नागोयामा एसियाली सुपरस्टारको भिडन्त
काठमाडौं : एसियाली खेलकुदको महाकुम्भ मानिने २०औं संस्करण सुरु हुन अब केही दिन मात्र बाँकी छ। जापानको आइची प्रिफेक्चर र नागोया सहरमा सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म आयोजना हुने एसियाली खेलकुदमा एसियाका उत्कृष्ट खेलाडीहरूबीच पदकका लागि रोमाञ्चक प्रतिस्पर्धा हुँदैछ। ४५ देश तथा क्षेत्रका ११ हजारभन्दा बढी खेलाडी सहभागी हुने प्रतियोगितामा ४३ खेल र ७१ विधामा १,४०७ पदकका लागि प्रतिस्पर्धा हुनेछ।
जापानले सन् १९५८ को टोकियो र १९९४ को हिरोसिमापछि तेस्रोपटक एसियाली खेलकुद आयोजना गर्दैछ। आयोजकले प्रतियोगितालाई ‘इमाजिन वान एसिया’ भन्ने नारासहित एसियाली एकता, मित्रता र खेलकुदको उत्सवका रूपमा अघि बढाएको छ। यसपटकको आकर्षण केवल पदक तालिका वा आयोजक जापानको प्रदर्शनमा मात्र सीमित छैन। विश्वस्तरमा आफ्नो नाम बनाइसकेका खेलाडीहरू नै मैदानमा उत्रिने भएकाले नागोया खेलप्रेमीका लागि विशेष गन्तव्य बन्ने देखिएको छ।
हासिमोतोदेखि कितागुचीसम्म जापानी स्टार
ओलम्पिक तथा विश्व च्याम्पियन कितागुचीले आफ्नै देशमा हुने एसियाली खेलकुदमा स्वर्ण पदक जित्ने लक्ष्य राखेकी छन्। आयोजक जापानले उनलाई प्रतियोगिताका प्रमुख आकर्षणमध्ये राखेको छ। यस्तै जिम्न्यास्टिकमा दाइकी हासिमोतो जापानको अर्को ठूलो आशा हुन्। तीन पटकका विश्व च्याम्पियन हासिमोतोले विश्व जिम्न्यास्टिकमा जापानको प्रभाव कायम राख्दै आएका छन्। घरेलु दर्शकसामु उनको प्रदर्शन जापानी खेलकुदको ठूलो आकर्षण बन्नेछ।
पानीमा पनि जापानका युवा स्टारमाथि नजर हुनेछ। पौडीका तोमोयुकी मात्सुसिता र डाइभिङका रिकुतो तामाइलाई आयोजक जापानले आफ्ना प्रमुख खेलाडीका रूपमा अघि सारेको छ। बक्सिङकी सुकी नामिकी, भलिबलकी नानामी सेकी तथा टेनिसका योसुके वातानुकी पनि पदकका बलिया दाबेदारका रूपमा हेरिएका छन्।
चीन : ३६ ओलम्पिक च्याम्पियनसहितको शक्तिशाली टोली
एसियाली खेलकुदमा चीनको प्रभुत्व सदैव रहँदै आएको छ। सन् १९८२ यता चीनले लगातार ११ संस्करणमा स्वर्ण तथा समग्र पदक तालिकामा शीर्ष स्थान हासिल गर्दै आएको छ। आइची–नागोयामा पनि चीन आफ्नो वर्चस्व कायम राख्ने लक्ष्यमा छ। यसपटक चीनले ८१५ खेलाडी समेटिएको विशाल टोली पठाउँदैछ। चीनको टोलीमा मात्रै ३६ ओलम्पिक च्याम्पियन छन्। टोलीको औसत उमेर २४ वर्ष रहेको छ भने एक चौथाइभन्दा बढी खेलाडी २० वर्ष वा सोभन्दा कम उमेरका छन्। यसले चीनले अनुभवी च्याम्पियनसँगै नयाँ पुस्तालाई पनि ठूलो मञ्चमा उतार्न खोजेको छ।
डाइभिङका वाङ जोङयुआन चीनका प्रमुख आकर्षणमध्ये एक हुन्। ओलम्पिक च्याम्पियन वाङले यसपटक पनि आफ्नो देशलाई स्वर्ण दिलाउने अभियानको नेतृत्व गर्नेछन्। चीनको पौडी, जिम्न्यास्टिक, एथलेटिक्स, टेबल टेनिस, ब्याडमिन्टन र डाइभिङ टोलीबाट धेरै स्वर्णको अपेक्षा गरिएको छ।
चीनले ई–स्पोट्र्समा पनि बलियो टोली उतार्दैछ। हाङझाउ एसियाली खेलकुदमा ई–स्पोट्र्समा चार स्वर्ण जितेर पदक तालिकामा शीर्ष स्थानमा रहेको चीनले आइची–नागोयामा विभिन्न विधामा प्रतिस्पर्धा गर्नेछ।
भारतका सिन्धु, सेन र सवालेको परीक्षा
भारत पनि यसपटक ठूलो टोलीसहित जापान पुग्दैछ। भारतले प्रारम्भमा ४९२ खेलाडी छनोट गरेको थियो, जसमा एथलेटिक्सतर्फ मात्रै ७३ खेलाडी थिए। ब्याडमिन्टनमा पीभी सिन्धु र लक्ष्य सेन भारतका सबैभन्दा चिनिएका अनुहार हुन्। सिन्धुको लामो अन्तर्राष्ट्रिय करियर र ओलम्पिक सफलताले उनलाई एसियाली खेलकुदमा पनि प्रमुख आकर्षण बनाएको छ। लक्ष्य सेन भने पछिल्लो पुस्ताका भारतका उत्कृष्ट पुरुष ब्याडमिन्टन खेलाडीमध्ये एक हुन्। एथलेटिक्समा अविनाश साब्ले, ताजिन्दरपाल सिंह तूर, पारुल चौधरी र अन्नु रानीजस्ता खेलाडीमाथि भारतको पदक आशा रहनेछ। यीमध्ये साब्ले, तूर, चौधरी र रानीले अघिल्लो हाङझाउ एसियाली खेलकुदमा आ–आफ्ना विधामा स्वर्ण पदक जितेका थिए।
भारतका लागि ठूलो झट्का भने नीरज चोपडाको अनुपस्थिति हो। दुईपटकका ओलम्पिक पदक विजेता तथा ज्याभलिन थ्रोका विश्वस्तरीय स्टार चोपडा चोटका कारण २०२६ को बाँकी सिजनबाट बाहिरिएका छन्। प्रशिक्षणका क्रममा खुट्टाको लिगामेन्टमा चोट लागेपछि उनले एसियाली खेलकुदसँगै डायमन्ड लिग फाइनल पनि गुमाउने भएका छन्। चोपडा सहभागी भएको भए पुरुष तथा ज्याभलिन थ्रोमा एसियाली खेलकुदकै सबैभन्दा प्रतीक्षित प्रतिस्पर्धामध्ये एक हुने थियो। उनको अनुपस्थितिले भारतको पदक समीकरणमा भने नयाँ चुनौती थपेको छ।
कोरियाली चुनौती पनि कम छैन
दक्षिण कोरिया पनि जापानमा ठूलो लक्ष्यसहित प्रवेश गर्दैछ। कोरियाली टोलीले विभिन्न खेलमा स्वर्णको संख्या बढाउने लक्ष्य राखेको छ। विशेषतः तेक्वान्दो, आर्चरी, पौडी, फेन्सिङ, ब्याडमिन्टन र ई–स्पोट्र्समा कोरियाली खेलाडीको प्रदर्शनमाथि विश्वको नजर हुनेछ।
कोरियाली खेलकुदको परम्परागत बलियो पक्ष तेक्वान्दो र आर्चरीसँगै नयाँ पुस्ताका खेलाडीले पनि आफ्नो प्रभाव देखाउने अपेक्षा गरिएको छ। ओलम्पिकपछि पहिलो ठूलो बहुखेल प्रतियोगिताका रूपमा आइची–नागोयाले धेरै खेलाडीलाई सन् २०२८ को लस एन्जलस ओलम्पिकअघिको महत्वपूर्ण परीक्षणको अवसरसमेत दिनेछ।
क्रिकेट र ई–स्पोट्र्स आकर्षण
आइची–नागोया एसियाली खेलकुदमा परम्परागत खेलसँगै क्रिकेट र ई–स्पोट्र्सले पनि ठूलो ध्यान तान्नेछ। क्रिकेटलाई एसियाली खेलकुदमा पुनः समावेश गरिएको छ।
दक्षिण एसियाका भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशजस्ता देशका लागि क्रिकेट पदकको महत्व विशेष रहनेछ। ई–स्पोट्र्सतर्फ भने एसियाली खेलकुदले डिजिटल पुस्तालाई जोड्नेछ। हाङझाउमा आधिकारिक पदक खेलका रूपमा प्रवेश गरेको ई–स्पोट्र्सको प्रभाव आइची–नागोयामा अझ विस्तार हुने अपेक्षा छ।
पदकसँगै अर्को लक्ष्य
आइची–नागोया २०२६ केवल पदक जित्ने प्रतियोगिता मात्र होइन। यो एसियाली खेलकुदको नयाँ पुस्ता निर्माण गर्ने मञ्च पनि हो। अनुभवी ओलम्पिक च्याम्पियनदेखि पहिलोपटक एसियाली खेलकुदमा सहभागी हुने युवा खेलाडीहरूसम्म सबैका लागि यो आफ्नो क्षमता प्रमाणित गर्ने अवसर हो।
अघिल्लो हाङझाउ एसियाली खेलकुदमा जापानले ५२ स्वर्णसहित १ सय ८८ पदक जितेको थियो। अब आफ्नै भूमिमा जापान त्यो प्रदर्शनभन्दा अझ
अगाडि बढ्न चाहन्छ।
प्रतिक्रिया दिनुहोस !