बाढी प्रभावित धादिङको गजुरीभित्रका परिवारलाई ८० थान ग्यास चुलो वितरण
धादिङ : बाढीबाट प्रभावित धादिङको गजुरी गाउँपालिकाभित्रका परिवारलाई राहतस्वरूप ग्यास चुलो वितरण गरिएको छ। विपद्का कारण प्रभावित परिवारलाई खाना पकाउन सहज होस् भन्ने उद्देश्यले गाउँपालिकाका विभिन्न वडामा गरी ८० थान ग्यास चुलो उपलब्ध गराइएको हो।
उपलब्ध गराइएका ग्यास चुलोमध्ये गजुरी गाउँपालिका-६ का प्रभावित परिवारलाई ३८ थान, वडा नम्बर ५ मा १८ थान र वडा नम्बर १ मा ६ थान वितरण गरिएको छ। बाँकी १८ थान ग्यास चुलो भने नुवाकोटका बाढीपीडित परिवारलाई पठाउने तयारी भइरहेको जनाइएको छ।
विपद्को समयमा प्रभावित परिवारको ‘चुलो बाल्ने’ उद्देश्यले सञ्चालन गरिएको राहत अभियानमा सूर्यज्योति लाइफका क्षेत्रीय प्रबन्धक जयराम ढुङ्गाना र हाल संयुक्त अरब इमिरेट्स (यूएई) मा रहेका नवराज ढुङ्गानासहितको टोलीले मुख्य भूमिका निर्वाह गरेको बताइएको छ।
चुलो वितरण कार्यलाई व्यवस्थित बनाउन गजुरी गाउँपालिकाका अध्यक्ष, सम्बन्धित वडाध्यक्ष, वडा सदस्य तथा स्थानीय सामाजिक अभियन्ताहरूले प्रत्यक्ष सहयोग गरेका छन्।
प्रतिक्रिया दिनुहोस !