर्देशन दियो। बाढीले क्षति पुगेका आयोजनाको सेयर प्रभावित हुनसक्ने भन्दै सेबोनले बजार पारदर्शिता र लगानीकर्ताको हित संरक्षणमा विशेष सतर्कता अपनाउन भनेको थियो। त्यसैदिन नन् लाइफको ८० अंक र हाइड्रोपावरको ३५ अंकले बढ्यो। यसपछि पनि हाइड्रोपावरको सूचक बढेपछि निराश लगानीकर्तालाई राहत मिलेको छ। भदौको तेस्रो सातामा सेयर कारोबार ४ दिन भएकोमा नेप्से १ दिन घटेर ३ दिन बढ्यो। शुक्रबार ‘ श्रीकृष्णा जन्माष्टमी’ को बिदा परेकाले सेयर कारोबार भएन। अघिल्लो साता भने ४ दिन सेयर कारोबार भएकोमा चारै दिन घटेको थियो।
अघिल्लो साता कारोबारको अन्तिम दिन शुक्रबार २५५७.३१ अंकमा बन्द भएको नेप्से यस साता सेयर कारोबारको पहिलो दिन सोमबार दोहोरो अंकले घट्यो। त्यसदिन नेप्से ४३.८९ अंकले घटेर २५१३.४२ विन्दुमा झर्यो। त्यसपछिका तीन दिनै लगातार नेप्से बढ्यो। मंगलबार ९.२४ अंक र बुधबार १५.४४ अंकले बढ्यो।
यस साताको अन्तिम कारोबारको दिन बिहीबार नेप्से सामान्य अंकले बढ्यो। बिहीबार नेप्से ४.६६ अंकले घटेर २५४२.७७ विन्दुमा बन्द भयोे। सातामा एकै दिनको कारोबारमा नेप्से ४३.८९ अंकले घट्ने र तीन दिनको कारोबारमा २५.३४ अंकले बढ्दा नेप्सेमा १४.५५ अंकले गिरावट आयो। अघिल्लो सातामा पनि नेप्से ६१.२९ अंकले घटेको थियो। यस सातामा मंगलबार न्यून विन्दु २५०१.४९ मा र सोमबार उच्च विन्दु २५५६.९६ अंकसम्म नेप्से बढेर सेयर कारोबार भयो। यस साता सबैभन्दा कम मंगलबार ३ सय ४१ वटा कम्पनीको कारोबार भएकोमा बुधबार साताकै सबैभन्दा बढी ३ सय ५४ स्क्रिप्टको कारोबार भयो। अघिल्लो साता बढीमा ३ सय ५७ स्क्रिप्टसम्मको कारोबार भएको थियो।
यस साता सबैभन्दा कम सेयर कारोबार मंगलबार २ अर्ब ९० करोड ६९ लाख र सबैभन्दा बढी सोमबार ३ अर्ब ६४ करोड ८६ लाख रुपैयाँको भयो। साताभरिमा ४ दिनको कारोबारमा १२ अर्ब ९६ करोड ३४ लाख रुपैयाँको सेयर खरिद बिक्री भएको थियो।
यसबाट औसतमा दैनिक ३ अर्ब २४ करोड ८ लाख रुपैयाँको सेयर कारोबार भएको देखाउँछ। अघिल्लो साता भने १५ अर्ब ९० करोड ९६ लाखको कारोबार हुँदा औसतमा दैनिक ३ अर्ब ९७ करोड ७४ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको थियो। यसले सातामा औसत दैनिक सेयर कारोबार लगभग १८ प्रतिशतले घटेको देखाउँछ। अघिल्लो साता पनि औसत दैनिक सेयर कारोबार करिब ११ प्रतिशतले घटेकै थियो।
नेप्सेको कुल बजार पुँजीकरण शुक्रबार ४३ खर्ब ७३ अर्ब ९० करोड रुपैयाँ छ। अघिल्लो साताको अन्तिम दिन शुक्रबार बजार पुँजीकरण ४४ खर्ब ७० करोड रुपैयाँ पुगेको थियो। साताभरमा नेप्से १४.२९ अंकले घट्दा कुल बजार पुँजीकरण २६ अर्ब ८० करोड रुपैयाँले घट्न पुग्यो। अघिल्लो साता भने कुल बजार पुँजीकरण १ खर्ब ३ अर्ब ८५ करोड रुपैयाँले घटेको थियो।
यस साता सकारात्मक सर्किट लेभलमा कुनै पनि कम्पनीको कारोबार भएन। सोमबार उपकार लघुवित्त वित्तीय संस्थाको १३.१६ प्रतिशत, मंगलबार माथिल्लो मैलुड खोला जलविद्युत्को ७.२५ प्रतिशत, बुधबार पनि उपकार कै ११.८७ प्रतिशत र बिहीबार वेन नेपाल लघुवित्त वित्तीय संस्थाको ९.७६ प्रतिशतले बढेर सेयर कारोबार भयो।
सोमबार भने मैलुङ खोला जलविद्युत् कम्पनीको नकारात्मक सर्किट लेभलमा कारोबार भयो, अघिल्लो बुधबार पनि यस कम्पनीको नकारात्मक नै कारोबार भएको थियो। यस साता सर्वाधिक बढी कारोबार हुनेमा सोमबार शिभम् सिमेन्टको २६ करोड ३८ लाख ७८ हजार, मंगलबार सोलु हाइड्रोपावर १३ करोड ८२ लाख ७८ हजार र बुधबार सानिमा मिडिल तमोर हाइड्रोपावरको १४ करोड १७ लाख ८५ हजार रुपैयाँ छ। त्यसैगरी, बिहीबार सर्वाधिक कारोबार रिलायन्स स्पिनिङ मिल्स्को ४० करोड ९० लाख ८८ हजार रुपैयाँको भयो।
सेयर बजारमा सूचीकृत १३ उपसमूहमा यस साता ४ उपसमूको बढेको थियो भने अरू ९ वटाको घटेको थियो। बैंकिङ, म्यानुफ्याचरिङ एन्ड प्रोसेसिङ, ट्रेड र इन्भेस्टमेन्ट समूहको बढेको हो। अघिल्लो साता १ उपसमूहको बढेको थियो भने अरू १२ वटाको घटेको थियोे। बढ्नेमा म्यानुफ्याचरिङ एन्ड प्रोसेसिङ समूह थियो।
यस सात सेन्सेटिभ इन्डेक्स १.६२ अंक, फ्लोट इन्डेक्स ०.९१ र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.४६ अंकले घटेका थिए। अघिल्लो साता पनि सेन्सेटिभ इन्डेक्स १०.२४ अंक, फ्लोट इन्डेक्स ४.५० र सेन्सेटिभ फ्लोट इन्डेक्स ३.७३ अंकले घटेका थिए।
सीडीएससीले रोकेको संस्थापक सेयर किनबेचको बाटो खुला
१८ महिनादेखि रोकिएको संस्थापक सेयर कारोबारको बाटो खुलेको छ। सेबोनको निर्देशनपछि सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी)ले लकइन अवधि सकिएका संस्थापक सेयरको कारोबार खुलाएको हो।
दोहोरो इन्टरनेसनल सेक्युरिटी आइडेन्टिफिकेसन नम्बर (आईजीन) लागू गर्ने विषयलाई लिएर डेढ वर्षदेखि संस्थापक सेयर कारोबार रोकिएको थियो। आईपीओ बिक्रीपछि संस्थापक र साधारण सेयरको एउटै आईजीनमा किनबेच हुने गरेकोमा सीडीएससीले दुईवटा आईजीन हुनुपर्ने अडानले राखेको थियो। यसकै कारण इनर्जिङ नेपाल, कालिञ्चोक दर्शन कम्पनीलगायतले संस्थापक सेयर लकइन अवधि सकिए पनि बिक्री गर्न पाएका थिएनन्।
संस्थापक र साधारण सेयरको छुट्टाछुट्टै आईजीनमा कारोबार गर्नुपर्ने भन्ने सीडीएससीको प्रस्तावलाई सेबोनले अस्विकार गरेको छ। सीडीएससीले कम्पनीलाई आईजीन एकीकृत गरेर थप प्रक्रिया अगाडि बढाउन भनेको छ। यसअघि सीडीएससीले कम्पनीहरूको आईजीन एकीकृत गर्न नमानेपछि संस्थापक सेयरको बिक्री रोकिएको थियो।
प्रतिक्रिया दिनुहोस !