जेनजी आन्दोलनको एक वर्ष : देशले के पायो ?

जेनजी आन्दोलनको एक वर्ष : देशले के पायो ?
सुन्नुहोस्

आज जेनजी आन्दोलनको एक वर्ष पूरा भएको छ । यस अवसरमा आन्दोलनका क्रममा बलिदान गर्नुहुने ज्ञात–अज्ञात सम्पूर्ण सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। आन्दोलनमा घाइते भई पीडा सहन बाध्य हुनुभएका सम्पूर्ण घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।

जेनजी आन्दोलनको एक वर्षको संस्मरण गरिरहँदा आज मनमा हजारौँ कुराहरू उलटपुलट भइरहेका छन्। त्यो भदौ २३ गते हजारौँ युवा तथा विद्यार्थीहरू स्वस्फूर्त रूपमा सडकमा उत्रिएका दिन। देशमा व्याप्त कुशासन, दण्डहीनता, भ्रष्टाचार, अपारदर्शिता, जवाफदेहिताको अभाव, कानुनी शासनको कमजोर अवस्था, अवसरको अभाव, नेताहरूको विलासी जीवनशैली तथा सामाजिक सञ्जालमाथिको प्रतिबन्धलगायत विषयमा आवाज उठाउन युवाहरू  सडकमा आएका थिए।

जेनजीको एउटै मूल उद्देश्य थियो- राजनीतिमा नयाँपन र देशमा आमूल परिवर्तन। तर त्यतिबेलाका शासक र नेतृत्वले युवाहरूको आवाज, चाहना र भावना बुझ्न सकेनन् परिणामस्वरूप विद्रोहले विस्फोटको रुप लियो। सत्ता ढल्यो, सरकार परिवर्तन भयो र जेनजी विद्रोहको जगमा टेकेर अन्तरिम सरकार गठन भयो।

अन्तरिम सरकारको मुख्य जिम्मेवारी केवल चुनाव गराउनु मात्र थिएन। जेनजी आन्दोलनको सत्यतथ्य बाहिर ल्याउनु, आन्दोलनमाथि भएको सरकारी दमनको छानबिन गर्नु, घुसपैठ तथा अन्य पक्षबाट भएका विभिन्न घटनाहरूको वास्तविक चरित्र उजागर गर्नु र जेनजी आन्दोलनका न्यूनतम मागहरू पूरा गर्नु पनि सरकारको प्रमुख जिम्मेवारी थियो। तर, दुर्भाग्यवश, त्यो सरकारले चुनाव गराउनु बाहेक अरू केही गर्न सकेन। आज, भदौ २३ सम्म आइपुग्दा  जेनजीले के पायो? भन्ने प्रश्न मात्र होइन, देशले के पायो? भन्ने मुख्य प्रश्न पनि यथावत छ।

अन्तरिम सरकारले गराएको फागुन २१ को चुनावपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) झन्डै दुई तिहाइ बहुमतसहित सरकारमा छ। त्यसका वरिष्ठ नेता वालेन्द्र शाह प्रधानमन्त्री हुनुहुन्छ र वर्तमान सरकारले पाँच महिनाको यात्रा पूरा गरिरहेको छ । जेनजी आन्दोलनको अपनत्व लिएको पार्टी सरकारमा छ। जेनजी आन्दोलनको भावना बोकेको नेतृत्व देशको प्रधानमन्त्री बनेको छ। तैपनि सरकार जेनजी आन्दोलनको मर्म र भावना अनुसार अगाडि बढिरहेको अनुभूति हुन सकेको छैन। सरकार सबैको हो भन्ने अनुभूति जनताले गर्न सकिरहेका छैनन्।

अझै पनि अवसर र न्यायका ढोकाहरू धेरैका लागि बन्द छन्। जवाफदेहिता र पारदर्शिताको सवालमा यो सरकार विगतका सरकारहरूभन्दा पनि कमजोर देखिन थालेको छ। सहिद परिवारलाई अझैसम्म राज्यले पूर्ण भरोसा र आशा दिलाउन सकेको छैन। घाइतेहरू शरीरमा नमेटिने घाउ बोकेर पनि सुन्दर र सुनौलो भविष्यको परिकल्पना गरिरहेका छन्। इतिहासमा आन्दोलनमा ज्यान गुमाउने र घाइते हुनेहरू सत्ता परिवर्तनपछि बेवास्तामा पर्ने गरेका धेरै उदाहरण छन्। दुःखको कुरा, यो पटक पनि त्यही इतिहास दोहोरिन खोजिरहेको छ। तर, हामी सजग हुनुपर्छ।

जेनजी आन्दोलनको एक वर्ष पूरा भएको छ। सत्ता बदलियो ।सत्ताको अनुहार बदलियो। तर सत्ताको चरित्र बदलिएको छैन। सत्ताको शैली, ढंग र अहमता बदलिएको छैन।

जेनजीले चाहेको भ्रष्टाचार नियन्त्रण, राजनीतिक जवाफदेहिता, सार्वजनिक संस्थाहरूमा सुधार, रोजगारी सिर्जना, अवसरमा समानता, पारदर्शिता र राज्य सञ्चालनमा नयाँपन आज पनि यो नारा सामान्य  रूपमा पनि स्थापित हुन सकेको छैन। जेनजीले समग्रमा निष्पक्ष, पारदर्शी र जनउत्तरदायी शासन प्रणाली चाहेका थिए। तर, आज पनि त्यही नातावाद र कृपावाद हाबी भइरहेको छ। सत्ता परिवर्तन भयो, तर सत्ताको समग्र चरित्र परिवर्तन भएन। त्यसैले आज पनि जेनजीले चाहेको देश र समाजको जग निर्माण हुन सकेको छैन। जेनजी आन्दोलनपछिको सरकार सम्पूर्ण वर्ग, समुदाय र क्षेत्रको साझा सरकार बन्न सकिरहेको छैन।

आन्दोलनका क्रममा भएका जेनजी सम्झौताहरू अझै पूर्ण रूपमा कार्यान्वयन भएका छैनन्। कैयौँ जेनजीहरू आज पनि जेलका कालकोठरीमा छन्। जेनजी आन्दोलनसँग सम्बन्धित विभिन्न प्रतिवेदनहरू सार्वजनिक तथा कार्यान्वयन हुन सकेका छैनन् त्यसैले आजको यथार्थ स्पष्ट छ-सत्ता परिवर्तन भएको छ,
तर जेनजीले चाहेको देश परिवर्तन भएको छैन। त्यसैले हामीले जेनजी सहिदहरूको सपना र आत्मालाई पन्छाएर बस्नु हुँदैन। आन्दोलनका घाइतेहरूको पीडा, सहिद परिवारको आँसु र परिवर्तनको लागि सडकमा उत्रिएका लाखौँ युवाहरूको सपना बिर्सनु हुँदैन।

जेनजी आन्दोलन केवल सत्ता परिवर्तनका लागि भएको आन्दोलन थिएन। यो देशको व्यवस्था, सोच, संस्कार र शासन प्रणालीमा परिवर्तन ल्याउने आन्दोलन थियो। त्यसैले जबसम्म जेनजीले चाहेको न्यायपूर्ण, पारदर्शी, जवाफदेही र अवसरको समानता भएको देश निर्माण हुँदैन, तबसम्म हाम्रो संघर्ष निरन्तर जारी रहनुपर्छ। सहिदहरूको सपना अधुरो रहन दिनु हुँदैन। घाइतेहरूको बलिदान खेर जान दिनु हुँदैन र जेनजीले उठाएको परिवर्तनको आवाज दब्न दिनु हुँदैन।

सत्ता बदल्नु पर्याप्त छैन, देश बदल्नुपर्छ। अनुहार बदल्नु पर्याप्त छैन,चरित्र बदल्नुपर्छ। सरकार बदल्नु पर्याप्त छैन, शासन प्रणाली बदल्नुपर्छ। यही नै जेनजी आन्दोलनको मूल मर्म हो। यही नै जेनजी सहिदहरूप्रति सच्चा श्रद्धाञ्जली हुनेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.