८८ हजार सिलिन्डर ग्यास खै ?

८८ हजार सिलिन्डर ग्यास खै ?
सुन्नुहोस्

काठमाडौं : उद्योग मन्त्रालयका अनुसार तीन दिनमा मात्रै ८८ हजार सिलिन्डर ग्यास उपत्यकामा भित्रिएको छ। तर, सर्वसाधारण भन्छन्– ‘ग्यास कहाँ छ ?’ ग्यास नपाउँदा चुल्हो बाल्नै समस्या भएको अधिकांश उपभोक्ताको गुनासो छ। रित्ता सिलिन्डर बोक्दै ग्यासका लागि सर्वसाधारण भौंतारिन थालेको हप्तौं भइसक्यो।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव तथा प्रवक्ता नेत्रप्रसाद सुवेदीले तीन दिनयता मात्र ८८ हजार ग्यास उपत्यका भित्रिएको बताए। तर, नागरिकले अझैसम्म ग्यास पाउन नसकेको गुनासो गरिरहेका छन्। 

शान्तिनगरका चन्द्र ठाकुर गत शुक्रबारदेखि ग्यास पाउने आशामा सिफलस्थित एभरेस्ट र सुगम ग्यास डिपोमा लाइनको ५६औं नम्बरमा आफ्नो पालो कुरिरहेका छन्।  ‘सरकारले अनलाइन र घरघरमा सेवा पु¥याउने भन्थ्यो तर लाइन बसेको यत्रो दिन हुँदा पनि पाइएन्, अनलाइन हैन, लाइन र घरमा हैन रोडमै ग्यास पाए हुन्थ्यो,’ उनले भने। आफ्नो पालो ५६औं स्थानमा भएका कारण दैनिक आउनेभन्दा कम ग्यास आएमा आफूले भोलि पनि ग्यास पाउँदिन कि भनेर चिन्ता गरिरहेका छन्।

सोही लाइनको अन्तिममा रसुवा घर भई हाल काठमाडौैंमा दैनिक ज्यालादारीमा काम गर्दै आएका कृष्णप्रसाद सुवेदी करिब दुई दिनदेखि ग्यासको खोजीमा छन्। ‘ग्यास सकिएको दुई दिन भयो, होटलको खाना खुवाइ छ, दैनिक तीन, चार जनाले होटलको खाना खाने हो भने कमाएकोले खाना खान पनि पुग्दैन, कोठाभाडा कसरी तिर्ने ?बच्चाको पढाइ खर्च कसरी बेहोर्ने ? ’ उनले चिन्ता पोखे। उनले दैनिक ज्याला मजदुरी गरेर परिवारका आवश्यकता पूरा गर्नेहरूले ग्यास पाउनका लागि दिनहुँ लाइन बस्दा आफ्नो रोजगारीसमेत गुम्न सक्ने भन्दै चिन्दा व्यक्त गरे।

दैनिक ७० स्थानीय र ७० बाहिरबाट आउनेलाई ग्यास वितरण गर्दै आएको उक्त डिपोमा अन्य पनि लाइनमा छन्। खाली सिलिन्डरसँगै ग्यास पाइन्छ कि भनेर बुझ्न आउनेहरू पनि कम छैनन्। एक दिनमा वितरण हुने ग्यासको संख्या सकिएपछि रातभर ग्यास हराउने डरले एक ग्यासबराबर ५० रुपैयाँसम्म तिरेर रातभर हेर्ने मान्छे राख्न परेको पनि ग्यास लिन आउने नागरिकको गुनासो छ।

दिनभर ग्यास पाउने आसमा काम छोडेर लाइन बस्दा पनि ग्यास नपाएर बेलुका थकित शरीर लिएर रित्तो हात फर्किंदा आफूसँगै परिवारको आशा पनि निराशामा बदलिन्छ। सरकारले लाइन बस्न नपर्ने घरघरमा सेवा पुग्ने प्रतिबद्धता जनाए पनि नागरिकले कहिले ग्यास, कहिले राहदानी, कहिले मल, कहिले अस्पतालमा उपचार पाउनका लागिसमेत लाइन बस्नुपर्ने अवस्था छ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव तथा प्रवक्ता सुवेदी देशभित्र ग्यासको अभाव भन्न नमिल्ने बताउँछन्। उनका अनुसार हाल पृथ्वी राजमार्ग अवरुद्ध भएका कारण तराईबाट ढुवानी गरेर काठमाडौंसम्म ल्याउन नसक्दा ग्यासको केही समस्या भएको हो। 

अभावका बेला कालोबजारी हुन सक्ने भन्दै त्यसको निरन्तर आयल निगमसँगै मन्त्रालयले समेत अनुगमन गरिरहेको उनको भनाइ छ। ‘नजिकिँदै गरेका दसंै, तिहारसम्म बजारमा ग्यास अभाव पूर्ण रूपमा अन्त्य गर्ने सरकारको लक्ष्य रहेको छ,’ उनले भने। ग्यास अभावमा वैकल्पिक स्रोतको प्रयोग गरी समस्या समाधान गर्न आग्रह गर्दै उनले सरकारले यसलाई विशेष ध्यान दिएको बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.