विपत्तिमा देखिएको नेपाली मन र सहानुभूतिभन्दा माथि उठेको नेपाली समाज

विपत्तिमा देखिएको नेपाली मन र सहानुभूतिभन्दा माथि उठेको नेपाली समाज
सुन्नुहोस्

हिमालमा संकट पर्दा तराई दुख्छ। तराईमा बाढी आउँदा पहाड चिन्तित हुन्छ। पूर्वमा विपत्ति आउँदा पश्चिमबाट सहयोगको हात अघि बढ्छ। यो सम्बन्ध कुनै सरकारी आदेशले बनाएको होइन। यो नेपाली समाजको सामूहिक चेतनाले निर्माण गरेको सम्बन्ध हो।

प्रकृतिले भत्काएका घरहरू फेरि बनाउन सकिन्छ। बगेका सडक र पुल पनि पुनर्निर्माण गर्न सकिन्छ। खेतमा फेरि बाली लगाउन सकिन्छ। तर गुमेको जीवन फर्काउन सकिँदैन। त्यसैले कुनै पनि प्राकृतिक विपत्ति केवल भौतिक क्षतिको कथा होइन, त्यो मानवीय संवेदनाको पनि परीक्षा हो। 

भदौ १० गतेको बाढीले नेपालमा त्यही परीक्षा लियो। कसैको घर बग्यो, कसैको व्यवसाय। कसैको खेतमा बाढी पस्यो, कसैको जीवनको सहारा नै खोसियो। कतिपय परिवारले आफ्ना प्रियजन गुमाए। केही क्षणको प्राकृतिक प्रकोपले वर्षौँ लगाएर बनाएको संसार उजाड बनाइदियो। तर यो त्रासदीबीच पनि एउटा अनुभूति भने आशा जगाउने साबित भयो। दुःख प्रभावित क्षेत्रमा मात्र थिएन, सिंगो देशको मनमा थियो। यही हो नेपाली समाजको शक्ति। हामी सहानुभूति राख्ने समाज मात्र होइनौँ। हामी समानुभूति राख्ने समाज हौँ।

सहानुभूति शब्द हो, समानुभूति व्यवहार। हामी केवल सहानुभूति प्रकट गर्ने समाज होइनौँ, हामी समानुभूति बाँड्ने समाज हौँ। सहानुभूति भनेको अरूलाई परेको दुःख देखेर ‘दुःख लाग्यो’ भन्नु हो। समानुभूति भनेको त्यो दुःखलाई आफ्नै दुःख ठानेर, आफ्नो केही त्यागेर पीडितसँगै उभिनु हो। सहानुभूतिले आँखा रसाउन सक्छ, समानुभूतिले हात अघि बढाउँछ। सहानुभूतिले शब्द जन्माउँछ, समानुभूतिले कर्म। 

भदौ १० को बाढीपछि देखिएको नेपाली जनताको प्रतिक्रिया यही समानुभूतिको जीवन्त उदाहरण हो। सर्वसाधारणदेखि निजी क्षेत्रसम्म, सामाजिक संस्था, व्यवसायी, पेशाकर्मी, युवादेखि वृद्ध अनि राज्यका विभिन्न तह र निकायसम्मबाट सक्दो सहयोग जुटिरहेको छ। कसैले नगद दिएका छन्, कसैले खाद्यान्न। कसैले कपडा पठाएका छन्, कसैले औषधि। कोही उद्धारमा आफैँ खटिएका छन्,  कसैले आफ्नो दिनको कमाइबाट केही हिस्सा छुट्याएका छन् भने कसैले जीवनभर जम्मा गरेको स्रोतबाट सकेको योगदान गरेका छन्। कसैले जोखिम मोलेर बाढीको भेलमा फसेकाहरूलाई निकालेका छन् ।

कसैले सामाजिक सञ्जाललाई सहयोग जुटाउने माध्यम बनाए। प्रधानमन्त्री राहत कोषमा समेत उल्लेख्य रकम संकलन हुनु यसै सामाजिक भावनाको एउटा सामुहिक अभिव्यक्ति हो। कसैको सहयोग करोडौंको थियो, कसैको केही हजारको। तर सहयोगको मूल्य रकमले होइन, त्यसमा मिसिएको भावनाले निर्धारण हुन्छ। भोकाएको परिवारलाई दिइएको एक बोरा चामल केवल चामल होइन। त्यो अर्को नेपालीको चुलो निभ्न नदिने प्रतिबद्धता हो। चिसोमा काँपिरहेको मानिसलाई दिइएको एउटा कम्बल केवल कपडा होइन। त्यो ‘तिमी एक्लो छैनौ’ भन्ने सन्देश हो। र उद्धारका लागि दिइएको श्रम केवल श्रम होइन। त्यो मानवताका लागि गरिएको योगदान हो। यहाँ पीडा ‘उनीहरूको’ रहेन, ‘हाम्रो’ बन्यो।

विपत्तिको सबैभन्दा ठूलो त्रासदी मृत्यु र विनाश हो। तर विपत्तिको सबैभन्दा ठूलो शक्ति भनेको मानिसलाई मानिससँग जोड्ने क्षमता पनि हो। भदौ १० को घटनाले त्यही गर्‍यो। रसुवामा बाढी आउँदा त्यसको पीडा रसुवामै सीमित रहेन। नुवाकोट, धादिङ वा अन्य प्रभावित क्षेत्रमा क्षति हुँदा त्यो स्थानीय समस्या मात्र रहेन। काठमाडौंमा बस्ने मानिसको मन पनि दुख्यो, तराईमा बस्ने नेपाली पनि चिन्तित भए, विदेशमा रहेका नेपालीले समेत सहयोग र चासो व्यक्त गरे। किन ? किनकि संकटको घडीमा हामी हाम्रा हरेक सीमाभन्दा माथि उठेर हाम्रो एकल परिचय 'हामी नेपाली' को भावनाले एकजुट हुन्छौं। यही भावनाले प्रधानमन्त्री राहत कोषलगायतका माध्यममा सहयोग जुटिरहेको छ। 

निजी क्षेत्र, संघसंस्था र सर्वसाधारणबाट समेत सहयोगको क्रम जारी रहनु नेपाली समाजमा रहेको आपसी भाईचारा र सामूहिक जिम्मेवारीबोधको प्रमाण हो। तर यति सकारात्मकताका बीच केही नकारात्मक दृश्य पनि देखिए। विपत्तिका बेला ग्यास सिलिन्डर लुट्ने, मृतकका नाक–कानका गहना निकाल्ने वा पीडितको विवशतामाथि स्वार्थ साध्ने मानिसका घटना सार्वजनिक भए। तर यति भन्दै गर्दा अर्को गल्ती गर्नु हुँदैन। एकाध व्यक्तिको विकृत मानसिकतालाई सम्पूर्ण नेपाली समाजको चरित्र ठान्नु हुँदैन। केही लुटेरा, केही बिछिप्त अनि रोगी मानसिकताले प्रतिनिधित्व गर्दैन नेपाली समाजलाई। के केही व्यक्तिले गरेको अपराधका कारण हजारौँ उद्धारकर्मीको त्याग सानो हुन्छ? के केहीले लुटे भन्दैमा आफ्नो गाँस काटेर राहत दिने लाखौँ नेपालीको भावना समाप्त हुन्छ? के एकाध व्यक्तिको अमानवीय व्यवहारले अपरिचितका लागि आफ्नै जीवन जोखिममा राख्ने युवाहरूको मानवताको मूल्य रहदैन? कदापि हुँदैन। समाजको चरित्र केही खराब पात्रले होइन, संकटमा उभिने बहुसंख्यक मानिसले निर्धारण गर्छन्। त्यसैले हामीले गलतलाई गलत भन्नुपर्छ, दोषीलाई कानुनी कारबाही गर्नुपर्छ, तर त्यसकै आधारमा सम्पूर्ण नेपाली समाजलाई कठघरामा उभ्याउनु हुँदैन। खराबीको पर्दाफास गरौँ, तर असलपनाको अवमूल्यन नगरौँ।

विपत्तिमा नेपाली एक हुन्छ। नेपालको इतिहासमा विपत्ति नयाँ होइन। भूकम्प, बाढी, पहिरो, आगलागी, महामारी—हरेक संकटले हामीलाई केही न केही सिकाएको छ। तर यी हजारौँ असल कर्मभन्दा केही व्यक्तिका निन्दनीय गतिविधि नै ठूलो समाचार बन्न थाले भने हामीले समाजको वास्तविक तस्बिरलाई नै विकृत बनाइरहेका हुन्छौँ। खराबीलाई लुकाउनु हुँदैन, तर खराबीलाई नै समाजको परिचय पनि बनाउनु हुँदैन।

विपत्तिले हामीलाई फेरि एउटै बनाउँछ। नेपालको सामाजिक चरित्र बुझ्न ठूलो अनुसन्धान आवश्यक पर्दैन। एउटा विपत्ति पर्याप्त हुन्छ। भूकम्प आउँदा नेपालीले एकअर्कालाई काँध दिए। पहिरो जाँदा अपरिचितलाई घरभित्र आश्रय दिए। आगलागी हुँदा आफ्नो घरको पानीको पाइप लिएर दौडिए। हिमालमा संकट पर्दा तराई दुख्छ। तराईमा बाढी आउँदा पहाड चिन्तित हुन्छ। पूर्वमा विपत्ति आउँदा पश्चिमबाट सहयोगको हात अघि बढ्छ। यो सम्बन्ध कुनै सरकारी आदेशले बनाएको होइन। यो नेपाली समाजको सामूहिक चेतनाले निर्माण गरेको सम्बन्ध हो। हामीलाई एकअर्काको थर थाहा नहुन सक्छ। भाषा, भूगोल, पेशा र जीवनशैली फरक हुन सक्छ। राजनीतिक विचार फरक हुन सक्छ। तर जब मृत्यु र विपत्ति हाम्रो अगाडि उभिन्छ, ती सबै भिन्नताहरू गौण हुन्छन्। सायद यही नै राष्ट्रको सबैभन्दा गहिरो परिभाषा हो।

भोकाएको परिवारलाई दिइएको एक बोरा चामल केवल चामल होइन। त्यो अर्को नेपालीको चुलो निभ्न नदिने प्रतिबद्धता हो। चिसोमा काँपिरहेको मानिसलाई दिइएको एउटा कम्बल केवल कपडा होइन। त्यो ‘तिमी एक्लो छैनौ’ भन्ने सन्देश हो। र उद्धारका लागि दिइएको श्रम केवल श्रम होइन। त्यो मानवताका लागि गरिएको योगदान हो। यहाँ पीडा ‘उनीहरूको’ रहेन, ‘हाम्रो’ बन्यो।

तर सामाजिक समानुभूति राज्यको कमजोरी लुकाउने बहाना बन्नु हुँदैन। नागरिकले विपत्तिमा सहयोग गर्नु महान् कुरा हो। तर नागरिकले बारम्बार आफ्नो घर, श्रम र आम्दानीबाट राहत दिनुपर्ने अवस्था दोहोरिइरह्यो भने राज्यले पनि आफ्ना प्रणालीमाथि गम्भीर प्रश्न गर्नुपर्छ। विपद् आउनुअघि पूर्वतयारी किन पर्याप्त भएन? जोखिमयुक्त बस्तीहरूको व्यवस्थापन कस्तो छ? पूर्वसूचना प्रणाली कति प्रभावकारी छ? उद्धारका लागि आवश्यक उपकरण र जनशक्ति पर्याप्त छन् कि छैनन्? राहत वितरण पारदर्शी र न्यायपूर्ण छ कि छैन? यस्ता प्रश्नहरू विपत्ति सकिएपछि बिर्सनु हुँदैन। राहत तत्कालको आवश्यकता हो। पुनःस्थापना त्यसपछिको जिम्मेवारी हो। तर विपद् न्यूनीकरण र पूर्वतयारी दीर्घकालीन राष्ट्रिय दायित्व हो।

हामीभित्र कमजोरी छन्। हाम्रो समाज पूर्ण छैन। लोभ, स्वार्थ र अवसरवाद पनि हामीभित्र छन्। तर ती कमजोरीभन्दा धेरै ठूलो हाम्रो सामूहिक मानवीयता हो। केहीले ग्यास सिलिन्डर लुट्ने, मृतकका नाक–कानका गहना निकाले होलान्। तर धेरैले आफ्नो घरको साधन स्रोत राहतका लागि दिए। केहीले विपत्तिमा अवसर खोजे होलान्। तर हजारौँले आफ्नो समय अरूको जीवन बचाउन खर्चिए।

हामीले हरेकपटक बाढी आएपछि राहतको बोरा बोक्ने मात्र होइन, अर्को बाढीले त्यही परिवारलाई फेरि रुवाउन नपाउने व्यवस्था पनि गर्नुपर्छ। सहानुभूति राहतको बाकसमा सीमित हुनु हुँदैन। आज हामीले पठाएको खाद्यान्न केही दिनका लागि पुग्ला। दिएको रकमले केही घर फेरि उभिएला। तर प्रभावित परिवारको वास्तविक पीडा त्यसभन्दा धेरै लामो हुन सक्छ। घर गुमाउनु भनेको चार भित्ता गुमाउनु मात्र होइन। त्यो सम्झना गुमाउनु हो। सुरक्षा गुमाउनु हो। जीवनको एउटा आधार गुमाउनु हो। परिवारको सदस्य गुमाउनु त झन् कुनै राहतले पूर्ति गर्न सक्ने क्षति होइन। त्यसैले समानुभूति राहत सामग्री पठाएर समाप्त हुँदैन। पुनर्निर्माणसम्म पुग्नुपर्छ। पीडितको सम्मान जोगाउनुपर्छ। बालबालिकाको शिक्षा रोकिँदैन भन्ने सुनिश्चित गर्नुपर्छ। जीविकोपार्जन पुनःस्थापित गर्नुपर्छ। मानसिक आघातमा रहेका परिवारलाई पनि साथ दिनुपर्छ। हामीले पीडितलाई दया होइन, सम्मानसहितको साथ दिनुपर्छ।

आजको यो विपत्तिले हामीलाई एउटा कुरा सम्झाएको छ, नेपाली हुनु केवल एउटा नागरिकता वा पासपोर्टको परिचय होइन। नेपाली हुनु भनेको दुःखमा अर्को नेपालीको हात समात्नु पनि हो। हामीभित्र कमजोरी छन्। हाम्रो समाज पूर्ण छैन। लोभ, स्वार्थ र अवसरवाद पनि हामीभित्र छन्। तर ती कमजोरीभन्दा धेरै ठूलो हाम्रो सामूहिक मानवीयता हो। केहीले ग्यास सिलिन्डर लुट्ने, मृतकका नाक–कानका गहना निकाले होलान्। तर धेरैले आफ्नो घरको साधन स्रोत राहतका लागि दिए। केहीले विपत्तिमा अवसर खोजे होलान्। तर हजारौँले आफ्नो समय अरूको जीवन बचाउन खर्चिए। त्यसैले हामीले कुन तस्बिरलाई नेपालको तस्बिर बनाउने भन्ने निर्णय आफैँ गर्नुपर्छ। मलाई लाग्छ, नेपालको तस्बिर त्यो होइन जहाँ केही मानिस विपत्तिमा पनि आफ्नो स्वार्थ खोज्छन्। नेपालको वास्तविक तस्बिर त्यो हो जहाँ अपरिचितको आँसु पुछ्न अर्को अपरिचित दौडिन्छ। जहाँ आफ्नो घर सुरक्षित हुँदाहुँदै अरूको घर भत्किएको पीडा महसुस हुन्छ। जहाँ आफ्नो भान्साको एउटा हिस्सा अर्को परिवारको चुलो बाल्न छुट्याइन्छ। जहाँ आफ्नो कमाइको केही हिस्सा अरूको जीवन फेरि उठाउन दिइन्छ। त्यही हाम्रो नेपाली मन हो।

अन्त्यमा, भदौ १० को बाढीले धेरै कुरा बगाएर लग्यो। कति परिवारका सपनाहरू बगे। कति घरका आधारहरू भत्किए। कति परिवार कहिल्यै नपुरिने घाउ बोकेर बाँच्न बाध्य भए। तर त्यही बाढीले एउटा अर्को कुरा पनि देखायो, नेपाली समाज अझै संवेदनाहीन भइसकेको छैन। हामीभित्र करुणा बाँकी छ। हामीभित्र त्याग बाँकी छ। हामीभित्र राष्ट्र र देशबासीप्रतिको माया बाँकी छ। हामी दुःख देखेर ‘दुःख लाग्यो’मात्र भन्ने समाज होइनौँ। हामी दुःखमा परेकाको ठाउँमा आफूलाई राखेर उसको पीडा महसुस गर्न सक्ने समाज हौँ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.