जेन–जीले बीजारोपण गरेको नयाँ बाटो

जेन–जीले बीजारोपण गरेको नयाँ बाटो

जेन–जी पुस्ताले रोपेको यो चेतना र सुशासनको बिउलाई सही दिशामा हुर्काउँदै नयाँ राजनीतिक संस्कार निर्माण गर्नु नै अबको नवीन र समृद्घ नेपालको एकमात्र विकल्प हो।

माइतीघरबाट सिंहदरबारतर्फ लागेको एउटा जुलुसले दुई दिनमै दशकौंदेखिको सत्ता–संरचना हल्लाइदियो। न कुनै झण्डा, न कुनै नेता– तर परिणाम राजनीतिको इतिहासमा अभूतपूर्व रह्यो। यो त्यही आन्दोलनको कथा हो, जसले नेपाली युवाको आक्रोशलाई चेतनामा र चेतनालाई परिवर्तनमा बदलिदियो।

राजशासनकालदेखि गणतन्त्रसम्म, नेपालले धेरै आन्दोलन र रूपान्तरण देखिसकेको छ– फरक–फरक कालखण्डमा फरक–फरक स्वरूप र परिणामसहित। तर गत वर्ष भदौ २२ र २३ गतेको आन्दोलनले भने यी सबैभन्दा फरक बाटो लियो। यसले केवल सत्ता–समीकरणमात्र भत्काएन, राजनीति गर्ने शैली, सोच्ने तरिका र आम मानिसको आत्मविश्वासलाई नै नयाँ आकार दियो।

भदौ ४ गते सरकारले फेसबुक, यु्ययुब, एक्सलगायतका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गर्‍यो। सतहमा यो ‘दर्ता नगरेका प्लेटफर्महरूविरुद्धको कारबाही’ थियो, तर व्यवहारमा यसले लाखौं युवाको अभिव्यक्ति, सिर्जना र जीविकोपार्जनको माध्यम एकैचोटि खोसिदियो। भदौ २२ गते बिहान माइतीघर मण्डलामा जम्मा भएको हजारौं युवाको भिड बेलुकासम्म सिंहदरबार र संसद् भवनतर्फ बढ्यो। प्रहरीको अ श्रुग्यास र त्यसपछि चलेको गोलीले धेरैको ज्यान लियो, र यही क्षतिले आन्दोलनलाई साँच्चिकै जनआक्रोशमा बदलिदियो। भोलिपल्टसम्ममा प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए, संसद् भवनमा आगजनी भयो, र मुलुक केही दिन सेनाको सुरक्षा तथा कफ्र्युमुनि रह्यो।

सामाजिक सञ्जालमाथिको प्रतिबन्ध त्यसैबेला फिर्ता भयो, तर आन्दोलनले माग गरेको कुरा सामाजिक सञ्जालभन्दा धेरै माथि थियो– भ्रष्टाचार, स्वजनपोषण र दण्डहीनताको अन्त्य। आजको पुस्ता विगतका आन्दोलनहरूको केवल दर्शक वा इतिहास पढेर मात्र सन्तुष्ट हुने पुस्ता होइन; उनीहरू प्रश्न गर्ने, जवाफ खोज्ने र अधिकारसँगै उत्तरदायित्व खोज्ने सचेत पुस्ता हुन्। यो आन्दोलन केवल सडकमा गरिएको सामान्य विरोध प्रदर्शन वा भिडमात्र थिएन, यो त दशकौंदेखि जरा गाडेर बसेको अहंकार, एकाधिकार र राजनीतिक विकृतिको पराकाष्ठाविरुद्धको एक युगान्तकारी विस्फोट र नयाँ मानसिकताको बीजारोपण थियो।

राजनीति, पेसा वा व्यवसाय होइन, निस्वार्थ सेवा हो : २०४६ सालको परिवर्तनपछि नेपालको राजनीतिक वृत्तमा एउटा खतरनाक भाष्य निर्माण भयो– ‘राजनीतिमा लागेपछि जे पनि गर्न सकिन्छ, सत्ताको दाउपेचका लागि गलत काम पनि जायज ठहर्‍याउन सकिन्छ।’ नेताहरूका लागि राजनीति धन कमाउने, चुनावमा पानी बगाएझैं स्रोत नखुल्ने पैसा खर्च गर्ने र सात पुस्ताका लागि सम्पत्ति जोड्ने सबैभन्दा सजिलो पेसा बन्यो।

जेन–जी आन्दोलनको सबैभन्दा चर्चित नारा नै यही मनोवृत्तिविरुद्ध उठ्यो– ‘नेपो किड’। आफ्नो कमाइभन्दा बढी विलासी जीवनशैली सामाजिक सञ्जालमा देखाउने नेता–सन्तानहरूका तस्बिर र भिडियोले युवा पुस्तालाई यति चिढ्यायो कि ‘नेपो किड’ शब्द रातारात आन्दोलनको पहिचान नै बन्यो। राजनीति गर्न पैसा चाहिने तर त्यो पैसाको स्रोत कसैले नसोध्ने परिपाटीप्रति दशकौंदेखि थुप्रिएको वितृष्णा यसरी सडकमा पोखियो। नेपाल भ्रष्टाचार अवधारणा सूचकांकमा लगातार तल पर्दै गएको यथार्थ र बर्सेनि लाखौं युवा वैदेशिक रोजगारीमा जान बाध्य हुनुपर्ने अवस्थाले पनि यो आक्रोशलाई मलजल गरिरहेको थियो।

जेन–जी आन्दोलनले राजनीतिप्रति जनतामा, विशेषगरी युवा पुस्तामा फैलिएको यही चरम वितृष्णालाई छताछुल्ल पार्दै ‘राजनीति पेसा नभई निस्वार्थ सेवा हो’ भन्ने सत्यलाई व्यावहारिक रूपमै स्थापित गरिदिएको छ। लोकतन्त्रको वास्तविक शक्ति चुनावमा मात्र हुँदैन, नेतृत्वको नैतिकता, जीवनशैली र उत्तरदायित्वमा हुन्छ।

सिन्डिकेट र एकाधिकारको पूर्ण क्रमभंग : नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्र गरी सीमित शक्तिकेन्द्रहरूको आलोपालोमा निरन्तर सरकार बन्ने र भत्किने चक्र दशकौंदेखि जारी थियो– ०४६ सालको जनआन्दोलनले लोकतन्त्र ल्याउन झन्डै तीन दशक लियो भने ०६२÷६३ को आन्दोलनले गणतन्त्र ल्याउन एक दशक। जेन–जीले भने भदौ २२ र २३ गतेको आन्दोलनमार्फत ‘जुन जोगी आए पनि कानै चिरेका हुन्’ भन्ने आम जनताको नैराश्यतालाई चिर्दै यो प्रस्ट पारेको छ कि– शक्ति स्थायी हुँदैन र जनताको धैर्य तथा सहनशीलताको पनि निश्चित सीमा हुन्छ।

यही भावनाले वालेन्द्र शाहजस्ता, परम्परागत दलभन्दा बाहिरका अनुहारहरूलाई युवाको भरोसा दिलायो। जेन–जी आन्दोलनले यही सिन्डिकेट र एकाधिकारको पूर्ण क्रमभंग गरेको छ। यसले निहित स्वार्थका लागि सरकार बनाउने, भत्काउने र जनतालाई रैती ठान्ने परम्परागत राजनीतिक खेललाई कडा चुनौती दिएको छ। यसले के प्रस्ट पारेको छ भने, लोकतन्त्रमा आडम्बरी र अहंकारी नेतृत्व जतिसुकै शक्तिशाली किन नहोस्, सर्वोपरि सधैं जनता नै हुन्छन्।

नयाँ चेतना, प्रश्न र मूल्यांकनका आयामहरू : यो आन्दोलनले नेपाली समाज र युवाहरूको चेतनास्तरमा दूरगामी प्रभाव पार्ने केही महत्वपूर्ण वैचारिक आयामहरू उजागर गरेको छ : –

अन्याय सहनु कमजोरी होः अन्याय सहेर मौन बस्नु सधैं सहनशीलता होइन; कतिपय अवस्थामा यो आत्मसमर्पण र अन्यायलाई निरन्तरता दिनु हो भन्ने बुझाइ स्थापित भएको छ। ‘अन्याय सहेर बस्नु पनि एक प्रकारको कमजोरी हो’, यो आत्मबोधले नै आन्दोलनलाई सडकबाट 
सत्ता–परिवर्तनसम्म पुर्‍यायो।

युवा शक्तिको प्रमाणीकरण र उथलपुथलकारी क्षमता : आन्दोलनअघि ‘नेपाली युवा राजनीतिबाट विरक्त छन्, केवल विदेश जाने सपना मात्र देख्छन्’ भन्ने धारणा व्यापक थियो। तर, डिजिटल युगका सचेत युवाहरूले यो धारणालाई पूर्णतः चिर्दै, थोरै दिनमै ठूलो राजनीतिक तथा सामाजिक उथलपुथल ल्याउन सकिन्छ भन्ने प्रमाणित गरेका छन्। बंगलादेशको जुलाई विद्रोह र श्रीलंकाको जनआन्दोलनसँग तुलना हुने गरी यो आन्दोलन दक्षिण एसियामा युवा–नेतृत्वको राजनीतिक परिवर्तनको नयाँ नमुनाका रूपमा उभियो।

बिचौलिया राजको अन्त्य : राजनीति र प्रशासनिक सेवामा पर्दा पछाडिका बिचौलियाहरूले मात्र रजगज चलाउँछन् भन्ने भ्रम र प्रणालीगत जटिलतालाई यो आन्दोलनले कडा प्रहार गरेको छ।

सम्पत्तिमा जनताको स्वामित्व : राज्यको सम्पत्ति भनेको सीमित व्यक्तिको व्यक्तिगत पेवा नभई सार्वजनिक सम्पत्ति हो र यसको संरक्षण गर्नु नागरिकको दायित्व हो भन्ने विवेकको बोध गराएको छ। संसद् भवनमा आगजनी वा सार्वजनिक संरचनामाथिको क्षतिले नियन्त्रण गुम्दाको जोखिम देखाए पनि, सार्वजनिक स्रोत कसैको निजी जागिर होइन भन्ने चेत सतहमा ल्याएको छ। साथै, अवसरवादीहरूको लुटपाटबाट आन्दोलनको सार जोगाउन सचेत रहनुपर्ने पाठ पनि यसले छोडेको छ।

अपराध र राजनीतिक छत्रछायाको अन्त्य : राजनीतिक दलको आड र संरक्षणमा अवैध व्यवसाय गर्ने, गलत धन्दाबाट पैसा आर्जन गर्ने मनोविज्ञान र कानुनी शासनको उपहास उडाउने प्रवृत्तिमाथि पूर्णविराम लगाइएको छ।

बालेनदेखि सुशीला कार्कीसम्म नतिजाको चित्र : दुई दिनको आन्दोलनले छोडेका प्रत्यक्ष परिणाम धेरै छन्– सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फिर्ता भयो, प्रधानमन्त्री ओलीले राजीनामा दिए, संसद् विघटन भयो र फागुन २०८२ मा नयाँ आमनिर्वाचनको मिति तोकियो। तर सबैभन्दा प्रतीकात्मक परिणाम भनेको नेतृत्व छनोटको प्रक्रिया नै हो।

परम्परागत रूपमा सत्ता–गठबन्धन र दलीय भागबन्डाबाट टुंगिने प्रधानमन्त्रीको पद यसपटक राष्ट्रपति कार्यालय, सेना प्रमुख र आन्दोलनकारी प्रतिनिधिहरूबीचको संवादबाट र अन्ततः जेन–जी युवाहरूले अनलाइन गरेको छलफल र मतदानबाट टुंगियो। इमानदारीको छवि बोकेकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आन्दोलनकारीहरूले नै अगाडि सारे, र उनी नेपालको इतिहासमै फरक ढंगले चुनिएकी प्रधानमन्त्री बनिन्। यो घटनाले युवा पुस्ताले परम्परागत उमेर वा दलीय पृष्ठभूमिभन्दा बढी ‘विश्वासिलो चरित्र’लाई मूल्य दिने रहेछन् भन्ने पनि देखायो।

सुशासन र समृद्धिको नयाँ बाटो : समग्रमा भन्नुपर्दा, जेन–जी आन्दोलन केवल आक्रोशको अभिव्यक्ति वा विरोधका लागि विरोध मात्र होइन; यो सुशासन, पारदर्शिता, जवाफदेहिता र समुन्नत समाज निर्माणका लागि होमिएको युवा पुस्ताको एक पवित्र न्यायप्रेमी अभियान हो। यस आन्दोलनले तानाशाही प्रवृत्ति र विवेकहीन शासकहरूको मनोमानी सधैं टुलुटुलु हेरेर बस्दैनौं भन्ने स्पष्ट सन्देश दिएको छ। आन्दोलनको आडमा आफ्नो निहित स्वार्थ पूरा गर्न खोज्ने अवसरवादीहरूबाट सचेत रहँदै, गलत कार्यलाई बारम्बार दोहोर्‍याएमा त्यसको परिणाम कति भयंकर हुन्छ भन्ने गतिलो पाठ राजनीतिज्ञहरूलाई सिकाइएको छ।

सडकमा प्रस्फुटित ऊर्जा मतपेटिकासम्म प्रवाहित हुन सक्छ कि सक्दैन, र आन्दोलनका एजेन्डा नीतिगत तथा संस्थागत तहमा संस्थागत हुन सक्छन् कि सक्दैनन्, यसैमा आन्दोलनको दीर्घकालीन भविष्य निहित छ। यद्यपि, एउटा सत्य अकाट्य छ, अबका दिनमा नेपाली राजनीतिमा कुनै पनि शासक वा सत्ताले जनताको धैर्यको बाँधलाई कमजोर ठान्ने छुट पाउने छैन।

जेन–जी पुस्ताले रोपेको यो चेतना र सुशासनको बिउलाई सही दिशामा हुर्काउँदै नयाँ राजनीतिक संस्कार निर्माण गर्नु नै अबको नवीन र समृद्ध नेपालको एक मात्र विकल्प हो।

शिक्षाकर्मी जोशी विकासका लागि पठन संस्कृति अभियन्ता हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.