राजनीति स्थिर होला, जनताको मन स्थिर हुन सकेन

राजनीति स्थिर होला, जनताको मन स्थिर हुन सकेन

आजकै दिन अर्थात् पोहोर भदौ २३ गते नेपालमा नवपुस्ताका युवाले ठूलो आन्दोलन गरेका थिए। त्यसैको परिणामस्वरूप सरकार परिवर्तनमात्रै भएन, नयाँ निर्वाचन भयो र दशकौं पुराना राजनीतिक दलहरू बढारिए। अनि उदायो नयाँ र वैकल्पिक शक्ति राष्ट्रिय स्वतन्त्र पार्टी। आज उसैले सत्ता चलाइरहेको छ।

अर्थात् जेन—जी पुस्ताको आन्दोलनको जगमा आजको सरकार बनेको हो, जसलाई गत फागुनको निर्वाचनमा मतदाताले झन्डै दुईतिहाइ सांसद निर्वाचित गरेर पठाए। सम्भवतः सरकारले आफ्नो जग र जरालाई सम्झिएर आज जेन—जी सहिद दिवस भनी सार्वजनिक बिदासमेत घोषणा गरेको छ। यसअघिकै सरकारले उक्त दिनको घटनामा ज्यान गुमाएकामध्ये ४५ जनालाई सहिद घोषणा गरेको थियो। सरकारले जेन—जी आन्दोलन सम्झिनु, सम्मान गर्नुलाई सकारात्मक मान्न सकिन्छ। तर त्यतिले मात्रै सरकारको कर्तव्य भने पूरा हुँदैन। कर्तव्य तब पूरा हुन्छ, जब त्यो आन्दोलनको भावना र मर्मको सम्बोधन सरकारले गर्छ।

जेन—जी आन्दोलन नेपालमा भ्रष्टाचारको अन्त्यका लागि भएको थियो। थिति बसाल्न र विधिको शासन स्थापना गर्न अनि राजनीति र सत्तालाई केवल अस्वस्थ रस्साकस्सीमा सीमित नगर्न, नागरिकको हितमा काम गर्ने गरी उत्तरदायी बनाउनका लागि भएको थियो। त्यो ऐतिहासिक आन्दोलन भएको एक वर्षमा जे परिवर्तन राष्ट्रले देखेको छ, सन्तोष गर्न सकिने अवस्था छैन। राजनीतिक एक किसिमले स्थिर त छ तर जनताको मन स्थिर छैन, झन् युवाको त छँदै छैन भने पनि हुन्छ। शिक्षा र स्वास्थ्य क्षेत्रका बेथितिको अन्त्यसँगै स्वदेशमै रोजगारी पाउने युवा आकांक्षा थियो। त्यस दिशामा सरकारले कुनै प्रगति गर्न सकेको छनकसम्म पनि युवाले अनुभूत गर्न पाएका छैनन्। सरकार थिति बसाल्ने अर्थात् सुशासन कायम गर्ने नाममा जुन रबैयामा प्रस्तुत भयो, त्यसले व्यावसायिक वातावरण धमिल्याएको छ। रोजगारी सिर्जना हुने वातावरण खल्बलिएको छ। त्यसै भएर नै हुनुपर्छ वैदेशिक रोजगारी वा अध्ययनमा दैनिक च २२ सय युवा दैनिक बाहिरिँदै आएकोमा फेरि त्यही प्रवृत्ति दोहोरिएको छ। जब कि जेन—जी आन्दोलनलगत्तै भने आशाले हुनुपर्छ यो संख्या कम्ती भएको थियो। अहिले भने आन्दोलन अघिकै अवस्थामा पुगिसकेको छ।

जेन—जी युवाले जे चाहेका थिए वा जस्तो परिवर्तन चाहेका थिए, त्यो रातारात हुन सम्भव पक्कै थिएन। देश विकास भन्ने कुरा पनि रातारात सम्भव हुँदैन। तर सरकारले जादु देखाओस् परिवर्तनको भन्दा पनि आशा सिर्जना गर्नुपर्ने अपेक्षा भने स्वाभाविक हो, जसमा सरकारले सफलता पाएको देखिन्न। अब त केही हुन्छ र यही देशमा केही गर्न सकिन्न भन्ने भावना सिर्जना गर्न सक्नुबाट सरकारको सफलता सुरु हुन्थ्यो। त्यसमा सफल छैन सरकार।

थिति बसाल्नेभन्दा प्रतिशोध साँध्ने र पुरानाहरूलाई तह लगाइदिने भन्ने मनसुवाबाट चल्दा सरकारले परिवर्तनको सन्देश दिन सकेन। न सरकारका काम र गतिविधिले युवालाई आशा देखाउन सकेका छन्, न उसले ल्याएको बजेटले। बजेटबाट युवा लक्षित कार्यक्रम आएनन्। नवप्रवर्तनका ढोका खुलेनन्, जहाँ युवा आकर्षित होऊन्। रोजगारीका लागि चाहिने उद्योगधन्दा र कलकारखाना नै हुन्, ती स्थापना गर्ने भनेको निजी क्षेत्रले हो, जसलाई सरकारले निकै नराम्रोसँग तर्साइदिएको छ। जुन युवा पुस्ताले यो सरकारसँग सबैभन्दा धेरै आशा गर्‍यो, त्यही निराश बन्यो भने सरकारलाई त प्रत्युत्पादक हुन्छ नै देशलाई पनि थप नोक्सानी पुग्छ।

देश बन्ने कुरा कहाँ युवाको मात्रै मुद्दा हो र ? यो त साझा आकांक्षा हो, जसलाई पूरा गर्ने कार्यभार झन्डै दुईतिहाइ प्राप्त सरकारलाई छ। जेन—जी आन्दोलनको मर्मलाई सरकारले शिरोधार्य गर्न कत्ति ढिला नगरोस्। एक दिनको सार्वजनिक बिदाले जेन—जी आन्दोलनको योगदानको सम्मान पुग्दैन, हुँदैन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.