अन्नपूर्ण फाइनलमा खेल्ने, प्लेअफमा काठमाडौं र कर्णाली, जितविहीन बन्यो खप्तड
काठमाडौं : नेपाल भलिबल लिग (एनभिएल)को लिग चरणका खेलहरू सकिएका छन्। लिक्चरनको खेलहरू सकिएसँगै अन्नपूर्ण स्पाइकर किंग्सले ५ खेलमा ४ जित सहित फाइनल प्रवेश गरेको छ। त्यस्तै, कर्णाली शिवराज र काठमाडौं रेड्सले भने प्लेअफमा खेल्नेछन्।
लिग चरणको अन्तिम खेलमा काठमाडौंमा रेड्सले खप्तड फालकन्सलाई पराजित गर्यो। राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा भएको प्रतियोगिताको लिग चरणको अन्तिम खेलमा काठमाडौं रेड्सले खप्तड फाल्कन्सलाई ३–२ को सेटमा पराजित गर्यो। काठमाडौँले खप्तडलाई १९–२५, २५–१८, २० –२५, २५– १९ र १५ –१३ ले पराजित गरेको हो।
दोस्रो, चौथो र पाँचौँ सेटमा जित दर्ता गर्दै काठमाडौँले लगातार चौथो जित दर्ता गरेको हो। पहिलो र तेस्रो सेट जितेको खप्तडले भने प्रतियोगितामा जितविहीन बनेर पहिलो सिजनको एनभिएल सकाएको छ। चारवटा खेल सकिँदासम्म सोझो सेटमा पराजित भएको खप्तड फाल्कन्सले पाँचौं खेलमा आएर दुई सेट जित्यो। तर खेल भने जित्न सकेन। योगिताको पुच्छरमा १ अङ्क लिएर खप्तडले यो सिजनलाई बिदाई गर्नेछ।
बिहिबारको पहिलो खेलमा अन्नपूर्ण स्पाइकर किंग्सले सगरमाथा स्म्यासर्सलाई ३–१ को सेटमा पराजित गर्यो। दोस्रो खेलमा कर्णाली शिवराजले मधेश वारियर्सलाई ३–१ को सेटमा पराजित गर्यो। पहिलो सिजनको एनभिएलमा ६ वटा टोलीले प्रतिस्पर्धा गरेका थिए । जसमा अब उपाधी दौडमा ३ टोली मात्रै बाँकी रहेका छन्।
उत्कृष्ट सुरुवात गरेको सगरमाथा स्म्यासर्सदेखि १ जित मात्र दर्ता गरेको मधेश वरियर्स र जितविहिन बनेको खप्तड फाल्कन्सले लिग चरणबाटै आफ्नो यात्रा सकेका छन्।
पहिलो सिजनको एनभिएलको फाइनलमा पुगेर खुसी अन्नपूर्ण
अन्नपूर्ण स्पाइकर किंग्स नेपाल भलिबल लिग एनभिएलको पहिलो सिजनको फाइनल पुग्ने टोली बनेको छ ।गण्डकी प्रदेशको प्रतिनिधित्व गरेको यस टिमले १२ अङ्क सहित फाइनलमा स्थान बनाएको हो। पाँच खेलमा चार जित र एक हारसहित अन्नपूर्णले १२ अङ्क जोड्यो। पहिलो खेलमा कर्णाली शिवराजसँग ३– एक सेटले पराजित भएपछि अन्नपूर्णले हारेन। चारवटा खेल जित्दै फाइनलमा स्थान बनाएपछि कप्तान हिमाल सुनारी भन्छन्,‘ हामी यो खेल अगाडि एकदमै उत्साहित थियौँ। पहिलो सिजनको नेपाल भलिबल लिग (एनभिएल) को फाइनलको यात्रा तय गरेका छौं । हामी एकदमै खुसी छौँ।’ अन्तिम खेलमा मधेस वारियर्सलाई पराजित गरेपछि उनले पत्रकार सम्मेलनमा भने।
नेपाली खेलाडी र मङ्गोलियन खेलाडीको राम्रो संयोजन देखिएको यस टोलीमा पहिलो खेल पश्चात कमब्याक सहित फाइनलमा यात्रा तय गर्यो। हिमाल भन्छन्, ‘हाम्रो विदेशी खेलाडीहरू र नेपाली खेलाडीहरूमा राम्रो तालमेल बनेको छ। अझै पनि उहाँहरूको रिचमा खेल्न हामीलाई गाह्रो भएको छ। तर तालमेल भने मिलिरहेको छ।’
प्लेअफबाट जुनसुकै टोली फाइनलमा आएपनि आफूहरू तयार रहेको हिमालले बताए । ‘ जुनसुकै टोली आए पनि टोलीहरु राम्रा छन् त्यसको हिसाबले हामी तयार छौं।’
लिग चरणको हारलाई जितमा बदल्ने दाउमा कर्णाली
लिग चरणको अन्तिम खेलमा कर्णाली शिवराजले मधेश वरियर्सलाई ३–१ को सेटमा पराजित गर्यो। यो खेलमा जित दर्ता गरेपछि प्रशिक्षक चन्द्र कुँवर भन्छन्, ‘हामीले लिग चरणमा काठमाडौंसँग हार बेहोरेका छौं। काठमाडौं टिम राम्रो टिम छ। हामीले प्लेअफमा उहाँहरुसँग सक्ने बुद्धी, क्षमता र खेल लगाएर चाँही जित्ने कोसिस गर्नेछौं।’
काठमाडौंसँग लिग चरणमा हार बेहोरेको कर्णालीलाई सुधारिएको प्रदर्शन सहित फाइनलमा पुग्ने आश रहेको छ। प्लेअफ खेल्नु अघि कर्णालीका प्रशिक्षक कुवँर भन्छन्, ‘काठमाडौंसँगको खेलमा रिसिभको समस्या भएको थियो । लिग चरणको खेलमा भन्दा हामी क्षमताले भ्याएसम्म सबै रणनिती अपनाएर खेल्नेछौं। सुधारिएको प्रदर्शन गर्ने आशा छ।’
लिग चरणको अन्तिम खेलसम्म आइपुग्दा कर्णालीले आफ्नो स्वदेशी खेलाडीलाई पनि उत्तिकै मौका दियो। नेपाली खेलाडीलाई विश्वास गर्ने प्रशिक्षक कुवँर भन्छन्, ‘विदेशी खेलाडीसँगै, नेपाली खेलाडीले पनि राम्रो प्रदर्शन गर्नुभयो। नेपाली खेलाडीले पनि चित्तबुझ्दो प्रदर्शन गर्नुभयो।’
कप्तान पहल गहतराज भन्छन्, ‘ टिम राम्रो छ। राम्रो अनुभव भइरहेको छ।’ उनले लिग चरणको अन्तिम खेल सकिएपछि पत्रकारसँगको कुराकानीमा भने।
लगातार ४ जितसहित बलियो काठमाडौं
पहिलो खेलमा अन्नपूर्ण स्पाइकर किंग्ससँग पराजित भएको काठमाडौंले त्यसपछि भने ४ वटै खेलमा जित दर्ता गर्यो। यो टिमले ४ खेलमा ४ जित तर २ खेलमा भने अंक बाँड्दा यो टिमले १० अंक जोड्दै प्लेअफमा स्थान पक्का गरेको छ। प्लेअफमा काठमाडौंले कर्णाली शिवराजको टिमसँग खेल्नेछ। कर्णालीको पनि समान ४ जितबाट १ खेलमा मात्रै अंक बाँड्दा ११ अंक सहित लिग चरण सकेको हो। यी दुई टोलीको लिग चरणको नतिजा हेर्ने हो भने नतिजा काठमाडौंको पक्षमा आएको हो। लिग चरणको खेलमा कर्णालीलाई हराएको काठमाडौं भने आफ्नो लय कायम राख्न चाहन्छ। जितको लय र लिगको नतिजालाई कायमै राख्दै काठमाडौंको नजर पनि फाइनलमा हुनेछ।
कर्णाली शिवराज र काठमाडौं रेड्स, नेपालका स्पाइकरद्वय पहल गहतराज र सुनिल बोहोराको कप्तानी भिडन्त प्लेअफमा पुनः हुनेछ। प्रतियोगिताको फाइनल खेल शनिबार भदौ २७ गते हुनेछ।
प्रतिक्रिया दिनुहोस !