बिग्रेका फिस्टुला पुनःमर्मत

बिग्रेका फिस्टुला पुनःमर्मत
सुन्नुहोस्

पछिल्लो समय नेपालमा मिर्गौला रोगीहरूको संख्या बढ्दो छ। जीर्ण खालका स्वास्थ्य समस्याहरूमा अनियन्त्रित मधुमेह, उच्च रक्तचाप, मिर्गौलाको भित्रको आन्तरिक समस्या, वंशाणुगत तवरमा मिर्गौलामा धेरै सिस्ट आउने (पोलिसिस्टिक किड्नी डिजिज), पटक–पटक मिर्गौलाको संक्रमण, पिसाब नलीमा अवरोध, अनुचित रूपमा प्रयोग गरिएका केही पेनकिलर सेवनका कारण मिर्गौला बिग्रिन सक्छ। 

त्यसैगरी आकस्मिक रूपमा अत्यधिक पखाला वा बान्ता, अधिक रक्तश्राव, बेहोस हुनु, सख्त संक्रमण, कतिपय औषधि वा विषाक्त पदार्थ सेवन, पिसाब नलीमा व्यवधान, मिर्गौलाको सुजन एवं ठूला खालका शल्यक्रिया वा गम्भीर दुर्घटनाका कारण पनि छिट्टै मिर्गौला बिग्रिन सक्छ। यस्तो परिस्थितिमा मिर्गौलाले शरीरको आवश्यक काम गर्न नसक्ने अवस्था र बिरामीको समग्र अवस्थाका आधारमा डायलाइसिसको अवस्था पहिचान गरिन्छ। 

लामो समय मिर्गौलाको समस्याका कारण शरीरमा पोटासियम थुप्रियो, फोक्सोमा पानी जम्यो, रगत गम्भीर तवरमा अम्ल र क्षारको सन्तुलन बिग्रियो, रगतमा युरियाको मात्रा अचाक्ली बढ्यो, मिर्गौला फेल खायो वा सघन खालको मिर्गौला समस्या भयो भने डायलाइसिस चाहिन्छ नै। कतिपय अवस्थामा मिर्गौला प्रत्यारोपण नै चाहिने हुन्थ्यो। तर, विकल्पको रूपमा केही समय डायलाइसिस गराइ राख्नुपर्ने बाध्यता हुन्छ।

पेटमा वा रगतमा मेसिन जडी क्रमशः पेरिटोनियल र हेमोडायलाइसिस गर्ने गरिन्छ। तर, प्रभावकारिता र शीघ्रताका लागि हेमोडायलाइसिस नै प्राथमिकतामा पर्दछ। माथि उल्लेखित आकस्मिक कारकहरूका लागि एक, दुई पटकको डायलाइसिस गराए पुग्ने भए पनि जीर्ण खालका समस्याहरूमा भने नियमित तवरमा डायलाइसिस गराइ राख्नुपर्ने हुन्छ। यस्तो अवस्थामा हेमोडायलाइसिस गराइराख्नुपर्ने व्यक्तिमा आर्टेरियोभेनस फिस्टुला अर्थात् छोटकरीमा एभी फिस्टुला बनाउनु पर्ने नै हुन्छ। मेडिकल भाषामा अर्टरी भन्नाले धमनी र भेन भन्नाले 
शिरा भन्ने बुझिन्छ। 

त्यसैगरी शरीरमा अप्राकृतिक तवरमा दुवैतिर प्वाल भएको (नली जस्तो) मार्ग बन्ने प्रक्रियालाई सर्जिकल भाषामा फिस्टुला भनिन्छ। तर, मिर्गौलाका दीर्घरोगीहरूको हकमा जानाजानी शल्यक्रियाकै माध्यमबाट धमनी र शिराबीचको कृत्तिम तवरमा फिस्टुला बनाएपनि प्रभावित व्यक्तिको स्वस्थतालाई विचार गरेर यसलाई प्राकृतिक नै मानिन्छ। यसरी सामान्यतया हातमा बनाइने हेमोडायलाइसिसका लागि बनाइने एभी फिस्टुला स्थायी रक्तनलीको पहुँच (भास्कुलर एक्सेस) हो। यो नै दीर्घकालीन हेमोडायलाइसिसका लागि सबैभन्दा सहज एवं भरपर्दो पहुँच विन्दु हो। 

हेमोडायलाइसिसको माध्यमबाट प्रभावित व्यक्तिको शरीरबाट पर्याप्त मात्रामा रगत मेसिनमा निकालेर सफा गरी पुनः शरीरमा पठाइन्छ। त्यसका लागि सामान्य शिरा पर्याप्त बलियो एवं त्यसमा रक्तप्रवाह पनि पर्याप्त हुँदैन। यदि कृत्तिम तवरमा धमनीलाई शिरासँग जोड्यो भने धमनीभित्रको उच्च दबाबको रहेको रगत शिरातर्फ जान्छ। केही हप्तामा शिरा पनि मोटो, चौडा र बलियो हुँदै जान्छ। यसलाई परिपक्वता (म्याचुरेसन) भनिन्छ। डायलाइसिसका बेला त्यसमा दुईवटा डायलाइसिस सियो राखेर रगत निकाल्ने र फिर्ता पठाउने गरिन्छ। सामान्यतया प्रभावित व्यक्तिको कम प्रयोग हुने हात (ननडोमिनेन्ट) हात वा पाखुरामा बनाइन्छ।

तर, समयक्रममा यसरी बनाइएको फिस्टुलामा विभिन्न समस्या देखिन थाल्छ। फिस्टुला साँघुरिएर रक्तप्रवाह घट्ने, फिस्टुलामा रगत जमेर फिस्टुला अचानक काम गर्न छोड्ने, फिस्टुलामा संक्रमण हुने, पटकपटक फिस्टुलामा सियो घोचेका कारण फिस्टुलाको भित्ता पातलो भई बेलुन झैं  फुल्ने (एन्युरिज्म बन्ने), फिस्टुलातर्फ अत्यधिक रक्तप्रवाह भई हातका औंलामा रक्तसञ्चार कम हुने, फिस्टुलामार्फत  धेरै रक्तप्रवाह भएका कारण मुटुमाथि अतिरिक्त भार पर्ने तथा फिस्टुला परिपक्व नै नहुने समस्या हुनसक्छ।

यहाँ उठाउन लागिएको अर्को विषय हो, हेमोडायलाइसिसका लागि प्रयोग हुने फिस्टुला असफल हुँदै गएमा प्रभावित व्यक्तिको फिस्टुला पुनः मर्मत गरी कसरी आशा जगाउने त ? त्यसै पनि दीर्घ खालको मिर्गौला रोग अनि तारन्तारको डायलाइसिसले शारीरिक, मानसिक एवं आर्थिक रूपमा थिलथिलो भइसकेको बेला एभी फिस्टुला पनि फेल खान जानाले प्रभावित व्यक्ति 
झन् समस्यामा पर्न जान्छ। 

हाल नियमित रूपमा हेमोडायलाइसिस गराइरहेका बिरामीहरूले अब बिग्रिन लागेको एभी फिस्टुला बचाउने शल्यक्रिया (अर्थात् एभी साल्भेज सर्जरी) सेवा नेपालमै उपलब्ध भएको छ। यो विशेष सेवा धुलिखेल अस्पतालमा उपलब्ध छ। यसअघि वा अधिकतर ठाउँमा विद्यमान एभी फिस्टुलामा कुनै गम्भीर समस्या आएको खण्डमा वा फिस्टुलाले काम गर्न छोडेको खण्डमा नयाँ भास्कुलर एक्सेस बनाउने गरिन्थ्यो।

एभी फिस्टुला बचाउने शल्यक्रिया सेवाको मुख्य उद्देश्य सम्भव भएसम्म बिरामीको विद्यमान फिस्टुलालाई जोगाउनु हो। समस्या देखिनेबित्तिकै फिस्टुलालाई त्यागेर नयाँ फिस्टुला (पहुँच) बनाउनुको सट्टा भास्कुलर सर्जनहरूले समस्याको मूल कारण पहिचान गरी फिस्टुला मर्मत गरेर पुनः सञ्चालनमा ल्याउन सकिन्छ कि सकिँदैन भन्ने निक्र्यौल गर्दछ। विद्यमान फिस्टुला किन असफल भइरहेको छ भन्ने आधारमा एभी फिस्टुला बचाउने शल्यक्रियाको क्रममा विभिन्न शल्य प्रविधि अपनाइन्छ। जस्तैः फिस्टुलामा जमेको वा थेग्रिएको रगतको ढिक्का हटाउने, साँघुरिएको रक्तनली –फिस्टुला) को भाग सुधार गर्ने, फिस्टुलाको पुनःनिर्माण गर्ने वा फिस्टुलासँग सम्बन्धित एन्युरिज्मलगायतका अन्य जटिलताको शल्यक्रियामार्फत सुधार गर्ने जस्ता उपचार विधि गरिन्छ। बिरामीको चिकित्सकीय मूल्यांकको क्रममा आवश्यकताअनुसार रक्तनलीको इमेजिङ (अल्ट्रासाउन्ड वा एमआरआई) गरी उपयुक्त उपचार विधि निर्धारण गरिन्छ। एभी फिस्टुला बचाउने शल्यक्रिया सेवामा संलग्न अनुभवी एक डायलाइसिस नर्सका अनुसार ‘बिरामीको विद्यमान रक्तनलीको पहुँच (भास्कुलर एक्सेस) लाई जोगाउनु अत्यन्त महत्वपूर्ण हो। 

किनभने राम्रोसँग काम गरिरहेको फिस्टुलामा समस्या आएको खण्डमा यसलाई पुनर्निर्माण गर्न सकेको खण्डमा फेरि लामो समयसम्म भरपर्दो डायलाइसिस एक्सेस (पहुँच) प्रदान गर्न सक्छ। र, नयाँ एक्सेस (पहुँच) बनाउनुपर्ने पटक–पटकको झन्झट प्रक्रियाबाट पनि बचाउन सक्छ।’

डायलाइसिस गराइरहेका बिरामीका लागि समयमै उपचार गर्नु विशेष रूपमा महत्वपूर्ण हुन्छ। फिस्टुला असफल हुँदै गएको अवस्थामा डायलाइसिसका क्रममा रक्तप्रवाह कम हुनु, पर्याप्त डायलाइसिस हुन नसक्नु, सुई निकालेपछि लामो समयसम्म रगत बगिरहनु, हात सुन्निनु वा फिस्टुलामाथि सामान्य रुपमा महसुस हुने थ्रिल (रक्तप्रवाहका कारण महसुस हुने कम्पन) मा परिवर्तन आउनुजस्ता लक्षण देखिन सक्छ। सम्बन्धित शल्यचिकित्सकहरूका अनुसार यस्ता परिवर्तन देखिएमा फिस्टुलाले पूर्णरूपमा काम गर्न छोडुन्जेल पर्खनु हुँदैन। समयमै चिकित्सकीय चेकजाँच गराउँदा विद्यमान फिस्टुलालाई बचाउन सकिने सम्भावना बढ्छ। यो नयाँ एवं विशेष सेवा डायलाइसिस उपचारमा रक्तनलीको पहुँच (भास्कुलर एक्सेस) संरक्षण गर्ने व्यापक अवधारणा अन्तर्गतको महत्वपूर्ण कदम पनि हो। 

बिरामीको आफ्नै रक्तनलीबाट बनेको पहुँचलाई सुरक्षित राख्न सक्दा अस्थायी डायलाइसिस क्याथेटर (विशेष पाइप) मा निर्भरता कम गर्न सकिन्छ। पटक–पटक नयाँ रक्तनलीको पहुँच (भास्कुलर एक्सेस) बनाउनुपर्ने तथा त्यससँग सम्बन्धित जटिलताबाट पनि बिरामीलाई जोगाउन सकिन्छ। धुलिखेल अस्पतालका भास्कुलर सर्जनहरूका अनुसार यस सेवामा शल्यचिकित्सा दक्षता, डायलाइसिस टोली तथा आवश्यक निदानात्मक (डायग्नोस्टिक) परीक्षण कार्यलाई एकीकृत गरी फिस्टुला जोखिममा परेका वा पहिले नै असफल भएका बिरामीलाई समन्वयात्मक उपचार प्रदान गरिन्छ।

दीर्घकालीन मिर्गौला रोगका कारण लामो समयसम्म हेमोडायलाइसिस गराउनुपर्ने बिरामीका लागि एभी फिस्टुला बचाउने शल्यक्रिया केवल अर्को एउटा शल्य उपचारको विकल्प मात्र होइन। यसले डायलाइसिसका लागि पहिले नै स्थापित महत्वपूर्ण रक्तनलीको पहुँचलाई जोगाउने र शिघ्र उपचारलाई निरन्तरता दिन सक्ने अवसर प्रदान गर्न सक्छ। 

सम्बन्धित अस्पतालले यस विशेष सेवाको विस्तार गर्दै जाँदा चिकित्सकहरूले बिरामी तथा स्वास्थ्यकर्मीमा फिस्टुला असफल हुँदै गएको संकेतबारे पर्याप्त जानकारी बढ्ने र समयमै विशेषज्ञकहाँ रेफर गर्ने प्रवृत्ति बढ्ने आशा गरेको छ। किनकि फिस्टुला पूर्णरूपमा बन्द हुनुअघि नै उपचारका लागि ल्याउन सकिएमा त्यसलाई बचाउने सम्भावना अझ बढी हुन सक्छ।
डा. ताम्राकार परिचित मेडिकल लेखक तथा डा. कर्माचार्य भास्कुलर सर्जन हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.