भोटेकोशी बाढी : हेल्प मधेसी साउदी अरबले ११ लाख र तामाङ घेदुङ साउदीको ६ लाख सहयोग
साउदी अरब : विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि हेल्प मधेसी साउदी अरबले ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको छ। संस्थाले विभिन्न व्यक्ति तथा नेपाली समुदायबाट संकलन गरेको ११ लाख रुपैयाँ सिधै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ।
हेल्प मधेसी साउदी अरबका अध्यक्ष श्याम कुमार महतोले विपत्तिको समयमा पीडित नागरिकलाई सहयोग गर्नु विदेशमा रहेका नेपालीको साझा दायित्व भएको बताए । “नेपालमा विपत्ति आउँदा हामी प्रवासमा बसेर पनि पीडितको दुःखमा साथ दिन चाहन्छौँ। त्यसै उद्देश्यले सहयोग रकम संकलन गरी सिधै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हौँ,” अध्यक्ष महतोले भने।
उनका अनुसार राहतका नाममा संकलन हुने रकमको पारदर्शिता र सही सदुपयोग सुनिश्चित गर्नु पनि उत्तिकै महत्वपूर्ण भएकाले संस्थाले संकलित रकम आफैं वितरण नगरी सरकारी राहत कोषमा जम्मा गर्ने निर्णय गरेको हो।
हेल्प मधेसी साउदी अरबले विपत्तिमा परेका नागरिकलाई तत्काल राहतसँगै दीर्घकालीन पुनःस्थापना र पुनःनिर्माणमा समेत राज्य तथा सम्बन्धित निकायले प्राथमिकता दिनुपर्ने धारणा राखेको छ। हेल्प मधेसी साउदी अरबले आगामी दिनमा पनि मानवीय तथा सामाजिक सेवाका क्षेत्रमा आफ्नो भूमिका निरन्तर अघि बढाउने प्रतिबद्धता जनाएको छ।
तामाङ घेदुङ साउदीको ६ लाख सहयोग
यता बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि नेपाल तामाङ घेदुङ साउदी अरबले ६ लाख ६ हजार ६ सय ६६ रुपैयाँ सहयोग गरेको छ। नेपाल तामाङ घेदुङ साउदी अरबका अध्यक्ष अमृत घिसिङले नेपाली समुदाय तथा पदाधिकारीहरुबाट संकलन गरेको उक्त ६ लाख ६ हजार ६ सय ६६ रुपैयाँ सिधै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जानकारी दिए।
घेदुङले विपत्तिबाट प्रभावित परिवारको उद्धार, राहत र पुनःस्थापनाका लागि सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिएको छ।
प्रतिक्रिया दिनुहोस !