शोकसँगै रोगको डर

शोकसँगै रोगको डर
सुन्नुहोस्

काठमाडौं : भोटेकोशीको बाढीले घरबारमात्र बगाएन, विस्थापितको स्वास्थ्य पनि जोखिममा पारेको छ। आफ्नो थातथलो छाडेर अस्थायी आश्रयस्थल (होल्डिङ सेन्टर)मा बसिरहेकाहरू शारीरिक एवं मानसिक समस्यासँग जुध्दै छन्। बाढी प्रभावित क्षेत्रमा खटिएका चिकित्सकका अनुसार, कसैलाई ज्वरो आएको छ भने कसैमा पेटको संक्रमण देखिन थालेको छ।

बाढीको त्रास र आफन्त गुमाउनुको पीडाले धेरैको मन पनि अशान्त छ। मनमा चिन्ता लिएका विस्थापितहरू विभिन्न स्वास्थ्य जोखिमसँग पनि जुध्नुपर्ने बाध्यता रहेको स्वास्थ्यकर्मीहरू बताउँछन्। पछिल्लो २४ घण्टामा रसुवा र नुवाकोट जिल्लामा १२ जना विस्थापितमा ज्वरो तथा खोकी पाइएको छ। त्यस्तै एक जनामा पेट तथा आन्द्रामा अचानक हुने संक्रमण (एक्युट ग्यास्ट्रोएन्टेराइटिस) देखिएको छ। बाढीपछि खानेपानी र सरसफाइमा आएको समस्याले पानीजन्य रोगको जोखिम बढाएको स्वास्थ्यकर्मीहरू बताउँछन्।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटाका अनुसार, बाढी प्रभावित क्षेत्रमा आकस्मिक चिकित्सकीय टोली परिचालन गरिएको छ। १३ वटा सक्रिय टोलीमा १ सय ७० जना स्वास्थ्यकर्मीहरू रहेका छन्। त्यस्तै पहुँचमा कठिनाइ भएका क्षेत्रमा मोबाइल स्वास्थ्य टोली परिचालन गरिएको छ। मोबाइल स्वास्थ्य टोलीबाट हालसम्म २ सय ७८ जनाले सेवा पाएका छन्। जसमध्ये २ सय २ जना महिला र ७६ जना पुरुष रहेका छन्। भदौ १० गतेको बाढीपीडितहरूमध्ये दीर्घरोगीहरूलाई काठमाडौं रेफर गर्न थालिएको छ। रसुवाको ठूलो स्याफ्रु निवासी दमका बिरामी ङवाङ  नामग्याल तामाङको स्वास्थ्य अवस्था जटिल बन्दै गए पछि नेपाली सेनाको हेलिकोप्टरमार्फत आइतबार काठमाडौं ल्याइएको छ। 

ज्वरो र पेटको संक्रमण बढ्दो
भदौ १० गतेदेखि हालसम्म रसुवा नुवाकोट जिल्लाका होल्डिङ सेन्टरमा रहेका २० जनामा ज्वरोको समस्या देखिएको छ। त्यस्तै चार जनामा पेट तथा आन्द्रामा अचानक हुने संक्रमण (एक्युट ग्यास्ट्रोएन्टेराइटिस) भएको पाइएको छ। 

प्रदेश जनस्वास्थ्य कार्यालय नुवाकोटका धनबहादुर वलीका अनुसार केही होल्डिङ सेन्टरहरूमा फाट्टफुट्ट बिरामीहरू देखिन थालेको बताए। ‘केही होल्डिङ सेन्टरमा फाट्टफुट्ट बिरामी पर्न थालेका छन्,’ उनले भने, ‘एउटै होल्डिङ सेन्टरमा धेरै जना बिरामी भएको जानकारी आएको छैन।’

मानसिक समस्या पनि बढ्यो
बाढीमा बेपत्ता भएका व्यक्तिको एघारौं दिनसम्म पनि सम्पकविहीन भएपछि परिवारका सदस्यमा मानसिक समस्या देखिन थालेको छ। बाढीमा बेपत्ता भएका प्रहरी जवान आशिष गडरियाकी २९ वर्षीया पत्नीले आत्महत्याको प्रयास गरेकी छन्। 

मन्त्रालयका सचिव डा. देवकोटाका अनुसार, अहिले विपद् प्रभावितहरूलाई मनोसामाजिक परामर्श दिन थालिएको छ। हालसम्म ४ हजार ८ सय ४४ जना विपद् प्रभावित व्यक्तिलाई मनोसामाजिक परामर्श मानसिक स्वास्थ्य उपचार सेवा दिइएको छ। यसका लागि १ सय ५५ जना (२ मनोचिकित्सक, २ साइकोलोजिस्ट र १ सय २१ परामर्शदाता) परिचालन भएका छन्। त्यस्तै विदुर– ८ भैरुम माविमा २ सय १९ जनालाई मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र, नेपालले मनोसामाजिक परामर्श दिएको छ। त्यस्तै कोसिस नेपालले आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा रहेका २७ जनालाई कोसिस नेपालले मनोसामाजिक परामर्श दिएको छ। त्यस्तै वन हर्ट वल्र्डवाईडले सुलक्षण मावि विदुर–९ मा ९६ जनालाई र स्टार बोर्डिङ स्कुलमा आ श्रय लिएका ६० जनालाई मनोसामाजिक परामर्श दिएको छ। त्यस्तै टीपीओ नेपालले त्रिशूली अस्पतालमा रहेका ४२ जनालाई मनोपरामर्श दिएको जनाएको छ।

हैजाविरुद्धको २१ हजार डोज भ्याक्सिन ढुवानी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाका अनुसार, ज्वरो, झाडापखाला र साना बालबालिकामा खोकीलगायतका अन्य लक्षणहरूको नियमित अनुगमन भइरहेको छ। ‘आजमात्रै रसुवामा सम्भावित हैजा महामारीको प्रतिकार्यका लागि कुल २१ हजार डोज हैजाविरुद्धको भ्याक्सिनसमेत ढुवानी गरिएको छ,’ डा. देवकोटाले भने, ‘शव व्यवस्थापन तथा शव व्यवस्थापनपश्चात्को वातावरणीय निसंक्रमण (डिकन्टामिनेसन) का लागि टोलीहरू परिचालन गरिएको छ।’
स्वास्थ्य शिविरमा दुई सयको परीक्षण
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, स्वास्थ्य सेवा विभाग तथा विभिन्न साझेदार संस्थाहरूको समन्वयमा भदौ २० गते विदुर–३, सिर्खलीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ।

मन्त्रालयका सचिव डा. देवकोटाका अनुसार, शिविरमा दुई सय जना बाढी प्रभावितले सेवा प्राप्त गरेका छन्। जसमा १ सय १ ज्येष्ठ नागरिक (महिला ४८, पुरुष ५३) छन्। शिविरमा स्वास्थ्य परीक्षण, विशेषज्ञ परामर्श, औषधि तथा २५ जनालाई मनोसामाजिक परामर्श प्रदान गरिएको छ। प्रभावित क्षेत्रमा खटिएका नेपाली सेना तथा सशस्त्र प्रहरीलाई आवश्यक औषधिसमेत उपलब्ध गराइएको छ। 

रसुवाका चार स्वास्थ्य संस्था ध्वस्त
बाढीबाट रसुवा जिल्लाका चार स्वास्थ्य संस्था पूर्ण रूपमा ध्वस्त भएका छन्। बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार, गोसाइँकुण्ड गाउँपालिका–२ का टिमुरे स्वास्थ्यचौकी, स्याफ्रुबेंसी स्वास्थ्यचौकी र रसुवागढी हेल्थ डेस्क तथा उत्तरगया गाउँपालिका–२ को मैलुङ सामुदायिक स्वास्थ्य इकाइ पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।

त्यस्तै, धादिङको बेनीघाटमा रहेको पोषण पुनस्र्थापना केन्द्र तथा चरौंदी स्वास्थ्य केन्द्रको तल्लो तला डुबानमा परी भौतिक सामग्री नष्ट भएका छन्। गल्छी–६ धादिङस्थित बैरेनी अस्पताल र बैरेनी आयुर्वेद औषधालयमा पनि बाढीले क्षति पु‍र्याएको मन्त्रालयले जनाएको छ। बाढीले गोसाइँकुण्ड गाउँपालिका–५ र उत्तरगया गाउँपालिका–१ का स्वास्थ्य शाखा तथा स्टोर पनि पूर्ण रूपमा क्षतिग्रस्त बनाएको छ।

१२ स्वास्थ्यकर्मी अझैं सम्पर्कविहीन
बाढीपछि रसुवाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत १२ जना स्वास्थ्यकर्मी सम्पर्कविहीन छन्। सम्पर्कविहीन हुनेमा स्याफ्रुबेंसी स्वास्थ्यचौकीका हेल्थ असिस्टेन्ट खम्बु बोहरा, टिमुरे स्वास्थ्यचौकीका अनमी सरिता मल्ल, सुस्मिता पाण्डे र कर्मा घले, दाहालफेदी सामुदायिक स्वास्थ्य इकाइका विजयकुमार घले, रसुवागढी हेल्थ डेस्कका गोविन्द यादव, उत्तरगया गाउँपालिकाको स्वास्थ्य शाखाका बलराम न्यौपाने र प्रदीप न्यौपाने रहेका छन्।

त्यस्तै, रसुवागढी हेल्थ डेस्ककी स्टाफ नर्स ललितादेवी कुमाई, उत्तरगया गाउँपालिकास्थित श्री नीलकण्ठ माध्यमिक विद्यालयकी विद्यालय नर्स ममता श्रेष्ठ, मैलुङ सामुदायिक स्वास्थ्य इकाइकी अनमी दीनिशा शाही र नुवाकोटस्थित त्रिशूली अस्पतालकी स्टाफ नर्स प्रेरणा तामाङ पनि सम्पकविहीन छन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.