कांग्रेसमा सहमतिको अन्तिम प्रयास : देउवासँग भेट्नै नपाएपछि गगनको गुनासो
काठमाडौं : नेपाली कांग्रेसभित्र १५औं महाधिवेशनलाई लिएर देखिएको विवाद थप पेचिलो बनेका बेला सभापति गगनकुमार थापाले निवर्तमान सभापति शेरबहादुर देउवासँग प्रत्यक्ष संवाद गर्नसमेत नसकेको गुनासो गरेका छन्। पार्टीलाई एउटै प्रक्रियाबाट महाधिवेशनमा लैजाने प्रयासस्वरूप आफूले देउवासँग भेटका लागि पटक–पटक पहल गरे पनि समय पाउन नसकेको जानकारी थापाले सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा गराएका हुन्।
बैठकमा सहभागी एक सदस्यका अनुसार थापाले देउवाका स्वकीय सचिव भानु देउवासँग चार पटकसम्म सम्पर्क गरेर भेटको वातावरण बनाउन आग्रह गरेका थिए। ‘त्यसबाट पनि भेट हुन नसकेपछि देउवा निकटका अन्य नेताहरूसँग समेत कुराकानी गरी भेटको समय मिलाइदिन आग्रह गरेको थिएँ,’ थापाको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भने।
शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवा भने सभापति थापाले एक पटक फोन सम्पर्क गरेको जिकिर गर्छन्। ‘त्यो पनि अहिले नै भेटौं भनेर होइन, समय कहिले मिल्छ मिलाउनुस् भनेर भन्नुभएको थियो,’ भानुले अन्नपूर्णसँग भने, ‘त्यसपछि कुनै फलोअप भएन। पछिल्लो समय कुनै सम्पर्क भएको छैन।’ भानुले सभापति थापा भेट्न आए उहाँका लागि जुनसुकै समय उपलब्ध भएको बताउँछन्।
थापाले पार्टीभित्र देखिएको विवाद समाधानका लागि आफू संवाद र सहमतिको पक्षमा रहेको भन्दै उनले पछिल्लो समय पूर्णबहादुर खड्का र शेखर कोइरालासँग भएको छलफल भने सकारात्मक दिशामा अघि बढेको बताएका थिए। आवश्यक परे महाधिवेशनको कार्यतालिकामा समेत केही तलमाथि गरेर भए पनि पार्टीभित्र सहमति कायम गर्ने आफ्नो प्रयास रहेको उनको भनाइ थियो।
तर कांग्रेसभित्र सहमतिको प्रयासलाई लिएर सबै पक्ष समान रूपमा आशावादी देखिएका छैनन्। बैठकमा महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेले सहमतिको प्रयासलाई अस्वीकार नगरे पनि अब महाधिवेशन प्रक्रियालाई प्राथमिकता दिएर अघि बढ्नुपर्ने धारणा राखेका थिए। असन्तुष्ट समूह सहमतिमा आइहाल्छ भन्ने विश्वास नरहेको पौडेलको भनाइ थियो। घिमिरेले पनि महाधिवेशनलाई केन्द्रमा राखेर प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिएका थिए।
महाधिवेशन तालिका संशोधन
कांग्रेसले भने १५औं महाधिवेशनको पूर्वनिर्धारित मिति यथावत् राख्दै तल्लो तहको अधिवेशन कार्यतालिका फेरि संशोधन गरेको छ। केन्द्रीय निर्वाचन समितिले मंगलबार सार्वजनिक गरेको नयाँ कार्यतालिकाअनुसार अब असोज ३ र ४ गते वडा अधिवेशन, असोज ७ गते गाउँ÷नगरपालिका अधिवेशन र असोज १० गते प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन हुनेछ। त्यसपछि असोज १६ देखि १९ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा केन्द्रीय महाधिवेशन गर्ने कार्यक्रम यथावत् छ।
यसअघि वडा अधिवेशन भदौ २४ गतेदेखि सुरु गर्ने कार्यतालिका थियो। बाढी–पहिरोको विपद् र पार्टीभित्र सहमतिको प्रयासलाई ध्यान दिँदै वडा अधिवेशन करिब १० दिन पछाडि सारिएको हो। संशोधित तालिकाले तल्लो तहको प्रक्रिया छोट्ट्याए पनि केन्द्रीय महाधिवेशनको मिति भने परिवर्तन गरेको छैन।
वडा, पालिका र क्षेत्रीय प्रतिनिधि चयनको प्रक्रिया असोज १० सम्म सक्ने र त्यसको केही दिनमै केन्द्रीय महाधिवेशन गर्ने गरी कार्यतालिका बनाइएको छ। ६ हजार ७ सय ४३ वटै वडामा वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन गर्नुपर्ने भएकाले यो छोटो समय कांग्रेसका लागि निकै चुनौतीपूर्ण हुनेछ।
बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङमा अधिवेशन सञ्चालन थप जटिल हुने देखिएको छ। ती जिल्लामा तोकिएका निर्वाचन अधिकृतले स्थानीय पार्टी समितिसँग समन्वय गरेर स्थानीय परिस्थितिअनुसार अधिवेशन सम्पन्न गर्ने व्यवस्था गरिएको छ। विदेशस्थित नेपाली जनसम्पर्क समितिका बाँकी अधिवेशन पनि असोज १० गतेभित्र सम्पन्न गर्न भनिएको छ।
पुसमा भएको विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वमा आएपछि कांग्रेसको पुरानो संरचना र नयाँ नेतृत्वबीचको विवाद निरन्तर छ। विशेष महाधिवेशनबाट बनेको नयाँ नेतृत्वलाई निर्वाचन आयोगले मान्यता दिएपछि त्यसविरुद्ध देउवा र पूर्णबहादुर खड्का पक्ष सर्वोच्च अदालत पुगेका थिए। सर्वोच्चले निर्वाचन आयोगको निर्णयलाई सदर गरे पनि त्यसविरुद्ध पुनरावलोकनको बाटो खुलेपछि विवाद अझै पूर्ण रूपमा अन्त्य भएको छैन।
विवादबीच देउवा पक्षले छुट्टै महाधिवेशनको तयारी थालेको छ। पूर्वमहामन्त्री शशांक कोइरालाको संयोजकत्वमा बनेको तयारी समितिले मंसिर २१ देखि २३ गतेसम्म १५औं महाधिवेशन गर्ने गरी अलग कार्यतालिका अघि सारेको छ। देउवा पक्षले असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गर्ने गरी आफ्नो प्रक्रिया अघि बढाउने तयारी गरेको छ।
कांग्रेसले भृकुटीमण्डपमा असोज १६–१९ को महाधिवेशनका लागि हल, बगैंचा र पार्किङ स्थलसमेत बुकिङ प्रक्रिया अघि बढाइसकेको प्रवक्ता देवराज चालिसेले बताए।
प्रतिक्रिया दिनुहोस !