कांग्रेसमा एकताको अन्तिम कसरत, गगनसँग संवादमा खड्का–शेखर

कांग्रेसमा एकताको अन्तिम कसरत, गगनसँग संवादमा खड्का–शेखर
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनलाई लिएर संस्थापन र पूर्वसभापति शेरबहादुर देउवा पक्षबीच विवाद चर्किरहेका बेला पार्टीभित्र एकता कायम गर्ने नयाँ कसरत सुरु भएको छ। महाधिवेशनको प्रक्रिया, कार्यसमिति समायोजन र अदालतमा विचाराधीन मुद्दालाई लिएर दुई पक्षबीच मतभेद कायम रहे पनि देउवा पक्षभित्रै पार्टी विभाजन रोक्नुपर्ने आवाज बलियो बन्दै गएको छ।

सभापति गगन थापाले असन्तुष्ट नेताहरूसँग संवाद अघि बढाइरहेका बेला देउवा पक्षका प्रभावशाली नेता पूर्णबहादुर खड्का र शेखर कोइराला पनि संस्थापन पक्षसँग सहमतिको प्रयासमा जोडिएका छन्। तर देउवा पक्षका नेता रमेश लेखकले भने पार्टी एकता जोगाउन महाधिवेशन प्रक्रिया तत्काल रोक्नुपर्ने धारणा राखेका छन्। आइतबार कञ्चनपुरको दोधारा चाँदनीमा कार्यकर्तासँगको भेटमा उनले महाधिवेशन नरोकिए पार्टी विभाजन हुन सक्ने चेतावनी दिँदै भनेका छन्, ‘अहिले पनि उपाय छ। आफ्नो आफ्नो ठाउँबाट महाधिवेशन रोकौं। यदि महाधिवेशन रोकिएन भने पार्टी विभाजन हुन्छ।’

लेखकले विशेष महाधिवेशनबाट १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका केही नेता समेटिन नसकेकाले विवाद उत्पन्न भएको दाबी गरे। त्यसको समाधानका लागि पुरानो र वर्तमान कार्यसमितिलाई समायोजन गरेर अघि बढ्नुपर्ने उनको प्रस्ताव छ। उनले सभापति गगन थापालाई हटाउने आफूहरूको माग नरहेको स्पष्ट गर्दै १४औं महाधिवेशनबाट निर्वाचित भएर विशेष महाधिवेशनमा समेटिन नसकेका पदाधिकारी तथा सदस्यलाई वर्तमान केन्द्रीय कार्यसमितिमा समेट्नुपर्ने बताए।

खड्का–शेखर संवादमा
देउवा पक्षले समानान्तर महाधिवेशनको तयारी गरिरहेका बेला पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का भने चुनदेवीस्थित देउवा पक्षको सम्पर्क कार्यालयमा हुने बैठकमा सहभागी हुन छाडेका छन्। उनी आफूनिकट नेताहरूसँग छुट्टै छलफल गर्दै पार्टी विभाजन रोक्नुपर्ने पक्षमा उभिएका छन्। 

खड्का निकट नेता रामहरि खतिवडाले आफूहरू पार्टी विभाजनको पक्षमा नरहेको बताए। उनका अनुसार एकताको महाधिवेशनका लागि पहल गर्नुपर्ने धारणा खड्का समूहको छ। शेखर कोइरालासँग पनि निरन्तर संवाद भइरहेको खतिवडाले बताए। कोइरालानिकट नेताहरूले समेत पार्टी विभाजनको विपक्षमा धारणा राख्दै आएका छन्।

शेखरको पाँचबुँदे प्रस्तावमा सहमतिको खोजी
सभापति गगन थापा र नेता शेखर कोइरालाबीच भएको पछिल्लो भेटवार्ता पनि पार्टीभित्रको विवाद समाधानमा केन्द्रित रहेको छ। कोइरालाले पार्टी, लोकतन्त्र र राष्ट्रियता अप्ठ्यारो अवस्थामा रहेकाले कांग्रेस एक ढिक्का हुनुपर्ने धारणा राखेका छन्। यसअघि कोइरालाले अघि सारेका पाँचबुँदे प्रस्तावमा संस्थापन पक्ष सकारात्मक देखिएको छ।

प्रस्तावमा क्रियाशील सदस्यता अध्यावधिकलाई अनिवार्य नगर्ने, १० पुस २०८२ सम्म नवीकरण भएका सदस्यलाई महाधिवेशनमा सहभागी गराउने तथा १४औं महाधिवेशनबाट निर्वाचित तर विशेष महाधिवेशनमा समेटिन नसकेका पदाधिकारी तथा सदस्यलाई नयाँ कार्यसमितिमा समायोजन गर्ने विषय छन्।

त्यस्तै, सभापतिको बहुमत कायम हुने गरी केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने तथा निर्वाचन समिति, क्रियाशील सदस्यता छानबिन समिति, अनुशासन समिति र विधान संशोधन समिति सहमतिका आधारमा गठन गर्ने प्रस्ताव पनि छ। महामन्त्री प्रदीप पौडेलले कोइरालाका पाँचबुँदे प्रस्ताव स्वीकार गरेर सबै पक्ष अघि बढ्न तयार भए संस्थापन पक्ष सकारात्मक रहेको बताएका छन्।

केसीको पाँचबुँदे प्रस्ताव
पार्टीभित्रको विवाद समाधानका लागि नेता अर्जुननरसिंह केसीले आइतबारको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा पाँचबुँदे प्रस्तावसमेत अघि सारेका छन्। केसीले देउवा नेतृत्वको पुरानो कार्यसम्पादन समिति र हालको कार्यसम्पादन समितिलाई सभापति गगन थापाको नेतृत्वमा एकीकृत गर्नुपर्ने प्रस्ताव गरेका छन्। आवश्यकताअनुसार विधानका सम्बन्धित धारा निलम्बन गरेर केन्द्रीय कार्यसमितिको आकार बढाउनुपर्ने उनको प्रस्ताव छ।

त्यस्तै, महाधिवेशनको सम्पूर्ण जिम्मेवारी केन्द्रीय कार्यसम्पादन समितिलाई दिने तथा निर्वाचन समिति, क्रियाशील सदस्यता छानबिन समिति र अनुशासन समितिमा आवश्यक थपघट गरी महाधिवेशनको निष्पक्षता सुनिश्चित गर्नुपर्ने उनले प्रस्ताव गरेका छन्। केसीले १५औं महाधिवेशनको मिति पनि एक महिनापछि सारेर १७–१९ कात्तिकमा गर्नुपर्ने प्रस्ताव गरेका छन्।

महाधिवेशनको मितिमा फरक–फरक प्रस्ताव
संस्थापन पक्षले १६–१९ असोजमा १५औं महाधिवेशन गर्ने कार्यतालिका अघि सारेको छ। तर देउवा पक्षले भने २१–२३ मंसिरमा महाधिवेशन गर्ने गरी समानान्तर तयारी अघि बढाएको छ। यसबीच केसीले १७–१९ कात्तिकमा महाधिवेशन गर्नुपर्ने प्रस्ताव अघि सारेपछि महाधिवेशनको मिति पनि सहमतिको प्रमुख विषय बनेको छ।

यसअघि भोटेकोशी–त्रिशूली बाढीका कारण रसुवा, नुवाकोट र धादिङलगायतका प्रभावित क्षेत्रमा वडा अधिवेशन गर्न कठिन भएपछि तल्लो तहको कार्यतालिका संशोधन गर्ने तयारी संस्थापन पक्षले गरेको छ। तर केन्द्रीय महाधिवेशनको मिति तत्काल परिवर्तन नगर्ने उसको तयारी छ।

देउवा पक्षको समानान्तर तयारी
संस्थापन पक्षले असोजमै महाधिवेशन गर्ने तयारी गरिरहँदा देउवा पक्षले भने पूर्वमहामन्त्री डा. शशांक कोइराला संयोजक रहेको १५औं महाधिवेशन तयारी समितिमार्फत समानान्तर प्रक्रिया अघि बढाएको छ। समितिले असोज १५ गते वडा अधिवेशन सुरु गरी मंसिर २१ देखि २३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका प्रस्ताव गरेको छ। निर्वाचन समिति, क्रियाशील सदस्यता छानबिन तथा व्यवस्थापन समिति, विधान संशोधन समिति र अनुशासन समितिलगायत संरचना गठनको तयारी पनि देउवा पक्षले अघि बढाएको छ। तर देउवा पक्षभित्रै समानान्तर महाधिवेशनलाई लिएर एकमत देखिएको छैन। नैनसिंह महर, रञ्जित कर्णलगायत केही नेताले पनि पार्टी विभाजन रोक्नुपर्ने धारणा सार्वजनिक गरेका छन्।

‘गगनले एकता चाहेनन्’ : महत
देउवा पक्षका नेता डा.प्रकाशशरण महतले भने सभापति गगन थापाले पार्टी एकता नचाहेको आरोप लगाएका छन्। थापाबाट एकता जोगाउने गम्भीर प्रस्ताव नआएकाले आफूहरू छुट्टै महाधिवेशनको तयारीमा जुट्नु परेको उनको दाबी छ। महतका अनुसार केन्द्रीय कार्यसमिति समायोजन, सदस्यता अध्यावधिक र छुट्टै संयन्त्र गठनलगायत विषयमा आफूहरूले प्रस्ताव राखे पनि संस्थापन पक्षले पर्याप्त चासो नदिएको हो।

अदालतको निर्णयले पनि निर्धारण गर्ने दिशा
कांग्रेसको विवादको अर्को महत्वपूर्ण पक्ष सर्वोच्च अदालतमा विचाराधीन मुद्दा हो। विशेष महाधिवेशनबाट आएको गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिको वैधानिकताविरुद्ध देउवा र खड्काले पुनरावलोकन मागेका थिए। सर्वोच्चले पुनरावलोकनका लागि अनुमति दिएपछि यो विषय पुनः अदालतमा पुगेको छ।

यद्यपि १५औं महाधिवेशनको कार्यतालिका रोक्न माग गर्दै परेको निवेदनमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि थापा पक्षलाई महाधिवेशन प्रक्रिया अघि बढाउने बाटो खुलेको छ। देउवा पक्ष भने पुनरावलोकन मुद्दाको अन्तिम फैसला नआएसम्म महाधिवेशन प्रक्रिया रोक्नुपर्ने पक्षमा छ।

निर्णायक बन्ने देउवासँगको संवाद
गगन–शेखर र गगन–खड्का संवाद सकारात्मक बन्दै गए पनि कांग्रेसभित्रको विवाद पूर्ण रूपमा समाधान गर्न पूर्वसभापति शेरबहादुर देउवासँगको संवाद निर्णायक हुने देखिएको छ। खड्का र शेखर सहमतिमा आएमा देउवा पक्षमाथि पनि एकताको महाधिवेशनका लागि राजनीतिक दबाब बढ्न सक्छ। अर्कोतर्फ देउवा पक्ष समानान्तर महाधिवेशनको तयारीबाट पछि नहटे विवाद थप लम्बिने सम्भावना छ।

त्यसैले अहिले कांग्रेसभित्रको मुख्य चुनौती १५औं महाधिवेशन सम्पन्न गर्नु मात्र नभई सबै पक्षलाई एउटै प्रक्रियामा सहभागी गराउनु बनेको छ। आगामी दिनमा हुने कार्यसम्पादन समिति बैठक, वडा अधिवेशनको नयाँ तालिका, सदस्यता तथा कार्यसमिति समायोजन र देउवा पक्षसँगको संवादले कांग्रेसको महाधिवेशनको अन्तिम दिशा तय गर्ने नेताहरू बताउँछन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.