विपद् प्रभावितको भावना सुनौं, पीडा नकोट्याऔं
भोटेकोशी बाढी प्रभावितहरू के कस्तो भावना वा समस्या लिएर परामर्श एवं उपचार गर्न आइरहेका छन् ?
भदौ १० गतेको बाढीले घरजग्गा, सम्पत्ति बगाइदिएका तथा पारिवारिक सदस्य बेपत्ता भएका व्यक्तिहरू विभिन्न भावना एवं समस्या लिएर आइरहेका छन् । उनीहरूमा विशेषगरी एङजाईटीका लक्षणहरू पाइएको छ। चिन्ता, मनमा कुरा खेल्ने, निद्रामा गडबडी हुने, दिक्कपना, उदासिपना पाइएको छ।
ठूलो विपद्ले व्यक्तिको मनमा पहिलो चोट कस्तो पार्छ ?
केही दिनसम्म निद्रा नलाग्ने, छटपटी हुने, मनमा सोचाइ आउने र भविष्यप्रतिको चिन्ता वा अन्यौलताले सताउने हुन्छ। परिवारिक सदस्य नै गुमाएको वा बेपत्ता भएको छ भने कहाँ होला ? कता होला भन्ने चिन्ता बढी देखिन सक्छ। कतिपयलाई चिच्याउने, कराउने जस्ता समस्या देखिन सक्छ। कसै कसैलाई प्रिय सदस्य गुमाउनु पर्दा यस्तो जिन्दगी बाँचेर के गर्नु ? भन्ने खालको नकारात्मक सोंचाई समेत आउन सक्छ।
बाढीको दृश्य बारम्बार सम्झिनु सामान्य हो कि मानसिक समस्या ?
आफूले प्रत्यक्ष देखेको/भोगेका व्यक्तिहरूमा ती दृश्यहरू मस्तिष्कमा बसिरहेको हुन्छ। मनमा चिन्ता,सोचाइ सँगसँगै निद्रा पनि राम्रोसँग लागेन भने बचाउ बचाउ भन्दै चिच्याउने वा बर्बराउने हुन सक्छ। यस खालका लक्षणहरू करिब दुई सातासम्म देखिन सक्छ।
सुरुका केही हप्ता (१ देखि २ हप्ता) सम्म यस्ता लक्षणहरू देखिनु सामान्य प्रतिक्रिया (एक्युट स्टे«स रियाक्सन) नै हो। कसैकसैलाई ६ महिना वा एक वर्ष पछिसम्म पनि बारम्बार त्यस खालका दृश्यहरू आउने हुन सक्छ। यदि १ वर्ष वा लामो समय बितिसक्दा पनि यी लक्षणहरू निरन्तर रहिरहन्छन् भने त्यसलाई मानसिक समस्या (पीटीएसडी) को रूपमा लिनुपर्छ।
विपद्मा पछि देखिन सक्ने पीटीएसडीका सुरुवाती लक्षणहरू के–के हुन् ?
यस्तो ठूलो विपद्मा पीटिएसडी हुने सम्भावना एकदमै धेरै हुन्छ । सुरुवाती लक्षणहरूमा घटनाबारे बारम्बार सोच आउनु, त्यो सोचबाट बच्न खोज्दा कल्पकल्प पसिना आउने र डर लाग्ने, निन्द्रामा डरलाग्दा सपनाहरू देखिने जस्ता लक्षणहरू देखा पर्छन्।
यसकोे असर कहिलेसम्म देखिइरहने हुन्छ ?
लामो समयसम्म रहने असरलाई हामी पीटीएसडी (पोस्ट ट्रम्याटिक स्ट्रेस डीअसर्डर) भन्छौं। यसमा विपद्को ६ महिना वा १ वर्षपछि पनि उही घटनाका विचारहरू बारम्बार आउने, ‘फ्ल्यासब्याक’ हुने, आफू अझै पनि त्यही परिस्थितिमा छौं कि जस्तो महसुस हुने र तर्सिने जस्ता लक्षणहरू देखिन सक्छन्।
एक्युट स्ट्रेस रियाक्सन र पीटिएसडी बीचको फरक के छ ?
एक्युट स्ट्रेस रियाक्सन घटना लगत्तै देखिने हुन्छ। र, केही समयपछि आफैं हराएर जाने सामान्य प्रतिक्रिया हो। तर, पीटीएसडी भनेको घटना घटेको केही महिनापछि देखिने र लामो समयसम्म रहिरहने गम्भीर आघातजन्य समस्या हो। जसका लागि उपचारको आवश्यकता पर्छ।
- केही दिनसम्म निद्रा नलाग्ने, छटपटी हुने, मनमा कुरा खेलिरहने र भविष्यप्रतिको चिन्ता वा अन्योलले सताउने हुन्छ। पारिवारिक सदस्य नै गुमाएको वा बेपत्ता भएको छ भने ‘कहाँ होला? कता होला?’ भन्ने चिन्ता बढी देखिन सक्छ।
- गर्भवती महिलाहरूमा पनि विपद्को मानसिक असर बढी देखिन्छ। बालबालिकाहरूले आफ्ना पीडा र भावना सोझै व्यक्त गर्न सक्दैनन्।
- ठूलो आघात वा क्षति व्यहोरेका व्यक्तिहरूलाई पूर्ण रूपमा सामान्य अवस्थामा फर्कन १ देखि २ वर्षसम्म पनि दीर्घकालीन मनोवैज्ञानिक परामर्श र उपचारको आवश्यकता पर्न सक्छ।
- कसैले पनि घाइतेहरूलाई बारम्बार ‘त्यो दिन के भयो?’ भनेर जबर्जस्ती कोट्याउनु हुँदैनस यसले उनीहरूको ‘ट्रमा’ (मानसिक आघात) अझ बल्झाउँछ।
कुन–कुन लक्षणहरू देखिएपछि परिवारले तुरुन्तै विशेषज्ञको परामर्श लिनुपर्छ ?
यदि व्यक्तिमा निरन्तर टोलाउने, काम्ने, कल्पकल्प पसिना आउने, राति अनिद्रा हुने, अत्यधिक तर्सिने, ‘जिन्दगी बेकार भयो, म मात्रै बाँचेर के गर्ने भन्ने जस्ता आत्महत्याका सोचहरू आउने वा अरूलाई हानि पु¥याउने लक्षण देखिएमा तत्कालै मनोचिकित्सक वा परामर्शदातासँग सम्पर्क गर्नुपर्छ।’
प्राकृतिक विपद्को मानसिक असर बालबालिका र वयस्कमा कसरी फरक देखिन्छ ?
वयस्कमा जस्तै बालबालिका, महिला तथा गर्भवती महिलाहरूमा पनि विपद्को मानसिक असर बढी देखिन्छ। बालबालिकाहरूले आफ्ना पीडा र भावना सोझै व्यक्त गर्न सक्दैनन्। त्यसैले उनीहरूमा साना–साना कुरामा रिसाउने, जिद्दी गर्ने, टोलाउने, आफ्ना खेलौना वा सामान फाल्ने, राति निन्द्रामा तर्सिने, ब्युँझिने तथा अस्वाभाविक शब्दहरू बोल्ने जस्ता लक्षणहरू देखिन्छन्।
गर्भवती र सुत्केरीमा चाहिँ यसको प्रभाव कस्तो रहन्छ ?
महिलाहरूमा चिन्ता, डर र भविष्यप्रतिको अन्यौलता बढी देखिन्छ। विशेष गरी गर्भवती र सुत्केरीहरूमा आफ्ना बालबच्चाको सुरक्षा र खानपानलाई लिएर बढी तनाव हुने गर्छ। म त जसोतसो बसौंला, तर बच्चाको के होला ? भन्ने सोचले उनीहरूलाई अझ बढी मानसिक दबाबमा पार्छ।
विपद्बाट प्रभावितहरूलाई मनोवैज्ञानिक उपचार वा परामर्श कति समयसम्म आवश्यक पर्छ ?
यो विपद्को प्रकृति र व्यक्तिको मानसिक अवस्थामा भर पर्छ। परिवारका सदस्यहरू सकुशल रहेका र सामान्य क्षति भएकाहरूलाई केही समयको परामर्शले नै राहत मिल्छ। तर, ठूलो आघात वा क्षति बेहोरेका व्यक्तिहरूलाई भने पूर्णरूपमा सामान्य अवस्थामा फर्कन १ देखि २ वर्षसम्म पनि दीर्घकालीन मनोवैज्ञानिक परामर्श र उपचारको आवश्यकता पर्न सक्छ।
शारीरिक चोट निको हुँदै जाँदा पनि मानसिक त्रास चाहिँ किन रहिरहन्छ ?
शारीरिक चोट अस्पतालको उपचारपछि निको हुन्छ। तर, मानसिक चोटमा भने मानिसले धेरै कुराहरू गुमाएको हुन्छ– जस्तैः आफन्त, घरजग्गा वा काम। ती कुराहरू दैनिक जीवनमा बारम्बार आइरहने र परिस्थितिमा छाउन गाह्रो हुने भएकाले मानसिक त्रास लामो समयसम्म रहिरहन्छ।
बाढीका घाइतेहरूका लागि शारीरिक उपचारसँगै मनोसामाजिक सहयोग कत्तिको आवश्यक छ ?
उद्धार र शारीरिक उपचारपछि मनोसामाजिक सहयोग एकदमै जरुरी छ। मानिसले आफ्ना आफन्त र सर्वस्व गुमाएको अवस्थामा यो दुवै उपचारलाई सँगसँगै लैजानु अनिवार्य हुन्छ। अस्पतालमा भर्ना भएका घाइतेहरूको मानसिक अवस्थाको ’स्क्रिनिङ’ पनि नियमित रूपमा गरिनुपर्छ।
विपद्पछि विस्थापित एवं घाइतेलाई त्यो दिन के भयो ? भन्दै बारम्बार सोध्नु कति उचित हो ?
विपद् प्रभावितहरूलाई आफ्ना भावना साथीभाइ वा परिवारसँग साट्न दिनुपर्छ। मुख्य कुरा, मिडिया वा अरू कसैले पनि घाइतेहरूलाई बारम्बार ‘त्यो दिन के भयो ? ’ भनेर जबर्जस्ती कोट्याउनु हुँदैन, यसले उनीहरूको ‘ट्रमा’ अझ बल्झाउँछ। छापा, विद्युतीय सञ्चारमाध्यम मात्र होइन सामाजिक सञ्जालमा पनि विपद्का दुःखद घटनाहरू बारम्बार देखाइरहने वा दोहो र्याइरहने काम तत्काल रोक्नुपर्छ।
उपचारपछि घाइतेहरूलाई सामान्य जीवनमा फर्कन कति समय लाग्छ ?
यो व्यक्तिको शिक्षा, पारिवारिक तथा सामाजिक सहयोग (सपोर्ट सिस्टम ) र उसले व्यहोरेको क्षतिमा भर पर्छ। राम्रो सहयोग पाएमा छिट्टै निको हुन सक्छ, नत्र धेरै समय लाग्न सक्छ।
विपद् प्रभावितलाई सामान्य जीवन फर्कन सरकार, परिवार र समाजले कसरी सहयोग गर्नुपर्छ ?
परिवारका सदस्य गुमाएका वा बेपत्ता भएकाहरूलाई कहिल्यै पनि झुटो आशा वा आश्वासन दिनुहुँदैन। यथार्थ कुराहरू बिस्तारै–बिस्तारै बुझाउँदै लैजानुपर्छ। र उनीहरूलाई पूर्णरूपमा सहानुभूति र सहारा (सपोर्ट) दिइरहनुपर्छ।
प्रस्तुति : दिनेश गौतम
प्रतिक्रिया दिनुहोस !